यस्तो छ काठमाडौं महानगर र अभियन्ता ईः बीचको सहमति

काठमाडाैं । सडक व्यापारीको पक्षमा आन्दोलनरत अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ।

बुधबार राति भएको सहमतिमा अभियन्ता ईः र महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी श्रेष्ठ र मेयरको सचिवालयका धिरज जोशीले हस्ताक्षर गरेका छन्। चार बुँदे सहमतिजसँगै अभियन्ता ईःले आन्दोलन स्थगित गरेका छन्।

मंगलबार ईःका तर्फबाट विवेकशील अभियानका सहसंस्थापक गोविन्द नारायण र महानगरका तर्फबाट नविन मानन्धरको नेतृत्वमा ५/५ सदस्यीय वार्ता टोलीले छलफल गरेर चार बुँदे सहमति गरेको थियो । त्यसमा कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो ।

‘दशैं–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने’ भनिएको थियो ।

तर, यो सहमतिको खाकामा काठमाडौंका मेयर बालेन शाहले संशोधन गरेर तोकिएका स्थानका नाम हटाएका थिए । उनका सचिवालयका सदस्यहरु वडाध्यक्षबाट दबाब आएपछि स्थानको नाम हटाइएको बताउँछन् । त्यो संशोधनपछि वार्ता बिथोलिएको थियो ।

बुधबार भएकाे सहमतिको पहिलो बुँदामा १९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र अन्य सहभागीले आजैबाट प्रदर्शन स्थगित गर्ने उल्लेख छ।

त्यस्तै, फूटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा काठमाडौं महानगरपालिकाले जफत गरेका सामान फिर्ता गर्ने सहमति भएको छ। महानगरको स्टोरमा भएसम्मका सामान एकीन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने भएको छ।

तेस्रोमा, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय र व्यापार गर्न आवश्यक मानिने व्यक्ति एकीन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रवन्धन गर्न समिति गठन गरिने भएको छ। त्यसमा काठमाडौं महानगरले तोकेका तीन जना, अभियन्ता ईःको तर्फबाट तोकिएका प्रतिनिधि दुई जना, भौतिक तथा यातायात मन्त्रालयका प्रतिनिधि एक जना, शहरी विकास मन्त्रालयको प्रतिनिधि एक जना र ट्राफिक प्रहरी प्रतिनिधि एक जना रहनेछन्।

सहमतिको चौथो बुँदामा साविकमा फूटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि महानगरपालिका भित्र कानूनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरू पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक साताभित्र पहल गर्ने उल्लेख छ।

साना व्यवसायीलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरी अभियन्ता ईःले राष्ट्रिय सभागृह अगाडि उभिएका थिए। आठ दिनदेखि उभिएर विरोध जनाइरहेका उनले महानगरले साना व्यवसायीलाई रोजगार गर्ने वातावरण मिलाउनुपर्ने माग गरिरहेका थिए। उनको मागमा महानगर सहमत भएको हो।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *