काँग्रेसले आफैँलाई सुधारोस्

दामोदरप्रसाद दवाडी

नेपालको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्तिको नेतृत्व वा अगुवाई गरेको नेपाली काँग्रेसको इतिहास जति गौरवमय छ, त्यति नै वर्तमान अवस्था अन्योलपूर्ण बनेको छ ।

हरेक परिवर्तन र क्रान्तिको नेतृत्व गर्न सफल काँग्रेसलाई त्यस्तो सफलता उसको क्षमता वा उद्देश्यले भन्दा पनि संयोगले भएको पनि भनिन्छ । मुलुक र लोकतन्त्रका लागि काँग्रेसको सैद्धान्तिक पक्ष आज जति बलियो छ, त्यति नै यसको आन्तरिक जीवन भने सधैँ आलोच्य र द्वन्द्वपूर्ण छ । सङ्घर्ष गर्ने तर सङ्घर्षबाट प्राप्त उपलब्धिको व्यवस्थापन गर्न भने काँग्रेस सधैँ चुक्दै आएको छ । व्यवस्थापन र सम्बोधनको पाटोमा कमजोर देखिए पनि काँग्रेस एउटा जीवन्त राजनीतिक शक्तिको रूपमा समाजमा स्थापित पार्टी चाहिँ हो ।

उदार चरित्रलाई कमजोर ठान्नेहरूले काँग्रेसलाई उपयोग र दुरुपयोग भने धेरै गरेका दृष्टान्त छन् । नेतृत्व विकास, असल नेतृत्व निर्माण र योग्यता वा क्षमताअनुसारको जिम्मेवारी दिन चाहिँ काँग्रेसले सकिरहेको छैन । यो पार्टी एउटा खुला रङ्गशालाजस्तो पनि छ । यहाँ सधैँ खेलका नियम पालना हुँदैनन् र त छिर्के दाउ लगाउने वा झेली खेलाडी मैदानमा एउटा वा दुईटा मात्र किन नछिरोस्, उसले समग्र टिमलाई नै बदनाम गरिरहेको हुन्छ । पार्टी नेतृत्वमा पुग्नेको नियत जतिसुकै उदार र सफा किन नहोस् तर उसको वरिपरि घुम्ने हुक्के, बैठके, अन्धोभक्त, स्वार्थी, चिप्ले तर कपटपूर्ण चरित्र तथा मानसिकता बोकेकाहरूले नेतृत्वको छवि उजिल्याउन भूमिका खेल्दैनन् । अयोग्यले नै आफूलाई नेतृत्वको सच्चा हिमायती र पहरेदार भएको देखाउन जति चर्को व्यवहार गर्छन्, उनीहरूले नेतृत्वको प्रतिष्ठा र ख्यातिमा खिया लगाउने काम पनि गरिरहेका हुन्छन् ।

निरङ्कुश पञ्चायती व्यवस्थाको समयमा संयुक्त राज्य अमेरिकाका राजदूत भएका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला काँग्रेसका सभापति हुनुहुन्थ्यो । पञ्चायत कालकै प्रधानमन्त्री विश्वबन्धु थापा काँग्रेसका महामन्त्री हुनुहुन्थ्यो भने शाही सत्ताका उपाध्यक्ष तुलसी गिरीसमेत काँग्रेसको नेतृत्व तहमा हुनुहुन्थ्यो । पञ्चायत कालमा दर्जनौँ काँग्रेसका नेताले काँग्रेस छोडे पनि काँग्रेस कमजोर भएन । २०४६ सालको परिवर्तनसँगै काँग्रेस नेतृत्वमै संविधान जारी भयो र ०४८ सालमा बहुमत ल्याएर खुला र उदार आर्थिक नीति अवलम्बन गरी मुलुकले आर्थिक समृद्धिको बाटो अँगाल्दै थियो तर काँग्रेसको नेतृत्व र असहमत पक्षबीचको खटपट वा असमझदारीले पार्टी कमजोर बनायो अनि ०५१ को निर्वाचनमा काँग्रेस पराजित हुन पुग्यो ।
नेतृत्वको व्यवस्थापन र असहमतिले कमजोर भएको काँग्रेस एकताको कारण ०५६ सालमा बहुमत ल्याएर लोकतन्त्र संस्थागत गर्न लागे पनि राजसंस्थाको कुदृष्टि र माओवादीको कथित जनयुद्धले मुलुक द्वन्द्वको भूमरीमा प¥यो र अन्तत काँग्रेसका शीर्ष नेताबीच असमझदारी बढाउन राजसंस्थाले खेल्न थाल्यो । राजसंस्थाको आग्रह र पूर्वाग्रहमा फसेको काँग्रेस कमजोर भएको मौकामा शाही शासनले मुलुकलाई झन् बढी रक्तपाततर्फ धकेलिदियो ।

