नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राजनीतिक परिवर्तनमा नेवार समुदायको योगदान, हरेक क्षेत्रबाट उनीहरुलाई नै गरियो विस्थापन !
अनुसा थापा
२०७२ वैशाख १२ गते गएको महाभूकम्प अविस्मरणाीय छ । १४ जिल्लामा ठूलो क्षति पुर्याएको भूकम्पले काठमाडौं उपत्यकालाई पनि छोडेन । भूकम्पका कारण धेरै घर चर्कियो–भत्कियो । तर, ती घरमा अहिलेसम्म मानिसहरु बसोबास गरिरहेका छन् । काठको टेको लगाएर बल्लतल्ल ठड्याइएको घरमा ज्यानको जोखिम राखेर बस्ने क्रम जारी छ ।
काठमाडौं उपत्यकाका घर कस्ता छन् ? सबैलाई थाहा छँदै छ । एक आना जग्गामा धरहराजस्तो घर ठड्याइएको छ । पाँचदेखि १८ तलासम्म घर निर्माण भएको छ, त्योपनि जोडेर । भक्तपुरका सडक यस्ता छन् कि ट्याक्सी पनि छिर्दैन । सानो गोरेटो बाटो राखेर घर निर्माण गरिएको छ ।
आगलागी भयो, कोही बिरामी पर्यो भने साह्रो समस्या छ । दमकल कहाँबाट छिराउने, एम्बुलेन्स कताबाट ल्याउने ? उपत्यकाको इतिहास केलाउने हो भने, यो नेवार समुदायको बसोबास रहेको ठाउँ हो । यहाँ विगतदेखि नै नेवार समुदाय बस्दै छन् । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले जन्मथलो तनहुँ हो ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मथलो भोजपुर र डा रामवरण यादवको धनुषा हो । पाँचचोटि प्रधानमन्त्री पद सम्हाल्ने काँग्रेसी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पर्छ । पटकपटक प्रधानमन्त्री बनिसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीको झापा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको कास्की हो ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल रौतहट र वरिष्ठ नेता झलनाथ खनाल इलाममा जन्मिएका हुन् । डा बाबुराम भट्टराई गोरखाका हुन् । जति पनि प्रधानमन्त्री भए, जम्मै बाहिरी जिल्लाका छन् । प्रधानमन्त्री ओली स्पेन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी काठमाडौंकै रैथाने प्रकाशमान सिंहलाई दिइएको छ ।
नेपालका अधिकांश नेताहरुले नेवारी समुदायबाट श्रीमती बिहे गरेको देखिन्छ । उदाहरणका लागि देशका वर्तमान प्रधानमन्त्री ओलीलाई नै लिऔं । उनी ब्राहमण हुन्, श्रीमती नेवार । झलनाथ खनाल, ईश्वर पोखरेललगायतकी श्रीमती पनि नेवार समुदायबाटै हुन् । पुर्खौंदेखि यही बसिरहेका नेवार समुदाय अहिले ठण्डाराम हुँदै गएका हुन्छ ।
पाँच दशकअगाडि दशौं रोपनी जग्गा भएकाहरु अहिले रित्तै छन् । किन कि उनीहरुले सबै जग्गा बेचिसके । अहिले उनीहरुसँग सम्पत्ति नै छैन । जसका कारण उनीहरु नयाँ घर बनाउन असमर्थ छन् । अन्य ठाउँको जग्गा बेचेर खाइसके, भएको त्यही एउटा घर छ । त्यो घर भत्कायो भने अर्को घर बनाउन जग्गा पुग्दैन ।
भएको त्यो एकदेखि तीन आना जग्गा पनि बाटोले खाने भएपछि उनीहरु ज्यानकै बाजी राखेर त्यस्ता घरमा बस्न बाध्य छन् । भक्तपुरतिर एउटै घर धेरै भाइमा भागबण्डा लगाएको पाइन्छ । तला–तला भागबण्डा गरिएको छ । यहाँका रैथानेहरु धेरै विस्थापित भइसकेका छन् ।
अहिले उपत्यकामा यहीँका रैथाने कम र बाहिरी जिल्लाबासी बढी छन् । राजनीति गरेर, व्यापार व्यवसायबाट कमाएर, सार्वजनिक, सरकारी, गुठी र ऐलानी जग्गा कब्जा गरेर बाहिरी जिल्लाबासीले यहाँ सम्पत्ति जोडे । उनीहरुले यहाँ घर बनाएपनि गाउँघरको सम्पत्ति बेचेका छैनन् । बिघा–बिघा जमिन भएको बताउँछन्, उनीहरु ।
त्यहाँ भएको घर भाडामा लगाइएको, खेतबारी कमाउन दिएको उनीहरुको भनाइ छ । उनीहरु बिहान–बिहान मर्निङ वाक हिँड्छन्, यहाँका स्थानीयचाँहि सडकमा साग बेच्न बस्छन् । यो अवस्था कसरी बन्यो त ? २०४८ देखि २०७९ सालसम्म भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले जीत हासिल गरिरहेको छ ।
तर, यो क्षेत्रमा बसोबास गर्ने ८० प्रतिशत बाहिरी जिल्लाका छन् । उनीहरुले जग्गा किनेर घर बनाइसकेका छन् । २० प्रतिशत यहाँका रैथाने बाँकी छन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले न आफ्ना मतदातालाई यही टिकाउन सके न उनीहरुका लागि केही सके । उनकै सामुन्ने त्यहाँका स्थानीय सुकुम्बासी बनिहाले ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको बुवाको घर तराई हो । तर, उनले काठमाडौंमा निर्वाचन जिते । यसले नै काठमाडौंबाट पनि नेवार समुदायको इतिहास मेटिँदै गएको छर्लङ्ग पारेको छ । नेपालीहरु धमाधम अमेरिका, अष्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक छिरिरहेका छन् । अधिकांशले त्यहाँको नागरिकता लिइसकेका छन् ।
त्यसलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धमाधम अन्य देशका नागरिकलाई फर्काउन थालेका छन् । त्यहाँको नागरिकताको मूल्य ५० लाख डलर तोकिएको छ । आफ्ना देशका नागरिक विस्थापित हुन सक्छन्, अन्य देशका नागरिकले आफ्नो भूभाग कब्जा गर्न सक्छ भनेरै उनले सो कदम चालेका हुन् ।
अष्ट्रेलियामा घर बनाउने नेपालीको संख्या निरन्तर बढ्दो छ । नेपाली नागरिकता त्यागेर उनीहरुले अष्ट्रेलियन नागरिक लिइसकेका छन् । बाउआमाले भ्रष्टाचार गरेर कमाएको कालो धनलाई अष्ट्रेलियामा सेतो धन बनाउने क्रम जारी छ । आफूले कमाएर किनेको भन्दै उनीहरुले यहाँको सम्पत्ति धमाधम ओसारिरहेका छन् ।
तर, सरकारले देख्दैन । जसरी नेवारी समुदाय काठमाडौं उपत्यकाबाट विस्थापित भए, अन्य मुलुकको नागरिकता लिएको नेपालीको हालत पनि त्यस्तै हुन बेर छैन । किन कि ट्रम्पले त्यो काम गरिसके । अन्य मुलुकले नगर्ला भन्न सकिन्न । विकसित मुलुक पठाउनेमा उपत्यकाबाहेकका जिल्लाबासी छन् ।
गाउँमा खाना नपुगेर उनीहरु काठमाडौं छिरे, उनीहरुले कमाए, काठमाडौंमा घरजग्गा जोडे, छोराछोरी बोर्डिङ्गमा पढाए, विदेश पठाए । अब त्यहाँका मान्छेलाई पनि विस्थापित गर्दैछन् । भनिन्छ नि,‘जहाँ कंगाल, त्यहीँ चण्डाल ।’ त्यही अवस्था बन्यो । यहाँका रैथानेले सस्तोमा जग्गा बेचे, अहिले त्यो जग्गा करोडौंमा जान्छ ।
आफ्नो सम्पत्ति कौडीको भाउमा उनीहरुले बाहिरी जिल्लाबासीलाई सुम्पिए । प्रकाशमान र नारायणमानलाई प्रश्न छ,‘आफ्ना जनतालाई जोगाउनुपर्दैन ? उनीहरुलाई रोजगारी र शिक्षा दिनुपर्दैन ?’ वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनाव जितेका हुन् ।
उनको घर पनि तनहुँ नै हो । तनहुँमा बढेको, पढेकाले काठमाडौंबाट चुनाव जिते । बाहिरी जिल्लाकाले काठमाडौंबाट चुनाव जितिरहँदा यहाँका रैथानेहरु कहाँ छन् ? काठमाडौं उपत्यकामा अहिलेपनि कतिपयले नेवारी भाषा मात्र बोल्छन् । उनीहरुलाई नेपाली बोल्न आउँदैन । तिनले आफ्ना संस्कृति छोडेका छैनन् ।
विडम्बना, आफ्ना ठाउँ भने छोड्नुपर्ने बाध्यता उनीहरुलाई आइलागेको छ । नेवार समुदाय संस्कृतिमा धनी समुदाय मानिन्छ । तर, रैथाने नेवारहरु नै विस्थापित बनेका छन् । अनि संस्कृतिको जगेर्ना गर्ने कल्ले ? गाउँ, शहर र विदेशमा घरजग्गा भएकाहरुको सम्पत्ति सरकारले खोताल्नुपर्छ । यसको स्रोत सरकारले पत्ता लगाउनुपर्छ ।
पहिलेपहिले भनिन्थ्यो,‘भक्तपुर, ललितपुर, कान्तिपुर ‘काठमाडौं’ र कीर्तिपुरको जनता उठेपछि मात्र देशको राजनीतिक परिवर्तन हुन्छ ।‘ र, यो पटकपटक साबित पनि भएको छ । देशमा राजनीतिक परिवर्तन गर्न नेवार समुदायको ठूलो योगदान छ । तर, उनीहरु सत्ताको प्रमुख पदमा कहिल्यै पुग्न सकेनन्, किन ?
सत्तामा पनि बाहिरी जिल्लाका , घरजग्गामा पनि बाहिरी जिल्लाका । उनीहरु सँधै हेरेको हेर्यै । तराईमा धेरै पहाडीले जग्गा किनेर घर बनाएका थिए । तराईबासीले पहाडीहरुलाई लखेट्ने आन्दोलन भयो । जसको परिणाम थियो–गौर हत्याकाण्ड । २०६३ चैत ७ गते २७ जनाको हत्या भयो ।
करोड पर्ने घरजग्गा कतिले लाखमा बेचेर हिँडे, कतिले त्यत्तिकै छोडे । उपत्यकाका नेवार समुदाय पनि बाहिरी जिल्लाका लखेट्नुपर्ने मनशायमा पुगेका छन् । सीमा नाघेपछि दुर्घटना हुन्छ । त्यो अवस्था यहाँ पनि आउन नसक्ला भन्न सकिन्न ।