ढुङ्ग्रोले बदलियाे दमाैलीका दीदीबहिनीकाे दैनिकी अचेल

कृष्ण न्यौपाने
तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारकी कोपिला अर्याल घरमा बस्दा फेसबुक चलाउने, युट्युब हेर्ने काम गर्नुहुन्थ्यो । उहाँलाई दिन बिताउनका लागि मोबाइल चलाउनुपर्ने बाध्यता थियो । तर माघ महिना शुरु भएसँगै उहाँलाई दिउँसोको समयमा मोबाइल चलाउने फुर्सद छैन । वडा नं ५ बेलचौतारामा स्थापना भएको ढुङ्ग्रो उद्योगले उहाँको दैनिकी बदलिएको छ ।

“श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा हुनुहुन्छ, म घरमा एक्लै छु”, अर्यालले भन्नुभयो, “घरमा यत्तिकै बस्दा दिन कटाउन पनि गाह्रो हुन्थ्यो, मोबाइल चलाउँदै बस्नुको विकल्प थिएन, तर अहिले उद्योगमा काम गर्न थालेपछि दैनिकीमा परिवर्तन आएको छ ।” उहाँको बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म उद्योगमा काम गर्दा समय बित्ने गरेको छ । “पहिला दिउँसोको समयमा हातमा मोबाइल हुन्थ्यो, अहिले ढुङ्ग्रो हुन्छ”, अर्यालले भन्नुभयो ।

श्रीमान्ले विदेशमा १०–१२ घण्टा काम गर्ने गरेको र अहिले आफूले पनि काम गर्न थालेपछि कामको महत्व पनि बुझेको अर्यालले बताउनुभयो । उद्योगले सीप सिकाउनुका साथै आम्दानीको स्रोत पनि बनाएको उहाँले बताउनुभयो । खैरेनीटारकै इन्द्रा अर्यालको पनि दिउँसोको समय त्यत्तिकै बित्थ्यो । उहाँको पनि उद्योगमा काम गर्न थालेपछि दैनिकी फेरिएको छ । बिहान चाँडै नै खाना खाएर घरधन्दा सकेर दिनभर उद्योगमा काम गर्ने गरेको उहाँले बताउनुभयो ।

घरमै त्यत्तिकै समय खेर फाल्नुभन्दा उद्यमशील बन्ने उद्देश्यसहित उद्योगमा काम गर्न शुरु गरेको उहाँले जानकारी दिनुभयो । “घरमै बसेर खेर जाने समयको सदुपयोग गर्दा आम्दानीको स्रोत पनि भएको छ”, उहाँले भन्नुभयो । व्यास नगरपालिका–१० घर भई हाल शुक्लागण्डकी–५ बेलचौतारा बस्ने विष्णु थापाले रोजगारीले आम्दानीको स्रोत भएकाले केही कुरा किन्नुपर्दा श्रीमान्को भर पर्नु नपरेको बताउनुभयो । “केही कुरा किन्न पर्दा श्रीमान्सँग पैसा माग्नुपथ्र्यो, अहिले आफँैले पनि अलि–अलि कमाउन थालेपछि श्रीमान्को भर पर्नुपरेको छैन”, उहाँले भन्नुभयो ।

माछापुच्छ«े फुड प्रोडक्टमा उहाँहरुसहित ३० महिला र पाँच पुरुषले रोजगारी पाउनुभएको छ । सबै महिला शुक्लागण्डकी आसपासका हुनुहुन्छ । स्थानीय पवनकुमार ढकाल, सुरज श्रेष्ठ, ढाकाराम सुवेदी, जयशङ्कर यादव र अभिषेक यादवको संयुक्त लगानीमा यही माघ १ गतेदेखि उद्योग सञ्चालनमा आएको छ । लगानीकर्ता ढकालको जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरिएको छ ।

उद्योगमा हालसम्म रु ३५ लाख लगानी भएको सञ्चालक ढकालले जानकारी दिनुभयो । उक्त उद्योगबाट हाल ढुङ्ग्रोमात्रै उत्पादन भइरहेको र निकट भविष्यमा चिजबललगायत पनि उत्पादन शुरु गरिने उहाँले बताउनुभयो । “शुरुआती चरण भएको भएर अन्य सामग्री उत्पादन गर्न सकेका छैनौँ, तर केही समय पछाडि अन्य सामग्री पनि उत्पादन गर्ने गरी काम थालेका छाँैँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उद्योगबाट हाल ७० प्याकेट ढुङ्ग्रा उत्पादन भइरहेका र मागअनुसार पु¥याउन कठिन भइरहेको छ ।

उद्योगबाट उत्पादित ढुङ्ग्रा तनहुँको शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, भीमाद नगरपालिकाका साथै पोखरा, नारायणगढ, बागलुङ, स्याङ्जालगायतका ठाउँमा निर्यात हुने गरेको छ । “बजारको कुनै समस्या छैन, शुरुआत भएका कारण मागअनुसारको उत्पादन पनि गर्न सकिरहेका छैनाँै”, ढकालले भन्नुभयो । उद्योगमा काम गर्ने कामदारलाई हाल दैनिक रु २०० का दरले पारिश्रमिक दिइएको र केही समय पछि मासिकरूपमा नै पारिश्रमिक दिइने उहाँले जानकारी दिनुभयो । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *