पठाउँदैनन् कसैले पनि आजभाेलि चिठ्ठीमा सन्देश

काठमाडाैँ । कुनै समय थियो,गाउँका घरघरमा झोलामा चिठीपत्र बोकेर हुलाकी अर्थात हल्करा आउने पुग्दथे । प्रविधिको द्रुत गतिको विकासले महत्वपूर्ण खबर आदानप्रदान गर्न चिठीपत्र पठाउने चलन जिल्लामा हराइसकेको छ ।
गाउँ गाउँमा हुलाक कार्यालय थिए । अहिले जिल्लामा करिब नौ वटा इलाका र १२ वटा अतिरिक्त कार्यालय मात्र रहेको छन् । जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला हुलाक कार्यालय र पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा डिभिजन हुलाक कार्यालय यथावत रहेको छ ।

व्यक्तिका चिठीपत्र आदानप्रदान हुन छाडे पनि डाँकसेवा, पार्सलजस्ता काममा अहिले डिभिजन तथा जिल्ला हुलाक कार्यालयले काम गर्ने गरेको छ । जिल्लामा रहेका हुलाक कार्यालयले चिठीपत्र नहुँदा डाँक एवं पार्सल सेवा रितो पठाउने गरेका छन् ।

डाँकसेवाअन्तर्गत यहाँबाट पूर्वतर्फ हेटौँडा, काठमाडौँ, झापा, नेपालगञ्ज, बर्दिया, चितवन, दाङ, कोहलपुर, भैरहवा, इटहरी, मोरङ, बिर्तामोड, तथा पोखरासम्मको सेवा दिने गरेको थियो । पश्चिमतर्फ कञ्चनपुर, महेन्द्रनगर, अत्तरिया तथा धनगढीसम्मको सेवा दिने गरेको भए पनि कसैले पनि चिठीपत्र नपठाउँदा हिजोआज रितो डाँक जाने गरेका छन् ।

त्यसैगरी वैदेशिक पार्सल पनि बन्द भएको छ । विगतमा कागजात, सरसामान पार्सलमा आउने र पठाउने गरेको भए पनि सञ्चार क्षेत्रको विकाससँगै उक्त चिठीपत्र पठाउन रोकिएको बताइएको छ । विगतमा यहाँको क्षेत्रीय हुलाक कार्यालय दिपायलमा महिनामा औषत तीन हजारको सङ्ख्यामा पार्सलको काम हुने गरेको भए पनि अहिले भने सरकारी कार्यालयका पत्र बाहेक अन्य कसैका पनि व्यक्तिगत चिठीपत्र आउने गरेका छैनन् ।

चिठीपत्र नहुँदा यहाँको डिभिजन हुलाक कार्यालय दिपायल राजपुरका कर्मचारी हिजोआज रितो डाँक पठाउन बाध्य भएका छन् । हुलाक कार्यालयमा खासै चिठी पत्र कसैले नपठाउने गरेका कारण कर्मचारी रितो डाँक पठाउने गरेका हुन् । यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्रअर्थात् काठमाडौँमा समेत हुलाक डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो डाँक जाने गरेको डिभिजन हुलाक कार्यालय दिपायलका प्रमुख जीतेन्द्र विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहँुच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको र पत्र नहुँदा हामी रितो डाँक पठाउन थालेका छौँ ।”

सूचना–प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको दिपायल राजपुरका स्थानीय टेकबहादुर शाहले बताउनुभयो । टेलिफोन, इन्टरनेट र फ्याक्सलगायत मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको दिपायलका स्थानीय दिव्य पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “अति जरुरी काम फोनबाट भइहाल्छ, डकुमेण्ट मेलबाट पठाउने व्यवस्था भएपछि कस्ले कुर्ने हुलाकलाई ।” घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम घटेपछि यहाँका डिभिजन हुलाक तथा जिल्ला हुलाक कार्यालय डोटी सरकारी कार्यालयका चिठीको भरमा सञ्चालन भइरहेको छ ।

हुलाकमा चिठीपत्र आउन करिब करिब बन्दजस्तै भएपछि यहाँको डिभिजन हुलाक कार्यालय हिजोआज सुनसानजस्तै हुन थालेको स्थानीयवासी बताउँछन् । हुलाकमा पत्र नआउने तथा सेवाग्राही पनि नआउने भएपछि कर्मचारीलाई समेत दिन बिताउन मुस्किल हुने गरेको छ । हुलाक कार्यालयमा पत्र तथा सेवाग्राही नआउने भएपछि कर्मचारी हुलाक कार्यालय खोल्नुभन्दा नखोल्दा नै राम्रो हुने तर्क दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *