कसरी बनाउने स्वादिष्ट खीर – हेर्नुस् सरल रेसिपी

काठमाडाैं । हुन त खीर खानलाई साउन १५ नै पर्खिनु पर्दैन । जहिले खाए पनि हुन्छ । तै पनि खास गरी साउनमा खीर खाने चलन छ ।  नेपाली समाजमा साउन १५ गते खीर खाने परम्परा रहि आएकाे छ । वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने  चलन परापूर्व समयदेखि नै रहँदै आएकाे छ ।

ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ ।

दूधमा चामल मिसाई पकाइएको खीरलाई स्वादिष्ट बनाउन मरमसलाका साथै सखर पनि हालिन्छ । यसरी बनाईको खीर शक्तिबर्धक हुनुका साथै रोगनिवारक पनि हुन्छ ।

मानव शरीरलाई आवश्यक पोषकतत्व पूर्ति गर्न र बेला अनुसार आहारको आस्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन छ । वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।

स्वादिष्ट खीर कसरी बनाउने  

खीर पकाउने आवश्यक सामग्री

– चामल (बासमती वा ताइचिन) : १ कप

– दुध : १ लिटर

– चिनी : १ ठुलो चम्चा

– काजु (टुक्रा पारिएको) : २ सानो चम्चा

– नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा

– छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा

– सुकुमेल : २/३ पिस

– किसमिस : ६/७ पिस

– ल्वाङ : २/३ पिस

– तेजपात : १/२ पात

खीर बनाउने तरिका

– सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।

– खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।

– चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।

– दुधलाई राम्ररी तात्न दिने।

– धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।

– धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।

– यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात

पनि हाल्ने।

– अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२÷१५ मिनट पकाउने।

– यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।

– अब मनतातो अवस्थामा खीर खाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *