मौलिक संस्कृतिको पाठ सिकाउँदै विद्यालय

गलेश्वर । म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थीलाई पाठ्यपुस्तकका अतिरिक्त नैतिक आचरण, मौलिक संस्कृति र परम्परागत संस्कारका कुरा सिकाउन थालिएको छ । यहाँका मगर, छन्त्याल, थकाली र नेवार समुदायले आआफ्नो पुख्र्यौली भाषाको संरक्षणमा चासो देखाउन थालेका छन् ।

विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त नैतिकता, संस्कार र संस्कृतिमा परिपक्व बनाउने मूल उद्देश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको विद्यालयले जनाएका छन् । किताबी ज्ञानले मात्र मानिसको वैयक्तिक विकास हुन नसक्ने र कर्तव्यनिष्ठ बन्न नसक्ने तथ्यलाई औँल्याउँदै यहाँको अर्जुन मावि, बुद्ध एकेडेमी, बेनी सामुदायिक, भानु माध्यमिकलगायत धेरै विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृति, भेषभूषा, चाडपर्व र नातागोताका बारेमा सिकाउने गरेका छन् ।

बेनी नगरपालिका–२ बगरफाँटको बुद्ध एकेडेमी विद्यालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार विद्यार्थीलाई जातीय पहिचान खुलाउने पहिरनमा स्वेच्छिक रूपले विद्यालय आउन र मातृभाषा बोल्न पाउने अवसर दिएको विद्यालयका प्रिन्सिपल राजु किसानले बताउनुभयो ।

विद्यार्थीलाई सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा र भेषभूषाको सम्मान गर्नुका साथै संरक्षण गर्न सिकाइ रहेको उहाँको भनाइ छ । मौलिक संस्कृतिका विषयमा नयाँ पुस्ता परिचित हुनुपर्छ भन्ने मान्यताले विद्यालयले फरक कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

त्यसै गरी सदरमुकाम बेनी बजारको बेनी सामुदायिक माविले विद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षाका अतिरिक्त नैतिक बल र चारित्रिक सीप विकास गर्ने खालको कार्यक्रम आयोजना गर्दै आएको छ । विद्यार्थीको शारीरिक, बौद्धिक, मानसिकलगायत चौतर्फी विकासका लागि नियमित रुपमा विभिन्न किसिमका कार्यक्रम आयोजना गरिँदै आएको विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो ।

विद्यालयले अभिभावकसँग छलफल गरी महिनाको अन्तिम शुक्रबार बालबालिकालाई जातीय पोशाकमा पठाउन आग्रह गरेपछि बालबालिका विभिन्न जातजातिको भेषभूषामा सजिएर विद्यालय आउने गरेका छन् । विद्यालयको पढाइसँगै विद्यार्थीले आफ्नो संस्कृति, भेषभूषा, भाषालगायत कुरामा जानकारी राख्न र विद्यालयमा शिक्षा मात्रै होइन धर्म र संस्कृतिको बारेमा ज्ञान दिन सो अभियानको थालनी गरिएको अर्जुन माविका १० जोड दुई संयोजक रघुनाथ सापकोटाले बताउनुभयो ।

मगरको बाहुल्यता रहेको म्याग्दीमा पछिल्लो समय आफ्नो पुख्र्यौली भाषाप्रति सो समुदायको मोह बढ्दै गएको छ । सो समुदाय लोपोन्मुख मगर ढुट भाषाको जगेर्ना गर्न जुटेका छन् । १८ मगरात क्षेत्रअन्तर्गत पर्ने म्याग्दी र बागलुङमा सन् १६०० मा आफ्नो भाषा बोल्ने मगर समुदायलाई दण्ड, जरिवाना गर्न थालिएपछि बोलीचालीमा प्रयोग गर्न छाडेका बताइन्छ । पछिल्लो समय जिल्लाका विभिन्न मगर समुदायको बाहुल्यता रहेका बस्तीमा मगर भाषा कक्षा सञ्चालन हुँदै आएका छन् ।

मल्लकालमा तत्कालीन राज्य सञ्चालकले फरकफरक भाषा बोल्दा गोपनीयता भङ्ग हुने, सुरक्षामा असर र सूचना आदानप्रदान गर्न असहज भएको भन्दै मगर भाषा बोल्न प्रतिबन्ध लगाएको भनाइ छ । लोपोन्मुख मगर भाषाको संरक्षणका लागि यहाँका बुद्ध एकेडेमी, न्यू वेष्ट प्वाइन्ट लगायतका विद्यालयमा मगर भाषामा अध्ययन हुँदै आएको छ । त्यसै गरी थकाली र नेवार समुदाय पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । जातीय र भाषिक पहिचान झल्कने विभिन्न किसिमका कार्यक्रम सदरमुकाम बेनीमा सञ्चालन हुँदै आएका छन् । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *