हमासले इजरेलबाट बन्धक बनाएका छजनाको शव गाजाको भूमिगत सुरुङमा भेटियो

एजेन्सी । इजरेली सेनाले गाजाको रफाह सहरमा एउटा सुरुङमा फेला परेका छवटा शव अक्टोबर ७ मा हमासले आक्रमण गर्दा बन्धक बनाएकाहरूको रहेको जनाएको छ।

सेनाले शव फेला परेका बन्धकहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँचजना इजरेली नागरिक रहेको उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एक जना मृतक हेर्स गोल्डबर्ग-पोलिन अमेरिकी नागरिक रहेको बताए।

“म शोकाकुल र क्रुद्ध भएको छु,” बाइडनले भने। पोलिन हमासको एक भिडियोमा हात काटिएको अवस्थामा देखिएका थिए।

एक विज्ञप्तिमा बाइडनले उक्त मृत्युलाई दुखद र निन्दनीय भन्दै आफ्नो अपराधका लागि हमासका नेताहरूले मूल्य चुकाउनुपर्ने बताए।

बेपत्ता परिवारहरूको समूह ‘द मिसिङ फ्यामिलिज फोरम’ले इजरेली प्रधानमन्त्री नेतन्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम सहमति जनाउन पुनः अनुरोध गरेको छ।

इजरेली सेनाले के भन्यो?

आइतबार बिहान जारी गरिएको विज्ञप्तिमा इजरेल डिफेन्स फोर्सेस (आइडिएफ)ले ती शवहरू इजरेली भूभागमा ‘फिर्ता गरिएको’ जनाएको छ।

“उनीहरू सबैलाई अक्टोबर ७ मा बन्धक बनाइएको थियो र हमास आतङ्कवादी सङ्गठनले गाजा स्ट्रीपमा हत्या गरिदिएको छ।”

इजरेली सेनाले ती मृतकका परिवारलाई जानकारी गराइसकिएको बताएको छ।

इजरेल डिफेन्स फोर्सेजका एकजना प्रवक्ता ड्यान्यल हेगारीले आफ्ना फौजहरू पुग्नु केही समयअघि मात्रै हमासले तिनीहरूलाई मारिदिएको बताएका छन्।

बन्धकका परिवारहरूले इजरेली सरकारले युद्धविरामको लागि सहमति जनाएको भए यस्तो परिस्थिति नआउने धारणा राखेका छन्।

राष्ट्रपति बाइडनले ‘हेर्स अक्टोबर ७ मा इजरेलमा भएको शान्तिका लागि साङ्गीतिक समारोहमा क्रूरतापूर्वक आक्रमण गरिएका निर्दोषहरूमध्ये भएको’ जनाएका छन्।

उनले भनेका छन्: “हमासको बर्बर नरसंहारको समयमा साथीहरू र अपरिचितहरूलाई सघाउने क्रममा उनले आफ्नो हात गुमाए। उनी बल्ल २३ वर्ष पुगेका थिए। उनले विश्व घुम्ने योजना बनाएका थिए।”

“मैले उनका बुबा आमा जन र रेचललाई चिन्न पाएको छु। यस्तो अकल्पनीय परिस्थिति सामना गर्नुपर्दा पनि उनीहरू साहसी, ज्ञानी र सहनशील रहे।”

अझै ९७ जना हमास नियन्त्रणमा

इजरेली सेनाले दक्षिण इजरेलमा अक्टोबर ७ मा हमासले गरेको अभूतपूर्व आक्रमणको प्रतिक्रिया स्वरूप उक्त समूहलाई समाप्त पार्न गाजामा सैनिक कारबाही गरिरहेको छ।

हमासले गरेको आक्रमणमा इजरेलमा करिब १२ सय जनाको ज्यान गएको थियो। उक्त समूहले अन्य २५१ जनालाई बन्धक बनाएको थियो।

त्यसयता गाजामा ४०,५३० जना मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अमेरिका, इजिप्ट र कतारका मध्यस्तकर्ताहरूले हमासले अझै बन्धक बनाएका ९७ जनाको रिहाइका लागि इजरेली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरू सट्टापट्टा गर्न सकिने विषय समेटिएको एउटा युद्धविराम सम्झौतालाई टुङ्गोमा पुर्‍याउने प्रयास गरिरहेका छन्।

हमासको नियन्त्रणमा अझै रहेको भनिएका ९७ बन्धकमध्ये कम्तीमा २७ जना मारिएको ठानिन्छ।

हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन्। उनको अवस्था अझै पनि अज्ञात रहेको छ।

उनको रिहाइको ‘सम्भव भएसम्म सबै कूटनीतिक माध्यमहरूबाट’ पहल गरिरहेको नेपाली अधिकारीहरूले बताउने गरेको पाइन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *