अब रातिमा लास जलाउन नपाइने

चितवन । धार्मिक स्थल देवघाटमा रातको समयमा दाहसंस्कार कार्य बन्द हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको बिहीबारको ५७औं बैठकले यस्तो निर्णय गरेको हो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार आउँदो वैशाखदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म यो निर्णय लागू हुने कान्तिपुर दैनिकमा समाचार छ ।

देवघाट धाम हिन्दुहरूको प्रख्यात धार्मिक स्थल हो । कालीगण्डकी र त्रिशूली नदीको मिलन भएको देवघाटमा माघे संक्रान्तिमा नुहाउन आउनेको ठूलो भिड लाग्दछ । यसका साथै नदी किनारमा जीवनको अन्तिम क्षण गुजार्ने उद्देश्यले कल्पबास बस्न भन्दै आश्रम बनाएर वृद्धवृद्धा बस्ने गरेका छन् । मृत्युपछि अन्तिम संस्कारका लागि शव देवघाट ल्याउने क्रम पनि बढ्दो छ । ‘देवघाटमा चितवन, तनहुँ र नवलपुरका मात्रै नभएर अन्तिम संस्कारका लागि टाढा–टाढाबाट पनि आउने गरेको पाइएको छ । खास गरेर पश्चिम नेपालको बुटवल, कपिलवस्तु, दाङ, सुर्खेतबाट पनि दाहसंस्कारका लागि शव यही ल्याउने गरेको भेटिएको छ,’ समितिका अध्यक्ष पौडेलले भने । भरतपुरका अस्पतालमा उपचारका क्रममा निधन भएका व्यक्तिको दाहसंस्कार देवघाटमै हुने उनले बताए ।

देवघाटको चितवनतर्फको क्षेत्रमा दाहासंस्कार हुने गरेको छ । समितिका सदस्य तथा दाहसंस्कार व्यवस्थापन उपसमिति संयोजक पोषणराज सुवेदीका अनुसार देवघाटमा यो वर्ष साउनदेखि पुससम्म मात्रै एक हजार पाँच सय चार वटा शवको दाहसंस्कार भएको छ । ‘दिनमा १५/२० वटासम्म दाहसंस्कार हुन्छ,’ उनले भने, ‘के दिन, के रात, हरसमय दाहसंस्कार भइरहेको देखिन्छ ।’

धार्मिक मान्यताले पनि रातमा दाहसंस्कार गर्न उचित नहुने तर्क क्षेत्र विकास समितिको बैठकमा उठेको थियो । ‘धार्मिक मान्यता पनि आफ्नो ठाउँमा होला तर व्यवस्थापनका हिसाबले पनि दिनरात दाहसंस्कार गर्न गाह्रो हुन थाल्यो,’ अध्यक्ष पौडेलले भने, ‘कर्मचारी थोरै छन् । चौबीसै घन्टा काममा लगाउन सकिन्न । त्यसैले राति १० बजेदेखि दाहसंस्कार बन्द गर्ने निधोमा पुगेका हौं ।’

सुरक्षाका दृष्टिले पनि रातको दाहसंस्कार उपयुक्त नदेखिएको बैठकमा चर्चा भएको थियो । बैठकमा सहभागी चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले राति शव जलाउन बन्द गर्नु सुरक्षाका दृष्टिले उपयुक्त हुने राय राखेका थिए । देवघाटधाममा अहिले जहाँ दाहसंस्कार हुन्छ, त्यही ठाउँमा विद्युतीय शवदाह गृह पनि बन्दै छ । अहिले अन्तिम संस्कारका लागि वर्षमा दुई सय चट्टा दाउरा खपत हुने गरेको उपसमितिका संयोजक सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *