बा सङ्गैका सम्झनाहरू…

चन्द्र सर्तुङ्गे मगर 
मध्यबर्खाको पारिलो घाम । साउने किराको त्यो आकाश उडान । हाम्रो मन यसै फुरुगँ हुन्थ्यो । लगातारको झरी अनि पुलुक्क निस्केको घामको सँगत गर्न प्रेमील बनेर निस्किएका यी किराहरु । एकछिन उडेर सँसार देख्न हतारिएका यी बोल्न नसक्ने आत्माहरु, बा को चुरोटसँगै आकाशबाट हेलीजस्तै, चिनेजस्तै घासै मैदानमा घुमी घुमी झर्थे । बा को वरीपरि कहिले हिड्दै त, कहिले उडेर, काँधैमा बस्थे ।

बा को एककोहोरो चिन्तनसँगै मुखबाट पुक्क पुक्क निस्किने चुरोटको धुवाँ । आकाशैभरि मडारिदै मडारिदै सानो नाकमा आएको बासना अति प्रिय लाग्थ्यो । धुवा पनि मगमगाउँथ्यो । बा ले खाने, मैले मजा लिने …। कसैले पारिलो घाममा, चिसो चिसो मौसममा, पीरमा, तनाबमा वा पार्सलको रुपमा ल्याएको चुरोट खाँदा आउने बासनाले बाको याद ताजै बनाउँछ । मस्तिष्कको पानामा लुकी बसेका अतितहरुलाई आखैभरि, मनैभरि बनाउने त्यो धुवाँ, कस्तो धुवाँ ? कहिलेकाहीँ लाग्छ, यो धुवाँ सधैभरि यतैकतै सँगै उडिरहेछ ।

चुरोट, चिन्तन र चर्चा बाको उपमा नै थिए । सानैदेखि बा को सँगतले उहाँको बारेमा केहि कुरा थाहा थियो । बा को त्यो राजषि बाल्यकाल, शिक्षाकाे विभेद, पल्टने जागिर, घरको पीर, सन्तानको पीर, आदि यस्तै …। सन्तानको पीर त, लिदैन भन्दा पनि मुटुमा गड्ने किला रहेछ । उहिले बा हरुको पालामा पनि त्यस्तै, अहिले पनि उस्तै ।

सेङ्दिचौर, खेलमैदान र सीमा

देउराली, याक, गैडा, गोल्ड फ्लेक, पाइलट, चौतारी र विजुली यस्तै चल्तीका चुरोट थिए उतिबेला । लाहुरबाट आउने फिल्टरवालाको त आयु नै कम हुने । कहिले सल्काउने आदेश, कहिले रहर त, कहिले कहरले, नचाखेको पनि होइन । तर, बा को चुरोटले झुम्मिएका साउने किरा जस्तै, यो चुरोट प्रति झुम्मिने रहर कहिले जागेन । बरु, ति नशामा झुम्मिएका साउने किरालाई छोपेर थैलो भरि, गोजी भरि, हल गोरु बनाएको याद ताजै छ ।

अहिले लाग्छ, ती चुरोटहरु, ती किराहरु र ती सम्झनाहरु, नविर्सिने सम्झौताको लाहछाप लगाएर कतै विलाएछन् । कतै हराएछन् …अमिट छाप बनी बसेका तिनै अमुल्य यादहरू कठिन जिवनका उर्जा बनेका छन ।

आज कुशे औसी अर्थात बुबाको मुख हेर्ने दिन, सबै बुबाहरुलाई शुभकामना …

#kusheaushi #fathersday #baba

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *