बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एक हजारको पछाडि भाग्दै जनता, भ्रष्टाचारीहरुलाई कसले दिने दण्ड ?
अनुसा थापा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार गठन भएको ठ्याक्क १० महिना भयो । गत असार ३१ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका उनले अहिलेसम्म पनि आफ्नो सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेका छैनन् । मन्त्री हुनुभन्दा अगाडि सम्पत्ति कति थियो ? जनतालाई थाहा छैन् ।
उनीहरुले जाँदा कति कुम्ल्याउँछन् ? यो पनि जनताले थाहा पाउने छैनन् । एमाले सरकारमा भएको एउटा प्रमुख पार्टी हो । तर, एमाले नै मोटरसाइकल र्याली निकालेर सरकारलाई खबरदारी गर्छ । केही दिनअघि भएको मोटरसाइकल र्यालीका लागि एक ट्याङ्की तेल र प्रति व्यक्ति हजार रुपैयाँ बाँडेको आन्दोलनमा आएकाहरु बताउँथे ।
यो पैसा कहाँबाट आयो ? एक ट्याङ्की तेल र र्यालीमा आएका हजारौलाई हजारका दरले लिने पैसा कहाँबाट ल्याइएको हो ? सरकार देश र जनताका लागि काम गर्न नसक्ने, भ्रष्टाचार गर्ने अनि त्यो पैसा बाँडेर खबरदारीको नाममा र्याली निकाल्ने ! सरकारमा बसेको पार्टी खुद आन्दोलनमा उत्रिनुभन्दा ‘नालायक’ काम के होला ?
सार्वजनिक पदमा बसेका व्यक्तिहरुले आफ्नो सम्पत्ति छानबिन गर्नैपर्ने कानुनी व्यवस्था छ । एमाले र काँग्रेसको सरकारले कानुनकै उल्लंघन गरेको छ । एमाले मात्र होइन्, अन्य पार्टीले आन्दोलनमा मान्छे उतार्नका लागि पैसा नै दिने गरेको छ । गत चैत १५ गते समाजवादी मोर्चाले भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्यो ।
एक जनालाई दुई हजार रुपैयाँ दिएर कार्यक्रममा ल्याइएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक प्रधानमन्त्री भए । तर, उनको सम्पत्ति कति छ ? जनतालाई थाहा छैन् । ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत पनि प्रधानमन्त्री बने । तर, सबैले पदमा पुगेपछि गर्ने भनेको ‘भ्रष्टाचार’ हो ।
अनि सिधासाधी जनतालाई बाँडेर सडकमा उतार्छन् । पैसा देखेपछि अहिलेसम्म जनता सडकमा आउँछन् । जनताको सोझोपन, बेरोजगारीको फाइदा देशका नेतृत्वहरुले विगतमा उठाए र अहिलेपनि उठाउँदै छन् । प्रहरीले स्रोत नखुलेको रकम समात्छ । त्यो रकम राष्ट्रियकरण हुन्छ ।
तर, प्रहरीले नेताहरुको स्रोत नखुलेको सम्पत्ति किन समात्दैन् ? राष्ट्रियकरण गर्दैन् ? नेताहरुको व्यापार व्यवसाय के छ ? केही न केही । राजनीति गरेर दशौं रोपनीमा महल बनाउन सकिन्छ ? यो सबै भ्रष्टाचार भएको प्रष्टै छ । तर, मुलुकमा सानालाई ऐन लाग्छ, ठूलालाई जे गर्नपनि छुट छ ।
जनताले छिरिक्क गर्यो भने लगेर कोच्ने प्रहरी नेताहरुले भ्रष्टाचार गरेको देख्दादेख्दै हात बाँधेर बसेको छ । नेता देश र जनताको नाम लिएर भ्रष्टाचार गर्ने, जनता मासुभात र हजार रुपैयाँ पैसामा बिक्छन् । अनि यो देशको कसरी सुधार हुन्छ ? १० महिनासम्म त आफ्नो र मन्त्रिमण्डलको सम्पत्ति सार्वजनिक गर्न नसक्ने ओलीले देश र जनताका लागि के काम गर्छन् ?
यिनीबाट जनताले के अपेक्षा गर्ने ? जुनसुकै पार्टी होस्, लुट्ने, भ्रष्टाचार गर्ने, थर्काउने, तर्साउने खाने । यिनीहरु नेता होइनन्, ‘लुटेरा’ हुन् । पञ्चायतकालदेखि भूमिगत होस् या लोकतन्त्र गणतन्त्र यिनीहरुले लुटेरै खाएका छन् । पहिले लुकेर खान्थें, अहिले खुलेआम । नेता भनेका छन्, भ्रष्टाचार गरेका छन् ।
यदि भ्रष्टाचार नगरेको भए सम्पत्ति लुकाउँथे ? जनताले प्रश्न उठाउने भएपछि सम्पत्ति विवरण लुकाइएको न हो । जाने बेलामा मन्त्रीहरुले भएको सम्पत्तिको दोब्बर लिएर जान्छन् । नेताहरु नसुध्रिदाँ आज देश भ्रष्टाचारको दलदलमा फसेको छ । व्यापारीहरु राजश्व छल्ने, जनता कर नतिर्नेलगायतका प्रवृत्ति मौलाएको छ ।
देश वास्तवमा नै राम्रो र भ्रष्टाचारमुक्त बनाउने हो भने नेताबाट शुरुवात गर्नुपर्छ । उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गरेर स्रोत नखुलेको राष्ट्रियकरण गर्नुपर्छ । तर, यिनीहरुमा कहाँ त्यति नैतिकता छ र ? देशका नेताहरुमा नेतृत्व गर्ने क्षमता छैन् । आफू सरकारमा हुँदा टन्न भ्रष्टाचार गर्छन् अनि निस्किएपछि जनताको आवाज सुन्ने भन्दै टोलबस्तीमा पुथ्छन् ।
तर, आफूले सरकारमा हुँदा के गरे ? हेर्दैनन् । सरकारमा उनीहरु पनि गएकै थिए । जनताले मौका दिएकै थिए । यहाँ नेताहरु छेपारोले रंग फेरेकोभन्दा छिटो रंग फेर्छन् । ओली सरकारले सम्पत्ति विवरण सार्वजनिक नगर्दा जनप्रतिनिधिहरु चुइक्क बोल्न सकेका छैन् । स्रोतभन्दा बढी रकम भएरै सम्पत्ति सार्वजनिक नगरिएको हो ।
स्रोत देखाउने ठाउँ नभएरै त यिनीहरु तर्सिएका हुन् । स्रोत देखाउनका लागि कमाएको पनि हुनुपर्यो नि । सबै भ्रष्टाचार गरेको पैसा न हो । बजारमा दुईटा कुराको एकदमै चर्चा छ । त्यो हो, केपी र प्रचण्डको हातको घडी । केपीको हातमा तीन करोडको र प्रचण्डको हातमा ८८ लाखको घडी छ ।
मिडियामा समेत त्यो कुरा आइसकेको छ । उनीहरुले लगाउने लुगाको मूल्य पनि लाखौं छ । तर, दुवैले जनतालाई स्पष्टीकरण दिएका छैनन् । त्यसको मतलब त्यो कुरा सत्य हो भन्ने हो । तर, करोडौंको घडी बाँध्ने यिनीहरुको हैसियत के ? केपीले ७० हजार पर्ने पानी खान्छन् ।
यत्रो मँहगो पानी खाने पैसा कहाँबाट आयो ? जनताले तिरेको कर, वैदेशिक ऋण २७ खर्ब, रेमिट्यान्स, सरकारी गुठीको जग्गा सबैले यिनीहरुले खाए । अनि त्यसको केही पैसा जनतालाई र्यालीमा निकाल्न प्रयोग गर्छन् । विडम्बना, जनताले यो कुरा बुझेनन् । यो देश न केपीको हो न देउवाको ।
यो सबै नेपालीको साझा हो । तर, जनता बोल्दैनन् । उल्टै पैसाका लागि यिनीहरुको कार्यक्रममा दौडिन्छन् । जनताकै कारण देश सकिएको र नेताहरुमा भ्रष्टाचार गर्ने मनोबल बढेको प्रष्टै छ । हुन् त यहाँ बेरोजगारी धेरै छ । त्यसैको फाइदा नेताहरुले उठाइरहेका छन् । एक हजार रुपैयाँ पायो भने दुई छाक खान पुग्छ भन्ने उनीहरुलाई लाग्छ ।
तर, के कारणले आफू बेरोजगार भयौं ? उनीहरुले मूल्यांकन गरेका छैनन् । नेताहरुको कारणले होइन् ? नेताहरु गतिलो भइदिएको भए जनताले देशभित्रै रोजगारी पाउँथे होला । सुविधा पाउँथे होला । दुःखलाग्दो कुरा के भने, सबै नेताहरु खत्तम भए । व्यक्तिगत स्वार्थका लागि देश बेच्न पनि नछोड्ने खालका भए ।
एउटै व्यक्ति दर्जनौंपटक मन्त्री भएका छन् । त्यसको सूचीमा शरतसिंह भण्डारी छन् । उनको काण्डहरु बाहिर आइरहेका छन् । एउटै व्यक्ति बारम्बार प्रधानमन्त्री हुने, मन्त्री हुने तर उखाल्ने केही होइनन् । भ्रष्टाचार गर्छन्, स्वास्नीको संख्या थप्छन् । देउवा पाँच, ओली तीनपटक प्रधानमन्त्री भए ।
तर, सिन्को भाँचेनन् । माधव नेपाल, झलनाथ खनाल एकएक पटक भए । प्रधानमन्त्री हुँदा यिनीहरुले कुम्ल्याउनु कुम्ल्याएका छन् । तर, अझैपनि जनता यिनीहरुले काम गर्छन् भनेर यिनीहरुको पछाडि लाग्नु मुर्खता होइन् ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रले यिनीहरुको सम्पत्तिको स्रोत खोज्ने कि नखोज्ने ?
कानुन सबैलाई बराबर हो । रवि लामिछाने सहकारी ठगीमा जेल पुगे, देश बेचेर खाने ओली, देउवा, प्रचण्डलगायतलाई किन जेल नहाल्ने ? सानालाई ऐन र ठूलालाई चैनको व्यवहार नगरौं । जनता अब यिनीहरुको कार्यक्रममा होइन्, यिनीहरुलाई कानुनको कठघरामा उभ्याउन लाग्नुपर्छ ।
त्यसो गरेनौं भने अब नेपाल नै नरहँला । त्यसैले जनता सचेत बनौं ।