काँग्रेसको नेतृत्वमा देखिएको असमझदारी र द्वन्द्वको मौकालाई उपयोग गर्दै तत्कालीन राजाले शाही शासनमार्फत मुलुकलाई निर्दलीय मार्गमा डो¥याए । राजनीतिक अस्थिरता र हिंसाको भूमरीमा फसेको मुलुकलाई काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले १२ बुँदे समझदारीमार्फत तत्कालीन नेकपा माओवादीलाई शान्तिपूर्ण र खुला प्रतिष्पर्धात्मक राजनीतिमा प्रवेश गराई संविधानसभामार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बहालीको लागि अद्वितीय योगदान दिनुभएको थियो ।

सङ्घीयता, समावेशिता र गणतन्त्रको कार्यान्वयनजस्ता विषयमा काँग्रेसले खेलेको ऐतिहासिक भूमिकाको विरासत गाथा गाएर मात्र काँग्रेसले भावी सन्ततिको विश्वास जित्न सक्दैन । समाजको चाहना, इच्छा राजनीतिक नेतृत्वको सोच, संस्कार र कार्यशैलीभन्दा धेरै अगाडि छ । त्यसैले अब काँग्रेसका नेताले गौरवमय इतिहासमा रमाएर मात्र देशको नेतृत्व लिन सम्भव छैन । विगतका इतिहासको गौरवमय घटनालाई स्मरण गर्दै समय सापेक्ष भएको देखाउन सक्नुपर्छ ।

काँग्रेसले आफूलाई समावेशी पार्टीको रूपमा पहिचान दिनका लागि कार्यकर्ता आधारित सङ्गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग प्रतिष्पर्धा गर्न सहज छैन । उसको साङ्गठनिक संरचनाको बनोट र आधार कमजोर हुँदै गएको छ । त्यसका लागि काँग्रेसले सबैभन्दा पहिले मुलुकको सङ्घीय संरचनाबमोजिमको सङ्गठन बनाउन जरुरी छ । सङ्घीयताको संरचनाअनुसार सात सय ५३ वटा गाउँपालिका र नगरपालिकामा सरकारी संयन्त्र र जनप्रतिनिधिले काम गर्न थालेको एक वर्ष भइसक्यो तर काँग्रेस यति ढिलो छ कि उसको सङ्गठनको संरचना अझै पनि पुरानै संरचनाअनुसारको करिब तीन हजार गाविस र दुई सयवटा नगरपालिका तथा ७५ जिल्लाको साङ्गठनिक संरचनामा सीमित छ । अहिले मुलुकले जिल्ला चिन्दैन, प्रदेशको अभ्यासमा गइसकेको छ । काँग्रेस परिवर्तित संरचनाअनुसार आफ्नो सङ्गठन बनाउने विषयमा अझै छलफलमा छैन । एक वर्षअघिको निर्वाचनको समीक्षामा काँग्रेस रुमलिएको छ ।

काँग्रेस पार्टीको नेतृत्व सङ्गठनको तल्लो तहले सुझाव दिएबमोजिम तलबाटै अनुमोदन हुनुपर्ने हो । विधानले पनि त्यही भावनालाई प्रतिबिम्बित गर्छ तर काँग्रेसको नेतृत्वमा गएका व्यक्तिको व्यक्तित्वका कारण सहमतिको नाममा विधानलाई ओझेलमा पार्ने काम हुन थालेका छन् । काम गर्ने संस्कार पुरानै पाराको तर परिवर्तित विधानबमोजिम काम गर्ने संस्कार केन्द्रदेखि गाउँपालिकासम्मको नेतृत्वमा देखिँदैन । विधानभन्दा पनि परम्परालाई अनुशरण गर्न खोज्दा काँग्रेसलाई इतर पार्टीले यथास्थितिवादीको आक्षेप पनि लगाउने गरेका छन् । विधानअनुसार काम गर्नुपर्छ भन्ने भावना नेतृत्वमा पुग्नेदेखि नेतृत्वको सहयोगीको पनि पाइँदैन । नत्र विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र गठन हुनुपर्ने पार्टीका सबै निकायले किन पूर्णता पाएनन् ? नेतृत्वलाई विधानअनुसार पदाधिकारी नियुक्त गर्न र विभाग तथा अन्य समिति गठन गर्न असन्तुष्ट पक्षले दबाब पनि दिएको पाइँदैन ।

काँग्रेसका भातृ संस्थामाथि पार्टीको सल्लाह, सुझाव र निर्देशन सामान्य भए पनि नेतृत्वले त्यस्ता संस्थामाथि अंकुस लगाउनु हुँदैन । निश्चित उद्देश्य र विशेषता बोकेका वर्ग वा समुुदायले निर्माण गरेका संस्थालाई स्वतन्त्र र स्वभिमानी बनाउँदै आत्मनिर्भर संस्थाको रूपमा स्वीकार गर्नुपर्छ । पार्टीको आधार र भविष्य नै भातृ संस्था हो । भातृ संस्थालाई पार्टी नेतृत्व वा व्यक्ति विशेषको इच्छा र भावनाबमोजिम चल्ने गोटी बनाउनुभन्दा विधानबमोजिम गतिविधि गर्न र आवधिक निर्वाचनमार्फत अर्थात् महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्ने संस्कारको विकास गर्न आवश्यक छ ।

नेपाली काँग्रेसमा योग्य र क्षमतावान व्यक्ति पाखा लाग्ने र अवसरवादीले अनेकौँ बहानामा अवसर लिइरहने प्रचलनको अन्त्य गर्न जरुरी छ । असल नियतले काम गर्ने योग्य, क्षमतावान र लामो सयमसम्म पार्टीमा योगदान गरेकालाई पुरस्कृत र अयोग्य, ठग, धोकेवाज, अवसरवादी, स्वार्थी र खराब आचरण गर्नेलाई दण्ड दिने व्यवस्था अत्यन्त महìवपूर्ण पक्ष हो ।

काँग्रेसले सङ्गठनको परिचालन महाधिवेशनमा मात्र गर्ने गरेको छ । त्यसबेला पनि काँग्रेसको विगतदेखिकै संस्कार पार्टीको राम्रो कामको प्रचारभन्दा उम्मेदवारको व्यक्तिगत ‘प्रोफाइल’, काँग्रेसको विगतको गौरवमय विरासतको गाथा गाउने र विपक्षीलाई आरोप वा आक्षेप लगाउनमै केन्द्रित हुँदै आएको छ । काँग्रेसले अब राज्यका हरेक अङ्ग, समुदाय र वर्गको समृद्धि र उन्नतिका लागि गर्ने कार्यको दृष्टिकोण प्रस्टताका साथ राख्न सक्नुपर्छ ।

काँग्रेसको नेतृत्वमा पुराना, धेरै उमेर खाएका र बारम्बार अवसर पाएकाहरूको जगजगी छ । यस्तो संरचनालाई परिवर्तन गरी युवा वा नयाँ पुस्तालाई अवसर दिनुपर्छ । एउटै वर्ग र एउटै व्यक्तिले ३० देखि ४० वर्षसम्म नेतृत्वमा बसिरहने हो भने नयाँले नेतृत्व लिन सक्दैन । नेतृत्वको अनुहारमा परिवर्तन नआउनु काँग्रेसको ठूलो समस्या हो । जनताको माझमा ४८ सालदेखि एउटै व्यक्ति एउटै पदमा बसेर अन्य व्यक्ति वा आकांक्षीको बाटो अवरोध गर्ने परम्परा, संस्कारलाई परिवर्तन गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *