देशका २६ सहरमा आजदेखि एनटीसीकाे फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले आजदेखि सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको हो । टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार टेलिकमले मुख्य सहरअन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै, साना सहरअन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुनेछ । पहिलो चरणअन्तर्गत यी सहरमा फोरजी सेवा सुरु हुने भए पनि त्यसपछि लगातार नयाँ ठाउँमा परीक्षण र सेवा सञ्चालनको काम नियमित हुने उनले बताए ।

‘फोरजी’ सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी’लाई सपोर्ट गर्ने हुनुपर्नेछ । नेपाल टेलिकमले आफ्नो मोबाइलमा ‘फोरजी’ सेवा चल्छ कि चल्दैन जाँच गर्न र नचल्ने भएमा निःशुल्क परिवर्तन गर्न आग्रह गरेको छ । आफ्नो सिमकार्ड ‘फोरजी’ सेवा सपोर्ट गर्छ कि गर्दैन भन्ने जान्न स्टार ४४४ अनि ह्यास डायल गर्न टेलिकमले जनाएको छ । फोर जी नचल्ने सिम भएमा नजिकैको टेलिकम कार्यालयमा गएर निःशुल्क फोरजी सिम लिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *