टुकुचा विवादमा उच्च अदालतले दुवै पक्षलाई बोलायो

काठमाडाैं । टुकुचा खोलामाथि बनाएका संरचना हटाउने सम्बन्धी विवादमा उच्च अदालत पाटनले दुवै पक्षलाई बोलाएको छ।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्न हात्तीसारस्थित जय नेपाल हल क्षेत्रमा खन्न शुरू गरेको छ। त्यही क्रममा साउन ३० गते जय नेपाल हलको आँगन खोतल्दा टुकुचा खोला भेटिएको थियो।

त्यससँगै हात्तीसारदेखि पुतलीसडक क्षेत्रमा महानगरले खोतल्न थालेको थियो। त्यसका विरुद्ध प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोलाविक्रम थापा लगायतले उच्च अदालतमा साउन ३१ गते रिट दायर गरेका थिए।

त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि असोज ५ गते बोलाएको छ। त्यतिन्जेल उत्खनन तथा अन्य कुनै पनि कार्य नगर्न उच्च अदालतले आदेश दिएको छ।

यससँगै उच्च अदालतले काठमाडौं महानगरको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ। निवेदकको माग बमोजिम किन अन्तरिम आदेश दिन नपर्ने हो त्यसको कारण पेश गर्न महानगरलाई उच्च अदालतले आदेश दिएको हो।

असोज ५ गते दुवै पक्षसँग छलफल गरेपछि उच्च अदालतले महानगरको टुकुचा खोला क्षेत्रमा बनेका संरचना हटाउने कार्य रोक्न अन्तरिम आदेश दिने वा नदिने तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *