नेपालले भारतसँग कति रकममा किन्दैछ रेल ?

बीबीसी । भारतको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने भएको छ। रेल विभागका अनुसार एउटा सेटमा पाँचवटा डिब्बा र दुईवटा इञ्जिन हुनेछन्। भारतीय सरकारमार्फत खरिद गरिने रेलका सेटको मूल्यबारे छलफल भइरहेको विभागका महानिर्देशकले बीबीसीलाई बताए।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ।

भारतको जयनगरदेखि नेपालको धनुषा जिल्लाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको रेल विभागले जनाएको छ। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार आगामी दुईदेखि तीन हप्ताभित्र भारतीय पक्षले रेल गुडाउन तयार रहे वा नरहेकोबारे परीक्षण गर्नेछ, जुन प्रक्रियामा नेपालसहितको संयुक्त टोली संलग्न हुनेछ।

तत्काल रेलका दुईवटा सेट खरिद गर्ने निचोडमा पुगेको रेल विभागले त्यसका विशेषता र मूल्य लगायतका विषयमा भारतसँग छलफल गरिरहेको महानिर्देशक मिश्रले बताए। “हामीले ट्रेनको दुइटा सेट किन्ने हो, एउटा सेटको अनुमानित ५० करोड रुपैयाँ पर्नेछ। एकदेखि डेढ घण्टाको यात्रा भएकोले राति सुत्न मिल्ने, एसी हुने लगायत धेरै सुविधासम्पन्न ट्रेन चाहिँदैन कि भन्नेबारे छलफल पनि गरिरहेका छौँ।”  धेरै सुविधा नचाहिने भएपछि खरिद गरिने रेलका सेटको मूल्य केही थपघट हुन सक्ने अधिकारीहरूले बताएका छन्।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारका अनुसार नेपालले अहिले खरिद गर्न लागेको डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट ट्रेन हो। त्यसका विशेषताबारे चित्रकारले भने, “छोटो दूरीका लागि यो एकदम उपयुक्त रेल हो। त्यसमा डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्र्याक्सन मोटर चल्छ। यसले प्रतिघण्टा एक सय ६० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।”

रेल विभागका महानिर्देशक मिश्रका अनुसार खरिद सम्झौता गरिएको ९० दिनभित्र भारतीय पक्षले रेलका सेट उपलब्ध गराउने गरी छलफल भइरहेको छ।

कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको नेपालसँग अनुभव भएकोले अब चल्ने ‘ब्रोडगेज’ रेलबारे नेपाली चालकहरू प्रशिक्षित नभएसम्म भारतबाट चालक ल्याएर चलाउने सरकारी तयारी छ। नेपाललाई रेलमार्गबाट जोड्न दुई छिमेकी भारत र चीनबीच अघोषित प्रतिस्पर्धा भइरहेको बुझाइमाझ छोटो दूरीको भए पनि रेलसेवा विस्तारका लागि यो महत्त्वपूर्व साबित हुनसक्ने जानकारहरू बताउँछन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *