डेरावाल सचेत बनेपछि घरधनीको उड्यो होस्, न रातमा निद्रा न दिनमा भोक !

अनुसा थापा
अहिले घरधनीहरुलाई ‘रातमा निद्रा न दिनमा भोक’ भएको छ । सटर, फ्ल्याट, कोठा मँहगोमा भाडामा लगाएर बसिबसि खाइरहेकाहरुको सातो गएको छ । कारण हो–समयमै भाडा नपाउनु र कोठा, फ्ल्याट र सटर धमाधम खाली हुनु । घरधनीहरुले तीन महिनादेखि ६ महिनासम्मको भाडा पाएका छैनन् ।

भाडा माग्दा डेरावालले निहुँ खोज्ने घरधनीहरु बताउँछन् । कि भ्याट बिल लेऊ, कि सरकारले निर्धारण गरेको भाडा लिष्ट देखाऊ, कि राज्यलाई हामीले योभन्दा अगाडि भाडा तिरेको घरबहाल करको रसिद देखाऊ, कि वडा, नगरपालिका वा प्रहरी चौकी हिँड् त्यही पुगेर भाडा तिर्छौं भनेको घरधनीहरु बताउँछन् ।

भाडामा बस्नेहरुले कानुनअनुसार बोलेका छन् । विगतमा घरधनीले धेरै नै डेरावाललाई ठगेका छन् । त्यसैले पनि डेरावालहरु सचेत भएका हुन् । घरधनीहरुले दशकौंदेखि आफूखुशी भाडा निर्धारण गर्ने, पुरानोलाई निकालेर नयाँलाई दोब्बरलाई भाडामा लगाउने, पैसा लिने तर सेवासुविधा नदिने र घरबहाल कर पनि नतिर्नेलगायतका कार्य देशैभरका घरधनीहरुबाट हुँदै आएको थियो ।

घरधनीले ठाउँ हेरेर एउटा कोठाको पाँच हजारदेखि १५ हजारसम्म लिँदै आएका छन् । फ्ल्याटको १५ हजारदेखि पचासौ हजारसम्म लिन्छन्, घरधनी । सटर भाडा त लाखौंसम्म छ । लाखौंमा सटर खरिदबिक्री हुँदै आइरहेको छ । डेरावालबाट मोटो रकम लिने अनि राज्यलाई कर नतिर्ने ।

यतापनि ठग्ने, उतापनि ठग्ने, मोटाउनेचाँहि घरधनी । त्यसैले डेरावालले प्रमाण खोजेका हुन् । घरधनीबाट डेरावाल धेरै नै शोषित भएका छन् । जुन कुरा सञ्चारमाध्यममा आयो । र, त्यसपछि डेरावाल सचेत भए, घरधनीको विरोधमा बोल्न थाले । घरधनीले डेरावाललाई आफ्नो ‘दासी’ झैं सोचेका थिए ।

उनीहरुबाट डराईडराई बस्नुपर्ने अवस्था थियो । एक जना पाहुना आयो भनेपनि चिह्याउन आउने, भाडाकुडा खस्यो भनेपनि कराउन आउथें । आफूलाई जति मनलाग्यो, त्यति नै भाडा लिन्थें । तिर्न सक्दिन भन्नेबित्तिकै कोठा खाली गराउन भन्थें । सरोकारवालाले आँखा चिम्लिदाँ घरधनीको दादागिरी बढ्दै गएको थियो ।

पैसा तिरेपछि राम्रो सेवासुविधा पाउनु हरेक डेरावालको अधिकार हो । त्यो अधिकार घरधनीले दबाउँदै आएका थिए । डेरावाल ठग्ने मनोबल घरधनीमा बढ्नुमा राज्यकै हात छ । घरधनीहरु घरलाई आफ्नो निजी सम्पत्ति भन्छन्, तर भाडामा लगाउँछन् । राज्य पनि उनीहरुको निजी सम्पत्तिमा जेसुकै गरुन् भनेर ‘छाडा’ छोडिदिन्छ ।

जसका कारण डेरावाल मर्कामा परे । खाईनखाई भाडा तिर्नुपरेको छ, सेवासुविधा केही छैन् । न पानीको व्यवस्था हुन्छ न कपडा सुकाउने ठाउँको । अब राज्यले नै भाडा निर्धारण गरिदिनुपर्छ । देशमा तीन तहको सरकार छ, एउटा भाडा निर्धारण गर्नसमेत सक्दैनन् । अरु उनीहरुले के गर्छन् ?

आगामी दिनमा सरकारले कर्मचारी खटाएर भाडा उठाउने र कर काटेर घरधनीको खातामा हाल्ने व्यवस्था गर्नुपर्छ । यसो गरिएमा धेरैले रोजगारी पाउँछन् । राज्यको ढुकुटीमा राजश्व पनि आउँछ । महिनौंदेखि भाडा नपाउँदापनि घरधनीहरु वडा, नगरपालिकामा उजुरी दिन गएका छैनन् ।

घरधनीहरु सरोकारवाला निकाय गुहार्न नजानुको कारण हो–वर्षौंदेखि घरबहाल कर नतिर्नु । एउटै व्यक्ति एक वर्षदेखि १५ वर्षसम्म एउटै घरमा भाडामा बसेका छन् । घरधनीहरु वडा, नगरपालिकामा गएभने डेरावालले पोल खोल्दिहाल्छन् । घरधनीले लामो समयदेखि घरबहाल कर छली गर्दै आएका छन् ।

बहालको १० प्रतिशत कर तिर्नुपर्छ । वडा पुग्नेबित्तिकै पुरानो कर पनि तिर्नुपर्छ । त्यसैले घरधनीहरु बरु भाडा नतिर्नुस्, कोठा छोड्नुस भनिरहेका छन् । आएको भाडाले कर तिर्न नपुग्ने अवस्था भएपछि उनीहरुले त्यो विकल्प खोजेका हुन् । पुरानालाई निकाल्ने अनि नयाँलाई मँहगोमा लगाएर बाँकी पैसा उठाउने ।

अधिकांश कोठा छोडेर हिँडेका छन् भने केही हामी भाडा तिर्देनौं भनेर त्यही बसिरहेका छन् । कानुनले दर्ता नगरिकन व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था गरेको छ । बोर्ड राख्न पनि स्थानीय निकायमा दर्ता गर्नुपर्ने र कर तिर्नुपर्ने प्रावधान छ । घरधनीहरुले घरबहाल कर छल्नको लागि पसल दर्ता गर्न दिइरहेका छैनन् ।

घरधनीहरु आफू त कर तिर्दैनन्, अरुको बाटोमा पनि अवरोध बनिरहेका छन् । अहिले घरधनीहरुलाई डेरावाल टाउको दुखाईको विषय बनेका छन् । तैपनि उनीहरु कतै गुहार्न जानसक्ने वातावरण छैन् । कोठा खाली गराउनका लागि प्रहरी वा स्थानीय सरकारकहाँ उजुरी दिएपनि ३५ दिनदेखि तीन महिनासम्मको अवधि दिनुपर्छ ।

तर, उनीहरुलाई स्थानीय सरकार गुहार्ने आँट छैन् । आफू नै फसिने भय उनीहरुमा छ । बुढापाकाले भन्थे,‘ढिलो भएपनि पाप धुरीबाट कराउँछ ।’ अहिले घरधनीलाई त्यस्तै भएको छ । यत्रो वर्ष राज्य र डेरावाल दुवैलाई गुमराहमा राखेर ठगेका थिए । अहिले उनीहरु डेरावाल र राज्य दुवैको चेपुवामा परेका छन् ।

जुनसुकै जिल्लाको भएपनि भाडामा बस्नेहरु नेपाली नै हुन् । शिक्षा, रोजगारी, व्यापार, औषधी उपचारका लागि एउटा जिल्लाको बासिन्दा अर्को जिल्लामा भाडामा बस्न पुगे । तर, घरधनीहरुले उनीहरुलाई ‘सुकुम्बासी’ झैं ठाने । कहिले राम्रो बोलीवचन गरेनन् । घरधनीहरुले हाम्रोअगाडि भाडामा बस्नेहरु केही होइनन् भन्ने सोचेका थिए ।

त्यो उनीहरुको भ्रम मात्र थियो । जब अन्याय अत्याचारले सीमा नाघ्छ, त्यसपछि आवाज उठ्छ । घरधनीले धेरै नै अन्याय अत्याचार गरेका थिए, त्यसको क्रमिक रुपमा विस्फोट भइरहेको छ । पाँच वर्षअगाडिको कुरा गर्ने हो भने घरधनीहरु महिना मर्नुअगावै भाडा माग्थें । बसेको तीनदेखि ६ महिनामै भाडा बढाउँथे ।

अहिले त महिनौ बित्दापनि भाडा माग्न सक्दैनन् । डेरावाललाई केही भन्न नसकेका उनीहरु कानुनको ढोका ढक्ढकाउन बाटो बन्द छ । हिजो घरधनीले देशमा सरकार छैन्, हामीले जे गर्दापनि हुन्छ भन्ने भ्रममा परेका थिए । जबसम्म जनताको आँखाबाट पट्टी खुल्दैन्, तबसम्म मात्र ठगहरुले ठग्ने हुन् ।

जनता सचेत भएपछि ठगहरु भाग्नुपर्ने स्थिति आउँछ । घरधनीको हकमा त्यही भएको हो । भनिन्छ नि,‘हात्तीलाई लामखुट्टेले टोकेर रुवाउँछ ।’ यसको अर्थ हात्ती जति नै ठूलो भएपनि लामखुट्टेसँग सक्दैन् भन्ने हो । आफूलाई हात्ती सोच्ने घरधनीहरु लामखुट्टेजस्ता डेरावालसँग डराउनुपरेको छ ।

भनिन्छ नि,‘अतिले खति गर्छ ।’ घरधनीलाई ठ्याक्कै त्यस्तै भएको छ । गरिब, एकल महिला, विद्यार्थी, बुढाबुढीलाई घरधनीहरुले कोठा नै दिँदैनथें । अब डेरावालहरु एकजुट हुनुपर्छ । माग्दा हकअधिकार नपाएमा खोस्नुपर्छ । पैसा तिरेपछि भ्याट बिल पाउनु डेरावालको अधिकार हो ।

आफूले तिरेको पैसाबाट राज्यले घरबहाल कर पाएको छ कि छैन् ? त्यो पनि खोज्नुपर्छ । घरधनीको अगाडि अब निरीह बनेर बस्नुहुँदैन् । घरधनीको विरोधमा भाडावालले अब उजुरी दिनुपर्छ । भाडामा बस्नेमा चेतना आउनेबित्तिकै घरधनीहरुको ठगीधन्दामा ब्रेक लाग्छ । राज्यले राजश्व पाउँछ ।

दुःखजेलो गरेर कमाएको पैसा फोगट्टेमा नउडाऔं । सरकारलाई भनेर भाडा तिर्नुपर्छ । एउटा भाडामा बस्ने मान्छे सचेत भए भने विस्तारै अरु पनि सचेत हुन्छन् । अरुलाई ठगेर सुकिलामुकिला भएर हिँड्नेहरुको अब पर्दाफास गरौं । शोषकी घरधनीहरुको विरोधमा भाडामा बस्नेले अब आवाज उठाउनुपर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *