राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।

अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।

अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकबारे राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँग छलफलसमेत गरेका थिए।

संघीय संसदले साउन २०७९ मै नागरिकता विधेयक पास गरेको थियो । तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । अदालतमा मुद्दा परेपछि तत्कालीन राष्ट्रपति भण्डारीले आफूले ‘विशेषाधिकार’ प्रयोग गरेर विधेयक यथास्थितिमा राखेको दाबी गरेकी थिइन् ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले जानकारी दिए।

‘राजपत्रमा प्रकाशित हुनासाथ लागु हुन्छ। गृह मन्त्रालयले थप परिपत्र गर्नुपर्दैन,’ बस्नेतले भने।

नयाँ नागरिकता विधेयकमा मुख्यत: तीन वटा परिवर्तन गरिएको छ। जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक) हरूका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ।

त्यस्तै, आमाको नामबाट मात्र पनि नागरिकता पाइने छ। यद्यपि यसरी नागरिकता पाउन चार वटा शर्त भने विधेयकले राखेको छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने छ। बाबुको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ।

यसका साथै विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोल्नेछ। विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *