अभियन्ता ‘ई’ लाई प्रमुख शाहको जवाफ : फुटपाथमा व्यापार गर्नु गैरकानुनी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार व्यवसाय गर्नु गैरकानुनी रहेको बताउनुभएको छ । विगत नौ दिनदेखि राष्ट्रियसभा गृह अगाडि उभिएका अभियन्ता ‘ई’ लाई सम्बोधन गर्दै उहाँले फुटपाथ, बाटोमा व्यापार गर्नु कानुनविपरीत रहेको स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “यस विषयले भावुक बनाए पनि यसरी व्यापार गर्नु गैरकानुनी छ ।”

प्रमुख शाहले प्रष्ट पार्दै भन्नुभएको छ, “बिहान र बेलुकी दुई/दुई घण्टा समय छुट्याउने विकल्पमा पनि सहमत हुन सकिँदैन, एक हजार व्यक्तिको लागि ५० लाख जनाको हिँड्ने अधिकार हनन गर्न सकिँदैन ।” सरकारको सरकारी जग्गा दिने वा नदिने अधिकार महानगरसँग नभएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, “तपाईंको माग पूरा गर्ने अधिकार कामपासँग छैन ।”

प्रमुख शाहले कामपाको जग्गा र नेपाल सरकारको जग्गाको स्वामित्व फरक फरक हुन्छ दिने र नदिने अधिकार फरकफरक निकायमा हुने उल्लेख गर्नुभएको छ । कामपाको केन्द्रीय कार्यालय र वडा कार्यालय पनि भाडामा रहेको उहाँले अवगत गराउनुभयो ।

“मैले चुनावी एजेन्डा बिर्सिएको छैन र बिर्सिन्न पनि । गरिबको सधैँको लागि बोल्दिने काठमाडौँ महानगर छ । घोषणापत्रको कुन पेजको कुन बुँदामा लेखेको छु भन्ने पनि थाहा छ । त्यो बुँदा कुनै अमुक व्यक्ति वा समूहको व्यवस्थापनका लागि मात्र थिएन, त्यो गरिबी निर्मूल गर्ने एउटा चरणको रुपमा थियो”, उहाँले सामाजिक सञ्जालमार्फत अधियान्ता ‘ई’लाई जवाफ दिनुभयो ।

भारत र चीनबाट ल्याइएका सामान फुटपाथमा बेच्न दिएर गरिबी निवारण नहुने उल्लेख गर्दै प्रमुख शाहले सडकमा व्यावसाय गर्न दिएर प्रणालीमा आबद्ध भएर सोही व्यवसाय गरिरहेकालाई धराशायी बनाउने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “नियम बनाउने ठाउँमा भएका राजनीतिक दलले समयमा नै सही नियम बनाएका छैनन् । हाम्रो आग्रह छ, हजारौँ काठमाडौँवासीको घर भत्काएर, थातथलो उठाएर अधिग्रहण गरेर, हडपेर फुटपाथ र सडक बनाइएको ठाउँलाई व्यापार र व्यवसाय गर्न दिइनु ती मानिसप्रतिको अन्याय मात्र होइन, जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योभन्दा अलग्गै प्रयोजनका लागि प्रयोग गर्न नपाइने कानुनको समेत बर्खिलाप हुन जान्छ ।”

फुटपाथ व्यवसायीको वैकल्पिक व्यवस्थापनको माग गर्न विगत नौ दिनदेखि उभिरहेका अभियन्ता ‘इर्’ लाई विभिन्न राजनीतिक दलले पनि समर्थन जनाएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *