त्यो जमनाको पत्रलाप ‘प्रिय सुना’

पत्र मन्जुषाबाट अन्तिममा झरेको त्यो पत्रमा प्रापकको विववरण लेखिएको थियोः …
प्रिय सुना
दौंघा, गुल्मी
अनि गुलाबको स्टिकर ।

केहि महिना पहिले हुलाक कार्यालयको कर्मचारीलाई सुटुक्क भनेको थिएँ “प्रिय सुना” नाम गरेको चिठ्ठी आउन सक्छ । हल्ला नगरि मलाई दिनु है ।

विद्यालयको खाजा समय । करिब ४५ मिनेट । अरु सबै साथीहरुले आआफ्नो नामको पत्रले निलो कमिजको गोजी पुक्क फुलाएका थिए । अन्तिममा, उही “प्रिय सुना” नामको चिठी बाँकी रह्यो । कसको होला ? को होला ? प्रिय सुना नाम, कस्तो राम्रो नाम । नाम त यति राम्रो छ, त्यो मान्छे कस्तो होला ? भन्दै हल्ली खल्ली हुन थाल्यो । म एक कुनामा बसी हेरिरहेँ । हुलाकी दाईले म तिर हेर्दै मुसुक्क हाँसी खैनीको पानी पिच्च पिच्च बाहिर फाल्थे । मलाई बताउदै कोहि भन्दै थियो, उ … उस्को त पत्रै आएन आज । कि, प्रिय सुना उहीँ त होइन ? म मुन्टो हल्लाउदै होइनको सँकेत दिन्थे ।

हुलाकघर अर्थात पोष्ट अफिसबाट स्कुलतर्फ जाँदै गर्दा म अन्तिममा बसेर साँझ भेट्ने इसारा हुलाकि दाईलाई गर्थे । प्रिय सुनाको त्यो पत्र अलपत्र देखेर कोहि भन्दै थिए, कस्तो अचम्मको नाम । प्रिय सुना । सुना भन्ने के रहेछ ? त्यै सुनाखरी त होइन ? अस्ति जङ्गल जाँदा फुलेको सुनाखरी । यहि सुनाखरी हो भने त खत्रै नाम हो यार । अझ, भित्र कस्तो होला ? भन्दै पत्र प्रेषकको बारेमा गफिदै स्कुल पुग्थ्यौँ ।

पोखरीको छेउनिर हुलाकी दाईलाई भेटिसके पछि, त्यो प्रिय सुनाको अलपत्र पत्रले पनि मालिक पायो । उसैगरि, निलो कमिजको रित्तो गोजी प्रिय सुनाले भरिएको थियो । पत्र पनि खुशी भयो होला । त्यो भन्दा खुशी र हतार त पत्रको मालिकलाई थियो, कति बेला खोलेर पढौँ भन्ने । अर्थात, वास्तविक सुना तिम्ले मायागरि भन्ने “सुना” टाइटल नामले छपक्कै भएको थियो ।

साँझपख बार्दलीमा टुकि बत्तिको मुधुर उज्यालोमा चन्द्रमाको शित्तल रोशनीको साथ, प्रिय सुनाको पत्र … रु २ को “भिजिट नेपाल” अँकित टिकटलाई जतनसाथ कोट्याउदै खोलिएको थियो । मनमा ढुकढुकी बढाउदै खोलिएको त्यो चिठ्ठि कालो पाइलट पेनले गोला गोला तर असाध्यै राम्रो अक्षरमा यसप्रकार लेखिएको थियो ।

मितिः २०५९ साल बैशाख २९ गते ।
स्थानः घरको एकान्त कोठमा
मौसमः हल्का चिसो
सम्झनाः प्रिय सुनाको

प्रिय सुना,
असीम माया । छोटो जीन्दगीको लामो सम्झना ।
आराम छु, आरामताको कामना गर्दछु ।

तिम्रो पत्र सकुशल पाएँ । मेरो मनलाई म आफै चिन्न नसकेको, आफैले बाध्न नसकेको र सिमलको भुवाजस्तै उडिरहेको यो मनलाई तिमीले कसरी चिन्यौ ? कसरी सपक्क पारी नदुखाई बाध्यौ ? अनि सिमलको भुवा कतै गएर बसोस भनि गर्हुङ्गो बियाँ बनेर सँगै उडेको तिम्रो पत्रबाट थाहा पाएँ । तिमीलाई भेटेको छैन । देख्न पाएको छैन । बोल्नु, सँगै कुरा गर्नु त मेरो लागी, त्यो निलो आकाशको सेतो बादलजस्तै हो । पुरै असम्भव ।

तिम्रो पत्र पाएदेखि यो मन स्थिर छैन । न्युटनको चाल सम्बन्धि तेस्रो नियम जस्तै तिम्रो पत्र पाएपछि म जति बिर्सन खोज्छु, त्यति धेरै सम्झन्छु । कहिलेकाँहि लाग्छ, यो नियम मलाई नै बनाइदिएको । अन्नपूर्ण हिमाल देख्दा लाग्छ, तिमी यो हिमालजस्तै अडिग तर निरन्तर मलाई नै हेरिरहेका छौ । नत्र, मेरो बारेमा तिमीलाई धेरै कुरा कसरी थाहा भयो । चिठिको अन्त्यमा तिमीले लेखेको उही सुना बाहेक मलाई केही थाहा छैन । सुना अर्थात सुनाखरी । मेरो प्रिय फुल हो । असाध्यै मन पर्ने । सधैभरि खोजेर पनि पाउन नसकिने । केवल बर्खामास, पानीमा रुज्दै रुज्दै, तिमीलाई खोज्नु पर्दाको त्यो क्षण ।

यी सबैकुरा तिमीले लेखेको पत्रको आधारमा लेख्दै छु । तिम्रो पत्रले मनमा हलचल ल्याएको छ । अर्को पत्र पठाउदा आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नम्बर लेखेर पठाउँ । यदि पठाएनौ भने म रेडियो श्रीनगरबाट तिम्रो नाम भन्नेछु । त्यै, अन्नपूर्ण हिमाललाई कसम खाएर दौडिरहेको यो पाइलट कलमलाई बिश्राम दिन चाहान्छु ।

पर्खिबस्नेछु देउरालीको चौतारीमा,
तिमी आउने आसैआसमा ।
सम्झिनेछु मनैभरि,
मैले फर्ने सासैसासमा ।
तिम्रो पत्रको आशमा बस्ने,
मनरुपा
कक्षा ९
विद्यालयको नामः …

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *