कर नतिर्ने र रेमिट्यान्स नपठाउने निर्णयमा जनता, सरकारले अब कसरी आफ्नो खर्च धान्छ ?

अनुसा थापा
राज्यप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ । जनतालाई डेलिभरी दिन नसक्ने र राज्य सञ्चालकहरु भ्रष्टाचारमा मात्र रुमल्लिने प्रवृत्तिले जनता आजित भइसकेका छन् । त्यसैले जनताहरु पछिल्लो समय कर नतिर्ने निर्णयमा पुगेका छन् । आफूले तिरेको करको सदुपयोग नभएको अधिकांश जनताको निष्कर्ष छ ।

विदेशमा बसेका आफ्ना सन्तानलाई पनि पैसा नपठाऊ भन्नेसम्मका गफ सार्वजनिक स्थल, यातायात, चौतारा, चिया पसलमा चल्न थालिसकेको छ । राज्यलाई आम्दानी हुने कुनैपनि काम नगर्ने सर्वसाधारण बताउँछन् । घरजग्गा, गाडी र सेयर किनिदिँदा त राज्यलाई राजश्व आउने भो ।

जनताले तिरेको करबाट सरकारी कर्मचारी, जनप्रतिनिधिले तलब खाएका हुन्छन् । तर, तिनै जनतामाथि कर्मचारीहरु दमन गर्छन् । खाइनखाई जनताले तिरेको कर दुरुपयोग गर्ने काम वर्षौंदेखि चलिरहेको छ । जसका कारण जनता कर नै नतिर्ने निर्णयमा पुग्नुपरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा देशमा हामीले लोकतन्त्र गणतन्त्र ल्याएका हौं भन्छन् ।

यिनीहरुले ल्याएको कि १७ हजार जनताको बलिदानले आएको ? व्यवस्था परिवर्तनको नाममा जनताका छोराछोरीको बलि चढाएर यिनीहरुले मोजमस्ती गरिरहेका छन् । जुनसुकै नेता होस्, उनीहरु हिंसाबाटै आएका हुन् । मान्छे मारे, जेल परे अनि राजनीतिमा आए । मधेशी दलमा पनि कुनै फरक छैन् ।

जनता मारेर सत्तामा आएकाहरु अहिले ठूल्ठूला गफ गर्छन् । आफूले आतंक मच्चाएको नदेख्नेहरु अरुलाई ‘आतंककारी! भन्छन् । हुन त आफूले गरेको यहाँ जसलाई पनि सही नै लाग्छ । तर, जनताले त देखेका छन्, भोगेका छन् । देश विकास, सामान्तीहरुको नाश, जनताको आर्थिक अवस्थामा सुधार भनेर त्यत्रो आन्दोलन गरेर ल्याएको व्यवस्था नेताहरुको लागि कमाइखाने भाँडो बन्यो ।

नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे लिष्टमा परिसकेको छ । कारण के ? यही नेताहरुले गरेको भ्रष्टाचार होइन् ? नेताहरु भ्रष्टाचारी हुँदा सारा नेपालीले त्यसको परिणाम भोग्नुपरेको छ । यता, ग्रे लिष्टमा परेसँगै नेपाललाई आउने अनुदान र वैदेशिक ऋणमा ठूलो कमी आउँछ । किन कि दुनियाँले नेपाल भ्रष्टाचारीहरुको देश भन्ने थाहा पाइसक्यो ।

अर्कोतिर नेपालको वैदेशिक ऋण नै २७ खर्ब नाघिसकेको छ । जुन मुलुकको बजेटभन्दा पनि ठूलो छ । त्यसको साँवाब्याजबापत वर्षेनि खर्बौं रुपैयाँ बुझाउनुपर्छ । जनताले कर नै तिर्न छोडे भने सरकारले कहाँबाट ल्याएर किस्ता बुझाउँछ ? भुक्तानी रोकिएको समस्याले उग्र रुप लिँदै गएको छ ।

निर्माण व्यवसायी, दूध र उखु किसान, कोरोना बीमक अस्पतालहरु पैसा पाएर तनावमा छन् । उनीहरु कहिले पत्रकार सम्मेलन गरेर सरकारलाई चेतावनी दिन्छन्, कहिले आन्दोलनमा उत्रिन्छन् । तर, रित्तिएको ढुकुटीबाट राज्यले के दिओस् ? उता, निजामती कर्मचारीहरुले पनि समयमा तलब नपाएको गुनासोहरु सुन्नमा आइरहेको छ ।

ज्येष्ठ नागरिकलाई भत्ता दिन सरकारसँग पैसा छैन् । भूपू कर्मचारीहरु आफ्नो पेन्सन काटिने तनावमा छन् । महालेखा नियन्त्रकको कार्यालयले राज्यको आम्दानीभन्दा खर्च दोब्बर भो भनेको भन्यै छ । यद्यपि, राज्य सुन्दैन् । अब जुनसुकै व्यवस्था आएपनि देश ट्रयाकमा आउनेवाला छैन् ।

सरकारले ‘खान’ भन्दा केही जानेको छैन् । देश ऋणको दलदलमा फसिसक्दासमेत यिनीहरु सचेत भएका छैनन् । अझैपनि हलुकामा लिइरहेका छन् । अबको एकाध वर्षमा वैदेशिक ऋण दोब्बर हुन्छ । ऋण तिर्न सकिँदैन् । देश झनै बिमार हुँदै जान्छ । अर्थतन्त्र डामाडोल हुन्छ । अनि विदेशीले ऋण पनि पत्याउँदैन् ।

त्यसपछि यी राज्यको दोहनकर्ताहरु आफैं देश छोडेर टाप कस्छन् । जनताले केही गर्नै पर्दैन् । अब देशमा विकास त अकल्पनीय कुरा । विकास गर्न त बजेट पनि हुनुपर्यो नि । बजेट छ कि छैन् ? त्यहाँ त्यो भौतिक पूर्वाधारको आवश्यक छ कि छैन् ? अध्ययन गरिएन् । जहाँ मनलाग्यो, त्यही भवन बनाइएको छ ।

कतै मान्छेको २४ सैं घण्टा आवतजावत हुने ठाउँमा पुल छैन्, कतै खातैखात छ । यस्तो पनि हुन्छ दीर्घकालीन विकास ? कमिशनका लागि नेता र ठेकेदारहरु एकजुट हुने अनि काम अघि बढाउने । बिनाकाम गगनचुम्नी भवन ठड्याएका छन् । त्यो भवनबाट के आम्दानी हुन्छ ? राज्यको ढुकुटीलाई नेताहरुले आफ्नो गोजीको पैसा जस्तो सोचेर खर्च गरे ।

राजश्व उठ्न छोडेको थाहा हुँदाहुँदै पनि कमिशनका लागि धमाधम ठेक्कापट्टामा दिने काम भयो । अब अहिले राज्यलाई नै ‘निल्नु न ओकाल्नु’ भएको छ । निर्माण व्यवसायीहरु पैसा नपाएमा निर्माण भएका भवन, पुल, बाटोघाटो भत्काउने भनि तातिएका छन् । अब भनौं विकास भयो कि विनास ?

नेपालीमा एउटा उखान छ,‘घाँटी हेरेर हाड निल्नू ।’ तर, सरकारले त्यो कुरा बुझेन् । आम्दानी छैन्, खर्च बढाएको बढाएै । जुन सरकारकै लागि गलाको पासो बन्न पुगेको छ । प्रतिनिधि सभामा पहिले १६५ जना सांसद हुन्थें । त्यसलाई बढाएर २७५ पुर्याइयो । पञ्चायतकालमा प्रधानमन्त्रीसहित सात जना मन्त्रीले देश चलाउँथे ।

त्यतिबेला जनप्रतिनिधिहरुले कुनै सेवासुविधा लिँदैन्थें । सांसदहरु हिँडेर सदन पुग्थें । अब अहिले त हरेक जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्म सरकारी गाडी चढ्छन् । अब अहिले देश सात प्रदेशमा बाँडिएको छ । ७५३ स्थानीय पालिका छ । देशमा ३६ हजार त जनप्रतिनिधि मात्रै छन् ।

एउटा जनप्रतिनिधिले ५० हजारदेखि तीन लाखसम्म तलब खान्छन् । अनि कसरी थेग्छ ? आफ्नो कार्यकर्तालाई खुशी बनाउनका निम्ति पद थप्ने अनि त्यसको भर्पाइचाँहि जनताले गरिदिनुपर्ने ? जनप्रतिनिधि बनाएर देशलाई के फाइदा भयो ? झन् देश कंगाल भयो । जनताले तिरेको कर जनप्रतिनिधिलाई तलबभत्ता खुवाउन र सेवासुविधा दिन पुग्दैन् ।

देश विकास कहाँबाट हुन्थ्यो ? करारको नाममा नेताहरुले आफ्ना कार्यकर्ता भर्ती गरे । तर, जनताले त्यो कुरा बुझेनन् । ज्येष्ठ नागरिक भत्ता पाउँदा मख्ख परे । सञ्चारकर्मी विज्ञापन पाउँदा खुशी भए । जनता कार्यकर्ता बन्द दंग भए । अनि देश सक्किनु स्वाभाविकै हो । यो ठ्याक्कै ‘जब पर्यो राति, तब बुढी ताँती’ जस्तै भयो ।

बेला हुञ्जेल रमिता हेरेर बसे, आफूले पनि खाए अनि जब सबै सकिसक्यो तब तात्नुको के औचित्य ? देश डुबाउनु सकेको कुरा हरेक जनताले बुझिसकेका छन् । त्यसैले, पैसा खुवाएर भृकुटीमण्डपमा ल्याएर शक्ति प्रदर्शन गर्नुको कुनै अर्थ छैन् । आफ्नो विरोध गर्नेलाई पनि जेलमा हाल्छ, चेक बाउन्सको कसूरमा जेल भरिएको छ ।

जेल हालेपछि उनको खाने खर्च सरकारले व्यहोर्नुपर्छ । सरकारको भार बढ्यो कि बढ्ेन् ? बिरामी हुँदा उपचार गर्नुपर्छ । सरकारलाई खबरदारी गर्नु जनताको अधिकारको कुरा हो । नेताहरुले देश लुटेर खाँदा केही नहुने, जनता त्यसको विरोधमा बोल्दा जेल जानुपर्ने ? यो कहाँको कानुनी शासन हो ?

चेक बाउन्सको मुद्दा सरकारले किन हेर्नुपर्यो ? मीटरब्याजमा पैसा लगाउने अनि पैसा तिर्न नसक्नेविरुद्ध चेक बाउन्समा मुद्दा हाल्ने । बरु त्यो मीटरब्याजमा पैसा लगाएर जनताको बास उजाड्नेहरुलाई चाँहि नियन्त्रणमा लेऊ । देशका नेताहरु हुनेखाने परिवारका होइनन् । वर्षौंसम्म एकजोर कपडा फेर्न नसक्नेहरु आज अर्बौंको मालिक छन् ।

अनि यिनीहरुको आज रोपनीमा दरबारजस्तो घर छ । यिनीहरुको यत्रो सम्पत्ति कहाँबाट आयो ? यो सरासर भ्रष्टाचार होइन् ? हामी देश र जनताको सेवा गर्न आएको भनि अझैं भ्रम छोडिरहेका छन् । अब भनौं लोकतन्त्र गणतन्त्र जनतालाई आएछ कि नेता रुपी भ्रष्टाचारीहरुलाई ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *