कति पटक नापियो अहिलेसम्म सगरमाथाकाे उचाइ ?

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर भएकाले सगरमाथालाई संसारले नै चासोका साथ हेरेको छ । यसको आधिकारिक उचाइ मापनको काम भारत, अमेरिकालगायतको विभिन्न राष्ट्रले गरे पनि फरक/फरक रिपोर्ट सार्वजनिक भएका छन् । नेपाल सरकारले भने पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो ।

नापी विभागका अनुसार सन् १८५२ मा पहिलोपटक ब्रिटिसले सगरमाथाको उचाइ नापेका थिए । नेपालमा नआई सर्भे अफ इण्डियाबाट नापेका ब्रिटिसले आठ हजार ८४० मिटर उचाइको हिमाल रहेको बताएका थिए ।

ब्रिटिसहरुले नै सन् १९०४ मा पुनः नापेको बताइन्छ । सन् १९५४ मा भारतीय नापी विभागको टोलीले आठ हजार ८४८ मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेको थियो । सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार ८५० मिटर रहेको दाबी गरेको थियो ।

यस्तै नर्वे, अमेरिका र चिनियाँ संस्थाले पनि सगरमाथाको उचाइ नापेको बताइन्छ । उनीहरुले नाप्दा फरक÷फरक समयमा फरक÷फरक रिपोर्ट सार्वजनिक गरेका थिए ।

नेपालले भने अहिलेसम्म आठ हजार ८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । अब नेपाली टोलीले यसको उचाइ मापन गरी नेपाल सरकारकारलाई बुझाएको प्रतिवेदन नै आधिकारिक हुने बताइएको छ ।

कहाँ पुग्याे सगरमाथा नाप्न गएकाे टाेली ?

सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।

टोली प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रवीन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल तेञ्जिङ हिलारी विमानस्थल हुँदै आज लबुचे पुग्नेछन् । उनीहरुसँगै नेपाल माउण्टेन एकेडमीका प्रशिक्षक छिरिङ जाङ्बु शेर्पा पनि सगरमाथाको उचाइ नाप्न गएको विभागले जनाएको छ ।

उक्त टोलीले आमादब्लम हिमालको पनि आरोहण गर्ने बताइएको छ । नापी विभागका सूचना अधिकारी दामोदर ढकालका अनुसार टोलीमा रहेका दुईजना सगरमाथा आधारशिविरमा बसेर समन्वय गर्ने र दुईजना सगरमाथाको चुचुरोसम्म पुगेर काम गर्नेछन् । सगरमाथाको उचाइ मापनको सम्पूर्ण काम सन् २०१९ मा सम्पन्न गरी आधिकारीक उचाइ सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।

नापी विभागले अहिलेसम्म सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ । यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डङ्गोलको भनाइ छ । रासस

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *