नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग, स्थानीय पीडितलाई ६ अर्ब मुआब्जा

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार एक समाराेहकाबीच नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग शिलान्यास गर्नुभएको छ । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण गर्नुभयो ।

सुरुङ मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुरुङ मार्गको प्रयोग नेपालमा पहिलो भएकोले यस प्रकारको विकासले देशलाई नयाँ फड्कोबाट अघि बढाउने बताउनुभयाे। ‘हामी यस्तै प्रकारका विकासका नयाँ अभ्यासहरु गर्दै देशलाई विकासको गतिमा अघि बढाउनेछौं ’ प्रधामन्त्री ओलीले भन्नुभयाे, ‘यस सुरुङ मार्ग निर्माणको सहयोगका लागि जापानी सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।’ प्रधानमन्त्री ओलीले यो सुरुङ मार्गको ४२ महिनामा निर्माण सम्पन्न भइसक्ने बताउनुभयाे । ‘विकासको यो नमुना हेर्न केही समय पखौं । बढीमा ४२ महिनामा काम सकिन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘निर्माण कम्पनीले समय मै काम सक्नेछ भन्ने मेरो विश्वास छ ।’

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङ मार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।

प्रवेश मार्गसहित ५.५६ किमि सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो । करीब रु छ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नं १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त मार्गमा दुईवटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *