दाना–खुर्कोट प्रशारणलाइनको काम तीब्र

म्याग्दी । कालीगण्डकी करीडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ । करीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ ।

म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोड्नका लागि कालीगण्डकी करीडोर प्रशारणलाइन निर्माण शुरु गरिएकोे हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत्को सवस्टेशन निर्माण भइरहेको छ । उक्त आयोजनाको प्रशारणलाइनका लागि टावर निर्माण समेत धमाधम भइरहेको छ ।

दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ वटा निर्माण सम्पन्न भएको छ । अन्य टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । “समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ” उहाँले भन्नुभयो । सवस्टेशनको पूर्वाधार निर्माणलाई तीब्र पारिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करीडोर प्रशारणलाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि म्याग्दीको दानाबाट पर्वतको खुर्कोट जोड्ने प्रशारणलाइन र सवस्टेशन निर्माण शुरु गरेको हो । रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशनको पूर्वाधार, प्रशारणलाइनको टावर निर्माणसँगै उपकरण खरिदको कामलाई अघि बढाएका छन् ।

सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीब्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुँयालले बताउनुभयो । सो आयोजनाको हालसम्म ६२ प्रतिशत काम सम्पन्न भएको छ । कालीगण्डकी करीडोर प्रशारणलाइनअन्तर्गत विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सवस्टेशन र प्रशारणलाइन निर्माणको काम अघि बढाएको छ भने खुर्कोटदेखि नवलपरासीको बर्दघाटसम्म दोस्रो चरणमा प्रशारणलाइनको पूर्वाधार बनाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *