ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेको संख्या दिनहुँ बढ्दो, संकटमा बैंक !

रुषा थापा
बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा लाखौं सर्वसाधारण कालोसूचीमा परेका छन् । कालोसूचीमा पर्नेको संख्या बढ्नु भनेको बैंकमा संकट आउनु हो । किनकि ऋणीले कर्जा नतिरेपछि मात्र उसलाई कालोसुचीमा राखिन्छ । यसरी ऋणीले कर्जा तिर्न नसकेपछि ऊ त कालोसूचीमा पर्छ नै सँगै बैंकलाई समेत समस्या आइलागेको छ ।

बैंकले ऋणीलाई कालोसूचीमा राखेर उसको धितो त लिलाम गर्यो । तर, बिक्री नहुँदा समस्या भएको छ । बिक्री भएपनि कर्जा रकम उठ्ने अवस्था छैन । किनभने धितोको मूल्य दिनप्रति दिन घट्दो क्रममा छ । बैंकको कालोसूचीमा पर्ने संख्यामा बढोत्तरी र धितो बिक्री नहुनुसँगै अहिले बचतकर्ताको संख्यासमेत घट्न थालेको छ । बैंकले ऋण उठाउन नसकेको सबैले थाहा पाएका छन् ।

फेरि ऋण उठाउन नसकेपछि बैंक जोखिममा पर्छ । बैंक जोखिममा पर्नु भनेको बचतकर्ता अर्थात् आम सर्वसाधारणको रकम जोखिममा पर्नु हो । त्यसैले, अहिले अधिकांशले बैंकमा बचत गर्न छोडिदिएका छन् । बैंकमा भएको रकमसमेत धमाधम निकालिरहेका छन् । बैंकबाट आफ्नो रकम झिकेर घरमै सुरक्षित तवरले राखेका छन् । जसका कारण बजारमा पाँच सय र हजारको नोटमा कमीसमेत देखिन थालेको छ ।

बैंकले धितोको राम्ररी मूल्यांकन नै नगरी ऋण प्रवाह गरेको छ । कमसल धितो राखेर करोडौं कर्जा प्रवाह गरेकै कारण बैंकमा समस्या आएको हो । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउन लागिएको सम्पूर्ण जग्गा त्यहाँको जग्गाधनीले सात लाख रुपैयाँमा बेचेको बताइन्छ । तर, केबलकार बनाउन लागेका व्यवसायीले त्यही जग्गा बैंकमा धितो राखेर २८ करोड ऋण लिएको पाइएको हो ।

अब भनौं, को डुब्यो ? यो त एउटा उदाहरण मात्रै हो । बैंकको यस्ता कयौं कमसल धितोमा लगानी छ । ठूलो व्यापारी तथा व्यवसायीले लाखको धितो राखेर करोड र करोडको राखेर अर्बौ ऋण बैंकबाट लिएका छन् । बैंकले पनि घुस पाएपछि आँखा चिम्लेर ऋण दियो । तर, अहिले टाउकोमा हात लगाएर बस्नुपरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट दश अर्ब ऋण लिएका छन् । भक्तपुरस्थित घर र झापामा रहेको आफ्नो अस्पताल धितो राखेर उनले कर्जा लिएका हुन् ।

उनले बैंकको साँवाब्याज नतिरेको वर्षौ भइसक्यो । अहिले प्रसाईं प्रहरी हिरासतमा छन् । गत चैत १५ गतेको घटनामा उनी जेल पुग्ने सम्भावना अधिक छ । अनि प्रसाईं जेल पुगेपछि बैंकले उनको धितो लिलाम गर्ने छ । तर, प्रसाईंको घर र अस्पताल दुवै बेचेरसमेत दुई अर्ब नउठ्ने अवस्था छ । त्यसकारण बैंक समस्यामा छ । यस्तै, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ३१ व्टा भाटभटेनी धितो राखेर ५३ अर्ब ऋण लिएका छन् ।

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयँँ जरिवाना सुनाइसक्यो । यति मात्र होइन, उनले साढे चार अर्ब राजस्व छलेकोसमेत अदालतले प्रमाणित गरिसक्यो । गुरुङ ढिलो चाँडो अवश्य जेल पुग्नै छन् । उनी जेल पुग्नासाथ बैंकको ऋण तिर्न सक्दैनन् । अनि बैंकले धितो लिलाम प्रक्रिया अघि बढाउँछ । तर, ३१ वटा भाटभटेनी बेचेरसमेत ५३ अर्ब ऋण उठ्नेजस्तो देखिँदैन ।

कसले किन्ला र ती भाटभटेनी ? त्यसमाथि भाटभटेनी बनेको कतिपय जग्गा सरकारी, सार्वजनिक बताइन्छ भने कतिपय चाँहि जोखिमपूर्ण क्षेत्रमा बनाइएको छ । अनामनगरको भाटभटेनी रहेको जग्गा पाँच दशकअघि रोपनीको आठ सयदेखि एक हजार रुपैयाँमा समेत नबिक्ने स्थानीयहरु बताउँछन् । यस्तै, भक्तपुरको राधेराधेमा पनि भाटभटेनी छ । यो जग्गा पनि पाँच दशकअघि रोपनीको सय रुपैयाँको बिक्री नभएको यहाँका स्थानीय बताउँछन् ।

यति मात्र होइन, वर्षा हुनासाथ राधेराधे डुबानमा पर्छ । यसैले पनि यहाँको लागि बालुवामा पानी बराबर देखिएको छ । बैंकको यस्ता थुप्रा कमसल धितोमा लगानी छ । जसका कारण बचतकर्ताको रकम जोखिममा छ । बैंकले सेयर र गाडीमा गरेको लगानी पनि जोखिममा छ । सेयर बैंक आफैंले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको हो । दलालीले मूल्य बढाएर ३२ सयसम्म पुर्याए । सोही आधारमा बैंकले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्यो ।

गाडीमा पनि यही हो । बैंकले बजारी मूल्य मूल्यांकन गरेर त्यसको ८० प्रतिशतसम्म कर्जा प्रवाह गरेको छ । उदाहरणका लागि एक करोडको गाडी किन्दा ७०–८० लाख रुपैयाँ ऋण दिइयो । बाँकी रकम खरिद वा लगानीकर्ताले हाल्ने गर्छ । घरजग्गा, गाडी र सेयरको मूल्य बढाउने दलाली हुन् । भारतमा पाँच लाखमा पाइने सवारी साधन यहाँ ५० लाखसम्ममा बेचिएको छ । त्यो सवारी साधनलाई बैंकले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्छ ।

यसरी बैंकले कर्जा प्रवाह गरेपछि लगानीकर्ताले त्यो गाडी त किन्छ । तर, कुनै पनि वस्तु सम्बन्धित निकायमा दर्ता हुनासाथ त्यसको मूल्य घट्छ । जस्तै नयाँ गाडी किनेर दर्ता गरी ६ महिना मात्रै चलाएपनि त्यसको मूल्य आधाले घट्छ । अनि त्यो गाडी किन्नेले ऋण तिर्नेबित्तिकै बैंक संकटमा आउँछ । धितो लिलाम गरेपनि कर्जा उठ्दैन । अहिले भएको यही हो ।

बैंकले धितोको तत्कालको बजारी मूल्य मूल्यांकन गरेर ऋण प्रवाह गर्यो । विगतमा त्यसको मूल्य कति थियो ? र, भविष्यमा के हुनसक्छ ? भनी सोचविचार वा खोजतलास नै नगरी घुसको आडमा धमाधम कर्जा प्रवाह गर्दा बैंक समस्यामा परेको छ । सहकारीपछि भाग्ने पालो बैंकको आएको छ । सरकारको मापदण्डलाई नै अनदेखा गरेर बैंकले लगानी गरेको पाइन्छ ।

खोला किनार र सडक आसपासका घरजग्गालाई बैंकले धेरै ऋण दिएको छ । यसअघि खोला किनार आसपास घरलगायत कुनै पनि संरचना बनाउँदा २० मिटर अनिवार्य छोड्नुपर्ने सरकारको मापदण्ड थियो । सोविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकोमा २०८० पुसमा सर्वोच्चले २० मिटर थप गरिदियो । जसअनुसार अब खोला, नदी आसपास कुनै पनि संरचना बनाउँदा ४० मिटर छोड्नुपर्ने भएको छ ।

योसँगै खोला, नदी आसपास ४० मिटर नछोडी बनाएका घर तथा जग्गामा बैंकको लगानी बालुवामा पानी बराबर भएको छ । यस्तै, ०८१ मंसिर २८ गतेको क्याबिनेट बैठकले बाटो छेउछाउ घर तथा संरचना बनाउनेसम्बन्धी ०६४ सालको मापदण्ड खारेज गर्दै ०८१ पारित गरेको छ । नयाँ मापदण्डअनुसार सडक ठूलो बनाइनेछ । यसले अहिले सडक छेउछाउ रहेका घर तथा संरचनाहरु भूकम्प वा कुनै कारणले भत्किए वा भत्काएमा आधा जग्गा सडक बनाउन सरकारले लिनेछ ।

सडक छेउछाउ रहेका घर तथा संरचनाहरुमा बैंकको झनै धेरै कर्जा लगानी छ । यस्ता ठाउँमा रहेका धितोको छिट्टै मूल्य बढ्छ भनेर बैंकले लगानी गरेको हो । तर, अब नाफा होइन, घाटा चाँहि धेरै नै हुने देखिन्छ । बैंकले छिटो कमाउनेतर्फ मात्र सोच्यो । सरकारको मापदण्ड अनि विगतका कुराहरुलाई बिर्सियो । बैंकका सञ्चालक, अध्यक्षहरुले घुसको लागि सोचविचार नगरी कर्जा लगानी गरे । अब सहकारीजसरी यिनीहरु पनि भाग्ने दिन आएको छ ।

यता, बचतकर्ताले थाहा पाइसके कि बैंकमा समस्या आइसक्यो । त्यसकारण बैंकबाट बचत निकाल्नेको भीड दिनप्रति दिन बढ्दो क्रममा छ । ‘कहिले सासुको पालो, कहिले बुहारीको’ भनेझैं सहकारीपछि डुब्ने पालो बैंकको आएको छ । सहकारीका बचतकर्ताको रुवाबासी भयो । अर्धनग्र भएर उनीहरु सडकमा उत्रिन्ुपरेको छ । त्यस्तो अवस्था हुनबाट बच्न बैंकका बचतकर्ता सचेत हौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *