धितो नबिकेर बैंक, वित्तीय संस्था तनावमा, बन्द कोठामा बसेर गर्भनर र अर्थमन्त्रीको झुट्टा आश्वासन !

रुषा थापा
बाटोमा हिडँ्डुल गर्दा अधिकांश ठाउँमा देखिन्छ, ‘घरजग्गा बिक्रीमा’, ‘जग्गा बिक्रीमा’ । खाली जग्गामा बोर्ड गाँडिएर माथि सम्पर्क नम्बरसहित ‘जग्गा बिक्रीमा’ भनी लेखिएको हुन्छ । त्यस्तै, घरको झयाल, ढोका, भित्ता वा गेटमा ‘घरजग्गा बिक्रीमा’ भनी लेखेर टाँसिएको पाइन्छ । अहिले यो जताततै देखिन्छ । काठमाडौं उपत्यकाभित्र होस् या बाहिरी जिल्लामा ।

यता, सवारीसाधन मर्मत केन्द्र वर्कशपसहित नयाँ तथा पुराना गाडी बेचबिखन गर्ने अटो शोरुमलगायत गाडी बिक्री गर्ने कम्पनीहरुमा पनि अचेल बाहिर सिसामा ‘गाडी बिक्रीमा’ भनेर लेखिएको देखिन्छ । कतिपय कम्पनीले त सार्वजनिक स्थलका भित्ताहरुमा कम्पनीको नाम, नम्बरसहित ‘गाडी बिक्रीमा’ भनी लेखेर टाँसेको पनि पाइन्छ ।

पछिल्लो समय घरजग्गा र गाडीमा मन्दी रहेको सबैलाई थाहै छ । तर, यस्तोसम्मको परिस्थिति आइसकेको भनेर मानिसले कल्पनासमेत नगरेको हुनसक्छ । घरजग्गा, गाडीको मूल्य लगातार घटिरहेको अवस्था छ । किनबेच ठप्प भइसक्यो । चिया पसलदेखि बस, सार्वजनिक स्थानहरुमा घरजग्गा, गाडी र सेयरकै चर्चा छ । जताततै घरजग्गा, गाडी बेच्न चाहने भेटिन्छन् ।

किन्ने शून्यझैं छन् । घरजग्गा, गाडीको मूल्य आधाले घटेपनि बिक्री भइरहेको छैन । चार वर्षअघि तीन करोड मूल्य पर्ने घडेरी अहिले त्यसको आधा मूल्यमा झरेको छ । तैपनि, बिक्री नभइरहेको अवस्था छ । गाडीको मूल्य पनि घट्दो क्रममा छ । बजारमा गाडीको किनबेच स्वाट्टै घटेको छ । किनबेच नभएसँगै मूल्य घट्नु स्वभाविक पनि हो । बैंक तथा वित्तिय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा रहेको प्रष्टै छ ।

तर, अहिले ऋणीले ऋण नतिरेपछि बैंक, वित्तिय संस्थाले लिलाम गरेको धितोसमेत बिक्री भइरहेको छैन । बैंकलाई धितो बिक्री गर्न धौंधौं परेको छ । सस्तोमा बेच्न खोज्दासमेत ग्राहक नपाएको अवस्था छ । बजारमा घरजग्गा, गाडी र सेयर किन्ने एक जना पनि छैन । बैंक, वित्तिय संस्था संकटमा परिसकेका छन् । सहकारीजस्तै बैंक पनि छिट्टै टाट पल्टिने दिन आएको छ । सहकारी भाग्दा त करोडौं जनता डुबे ।

अब बैंक टाट पल्टिएमा कति करोड जनताको रुवाबासी हुने हो ? बैंक, वित्तिय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंक बैंक, वित्तिय संस्थामा कुनै समस्या नरहेको दाबी गर्छ । बैंक, वित्तिय संस्था ठिकठाक छ कि छैन ? भनेर बुझ्न बजार आवश्यक छ । किनकि बजारले परिस्थितिले यसबारे बताउँछ । अहिले बजारमा मन्दी छ । घरजग्गा, गाडी र सेयरको किनबेच ठप्प छ । फेरि बैंक, वित्तिय संस्थाको लगानी यीनै तीन क्षेत्रमा छ ।

ऋणीले ऋण नतिरेपछि अहिले बैंक, वित्तिय संस्थाहरु धितो बिक्री गर्न लागिपरेका छन् । सस्तोमा बेच्न खोज्दा समेत ग्राहक नपाएर तनाव छ । बैंकका कर्मचारीहरुमै बैंक छिट्टै टाट पल्टिने चर्चा शुरु भइसकेको छ । अधिकांश बैंकका कर्मचारी नाम नबताउने शर्तमा आफूहरुको बैंकमा समस्या देखिन थालिसकेको बताउँछन् ।

अनि राष्ट्र बैंक चाँहि अहिले पनि जनतालाई भ्रममा पारिरहेको छ । रोचक कुरा चाँहि के हो भने गर्भनर महाप्रसाद अधिकारी कहिल्यै बजारमा निस्किँदैनन् । उनलाई बजारको अवस्थाबारे केही थाहै छैन । अनि बजारै ननिस्किने व्यक्तिले बन्द कोठामा बसेर बैंक, वित्तिय संस्था ठिकठाक रहेको दाबी गर्नु आफैंमा हास्यास्पद छ । भनिन्छ नि सूर्यलाई हातले छेकेर छेकिँदैन । अनि डुबिसकेको बैंकलाई नडुबेको दाबी गरेर मात्र हुन्छ त ।

कानूनमा सवारीसाधन दर्ता भएपछि त्यसको मूल्य घट्छ । अर्थात् वर्षौपिच्छे २५ प्रतिशतका दरले मूल्य घट्छ । घरमा पनि यस्तै हुन्छ । उदाहरणका लागि एक वर्षअघि दुई करोडमा बनेको घर एक वर्षपछि २५ प्रतिशतको दरले मूल्य घट्छ । यद्यपि, दलालीहरुले कानूनको धज्जी उडाउँदै दिनमा दुई र रातमा दश गुणासम्म घरजग्गा र गाडीको मूल्य बढाए । यो झण्डै चार वर्षअघिको कुरा हो ।

त्यतिबेला घरजग्गा र गाडीको मूल्य एक महिनामै दोब्बर–तेब्बरले बढ्यो । मूल्य बढेको देखेपछि सबैको आकर्षण यही क्षेत्रतर्फ मोडियो । मानिसहरुले ऋण लिएर दलालीले जे भन्यो, त्यति नै तिरेर घरजग्गा र गाडीमा लगानी गरे । बैंक, वित्तिय संस्थाहरुले पनि आँखा चिम्लेर कर्जा गर्यो । छिट्टै धनी हुने लोभमा न सर्वसाधारणले कानून अध्ययन गरे न त बैंक, वित्तिय संस्थाहरुले । अहिले यसैको परिमाण उनीहरुले भोगिरहेका छन् ।

पछिल्लो समय घरजग्गा, गाडीको मूल्य लगातार घटिरहेको छ । किनेको आधा मूल्यमा समेत बिक्री भइरहेको छैन । अझै यसको मूल्यमा गिरावट आउने विज्ञहरु बताउँछन् । कुनै समय सेवाग्राहीको चाप थेगिनसक्नु हुने मालपोत र यातायात कार्यालय अचेल सुनसान देखिन्छन् । त्यसो त सेवाग्राहीको अत्याधिक चाप हुने यी कार्यालयमा जान कर्मचारीहरुबीच पनि हानाथाप हुने गर्दथ्र्यो । किनकि यो कार्यालयमा सबैभन्दा बढी घुसको लेनदेन हुन्छ ।

तर, अहिले सेवाग्राही आउनै छोडेपछि कर्मचारीहरुले घुस पनि पाउन छोडेका छन् । अचेल मालपोत र यातायात कार्यालयमा नजान कर्मचारीहरुबीच लडाई हुने गरेको छ । घरजग्गा, गाडीको किनबेचमा मात्र मन्दी आएको छैन । व्यापार व्यवसाय ठप्पै भएको छ । उपत्यकासहित देशभर सटर, कोठा र फ्ल्याट खाली हुने क्रम बढेको छ । बजार सुनसान छ । अहिले दुई ठाउँमा मात्रै मानिसहरुको भीड देखिन्छ ।

एउटा राहदानी बनाउने ठाउँ, अर्को एयरपोर्ट । युवाहरु विदेशिरहेका छन् । गाउँदेखि शहरसम्म बुढापाका र बालबच्चा मात्रै छन् । देशमै बस्न चाहेपनि एकातिर रोजगारी छैन । अर्कोतिर काम पाएपनि तलब दिइँदैन । यसले देशका युवाहरु बाध्य भएर विदेश पलायन भइरहेका छन् । त्यसो त तीनै युवाहरुले पठाइरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ ।

बैंक, वित्तिय संस्थामा त संकट आयो नै मुलुकको अर्थतन्त्रसमेत ध्वस्त भएको छ । यदि खाडीमा गएका हाम्रा नेपाली दाजुभाई, दिदीबहिनी, आमाबुबाहरुले रेमिट्यान्स नपठाएको भए उहिल्यै देश टाट पल्टिसकेको हुन्थ्यो । अहिले बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको छ । विदेशी मुद्राहरु पनि लुकाइएको सुन्नि आएको छ ।

सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ । उनीहरुलाई न जनताको मतलब छ न देशको चिन्ता । सत्तामा बस्न पाइन्छ कि पाइँदैन ? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन ? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन ? भन्ने मात्र चिन्ता सरकारमा बसेका वा बाहिर रहेका राजनीतिक दलहरुमा छ ।

त्यसैले, अब जनताले आफ्नो सम्पत्तिको सुरक्षा आफैं गर्नुपर्छ । गर्भनर महाप्रसाद अधिकारी र अर्थमन्त्री विष्णु पौडेलको झ्ट्टा आश्वासनमा परेर सहकारीमा जसरी बैंकमा आफ्नो रकम डुबाउनु हुन्न । चलाखौं हौं, आफ्नो पैसाको सुरक्षा आफैं गरौं । ब्याजको लोभमा नपारौं, साँवाको चिन्ता गरौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *