मिथिलाञ्चलमा जितिया मनाइँदै

गौशाला ।  सोमबारदेखि मिथिलाञ्चलमा शुरु भएको जितिया पर्व आज बिहान सम्पन्न भएको छ । मिथिला क्षेत्रकै पवित्र जितिया पर्व मिथिलाञ्चलमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार शुरु भएको थियो भने आज बिहान ६ बजे जितमाहन् देवतालाई विशेष प्रसाद चढाउँदै सम्पन्न भएको छ ।

ब्रत बस्नुअघि सोमबारका दिन महिलाले घिरौलाको पातमा भगवान् जितमाहन् र दिवङ्गत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाएका थिए भने मङ्गलबार बिहान चार बजेदेखि उपवास बसी निराहार ब्रत बुधबार बिहान ६ बजे सम्पन्न गरेका छन् । जितिया पर्वमा ब्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर भार्गवसरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहन्को कथा सुन्ने गर्दछन् ।

ब्रत बस्नु अघिल्लो दिनमै ब्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहित पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । त्यस्तै ब्रत सम्पन्न भएको दिन पनि शुरुको दिनको सम्पूर्ण कार्य दोहो¥याउनुपर्छ । ब्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । यसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै ब्रतालु महिला ओठ गन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनु पर्छ ।

प्रायःजसो महिलाले ओठ गनमा चिउरा र दही खाने गरेको पाइन्छ । त्यसपछि शुरु हुन्छ विकट उपवासको क्रम । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो ब्रत विशेष विकट रहेको पण्डित कालिकान्त झा बताउनुहुन्छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख, शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव राय बताउनुहुन्छ । “यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ,” उहाँले भन्नुभयो । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफँैले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने ब्रतमध्ये जितिया ब्रत पवित्र ब्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने ब्रत असल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खद जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी ब्रती आजीवन ब्रत बस्न पाउँदिनन् । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो ब्रत शुरु भएको पौराणिक कथन छ । जितिया पर्वको समापनसँगै आज बिहान ब्रतालु महिलाले आ–आफ्ना घरमा पहिले जितमाहन् भगवान्को प्रसाद ग्रहण गरेर फेरि विभिन्न पकवान पकाएर खाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *