मिडिया मेलामा प्रश्न : समाचार कक्षमा किन विविधता भएन ?

काठमाडाैं । हिमाल मिडिया मेलामाको यो वर्षको संस्मरणको पहिलो दिनको अन्तिम सत्रको कार्यक्रमको शीर्षक थियो, ‘सबैलाई समेट्ने समाचार कक्ष’ ।

शोभा शर्माले सहजीकरण गरेको सत्रमा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, आमसञ्चार विज्ञ यमबहादुर दुरा र पत्रकार पवित्रा सुनार सहभागी हुनुन्थ्यो ।

सहजकर्ता शर्माले झालाई सोध्नुभयो, “नेपाली समाचार कक्षमा कति समावेशिता छ ?” जवाफमा झाले भन्नुभयो, “यो प्रश्न मलाई होइन कुन्दजीलाई सोध्नुपर्छ ।”

नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षितको नाम लिएर झाले सबै मिडिया सञ्चालकले यो प्रश्नको उत्तर दिनुपर्ने तर्क गर्नुभयो । आफूले विगत डेढ वर्षदेखि उठाउँदै आएको सबैलाई समावेश गर्ने समाचारकक्ष अहिले सत्रकै रूपमा बहसमा आएको भन्दै झाले खुसी व्यक्त गर्नुभयो । ‘पहिलोपटक काठमाडाँै आउँदा विभेदको जस्तो अनुभव भयो कि भएन ?’ भन्ने शर्माको प्रश्नमा झाले आफूले एसएलसीसम्म देशको सुदूरपश्चिमदेखि पूर्वसम्मका आठ विद्यालय फेरेकाले नेपाली विविधता जानेकाले ‘एडजस्ट’ हुन सहज भएको बताउनुभयो ।

सोही सत्रमा पत्रकार तथा दलित पत्रकारको अगुवाइकर्ता पवित्रा सुनारले दलितलाई हेर्ने समाचार कक्षमा पहिले जस्तो विभेद नभए पनि पूरा सकारात्मक भने नबनेको बताउनुभयो । निर्मला पन्तको बलात्कारपछिको हत्यादेखि पश्चिम रुकुममा नवराज विकसहित छ जनाको सामूहिक हत्यामा समाचार फरकफरकरूपमा आएको सुनारले गुनासो गर्नुभयो । दलितका मुद्दा आउनुपर्नेमा नआउने, कहिलेकाहीँ त हराउने उहाँको भनाइ थियो ।

आमसञ्चार विज्ञ यमबहादुर दुराले हिमाल मिडिया मेलामा प्रमुख वक्ताका रूपमा भारतबाट आउनुभएको दि हिन्दूका पूर्वसम्पादक तथा वायर समाचार पोर्टलका संस्थापक सिद्धार्थ वरदराजनको भनाइ साभार गर्दै भारतीय जस्तै नेपाली समाचार कक्षमा पनि खास समुदायको वर्चश्व भएको तर्क गर्नुभयो ।

यस्तै कार्यक्रमा ‘देशभरिका समाचार’ शीर्षक सत्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली समाचार कक्षमा देशको अनुहार अट्नुपर्ने बताउनुभयो । पश्चिम टुडे अखबारका सम्पादक धनगढीका पत्रकार दीर्घराज उपाध्यायले बाजुरामा चामल नभएको हेडलाइन नहुने तर रवि लामिछाने र प्रचण्ड हात मिलाएको समाचार हुने खराब अवस्था भएको बताउनुभयो । देशभरका अखबार, अनलाइन, रेडियोदेखि टेलिभिजनमा काठमाडौँ बाहिरकै सङ्ख्या धेरै भए पनि त्यो सङ्ख्यालाई राज्यले नहेरेको उहाँको गुनासो छ ।

यस्तै ‘मिथ्या सूचना तथा तथ्य समाचार’ सत्रमा बोल्नुभएका पत्रकार दीपक अधिकारी र शिव गाउँलेले नेपाली मिडियामा खासगरी अनलाइन मिडियामा समाचारभन्दा सूचना बढी जाने र त्यसमा तथ्य जाँचमा समस्या देखिएको बताउनुभयो ।

‘बदलिँदो भूराजनीतिबीच मिडियाको उपस्थिति’ शीर्षक सत्रमा पत्रकार सुधीर शर्मा र कनकमणि दीक्षितले नेपाली मिडियाले भारत, चीन तथा अमेरिकी भूराजनीतिक मुद्दालाई राम्रोसँग उठाउनुपर्ने बताउनुभयो । दुई ढुङ्गाबीचको तरुल नभएर टमाटर जस्तो नेपालको उपस्थिति भएको दीक्षितको तर्क थियो भने शर्माले भारत जाँदा नेपाली मिडिया चीनमैत्री भएको, चीन जाँदा अमेरिकीमैत्री भएको रोचक गुनासो आउने अनुभव सुनाउनुभयो ।

कार्यक्रममा सिद्धार्थ वरदराजनले नेपाली मिडियामा भारतमा भन्दा सुरक्षित भएको र नेपाली प्रेस स्वतन्त्रता भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा भन्दा राम्रो भएको बताउनुभयो । आज सुरु भएको हिमाल मिडिया मेला बिहीबार समापन हुने आयोजक हिमाल खबर तथा नेपाली टाइम्सले उल्लेख गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *