कोरोनाको जोखिम बढेपछि मास्क अनिवार्य लगाउन सरकारको आग्रह

काठमाडाैं । सरकारले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै पर्याप्त सतर्कता अपनाउन आग्रह गरेको छ।

छिमेकी देशहरूमा संक्रमितको संख्या बढ्दै गएपछि आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य लगाउन, साबुन–पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विगतमा जस्तै कोभिड–१९ बाट जोगिन सम्पूर्ण सतर्कता अपनाउन आवश्यक रहेको बताए।

“विगत केही हप्तादेखि छिमेकी देशहरूमा कोरोनाको संक्रमण बढ्दो क्रममा देखिएको छ,” प्रवक्ता गौतमले भने, “देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक, भीडभाड हुने व्यवसाय नगर्न आग्रह गर्दछौं।”

कोरोना संक्रमणबाट देशभरि आइतबारसम्म ३ हजार १६ जनाको ज्यान गइसकेको छ भने २ लाख ७५ हजार ६०९ जना संक्रमित भएका छन्। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९६९ छ।

भारतमा शनिबार ४१ हजार नयाँ संक्रमित फेला परेका थिए। यो दैनिक संक्रमण संख्या पछिल्लो चार महीनायताकै बढी हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *