बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कुवेतमा थुनिएका २१ कामदार तत्काल झिकाउन सरकारलाई निर्देशन
काठमाडौँ । संसदीय समितिले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरिवानी तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिनु भयो । थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दुतावासको भनाई छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पु¥याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको छ ।
यता, सरकारले भने कवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भईरहेको जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दुतावासमार्फत पहल भईरहेको बताउनु भयो । उहाँले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दुतावासले कुरा गरिरहेको पनि जानकारी दिनु भयो ।
बैठकमा समितिका सदस्यहरुले कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए । समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाईएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराउनु भयो ।
समितिका सदस्यहरुले नेपाली कामदारहरुलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लग्ने म्यान पावर कम्पनीको छानवीन गरी कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए ।