हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
![](https://fairnepal.com/wp-content/uploads/2025/02/Thagi.jpg)
रोजगारी दिने नाममा शोषण, आफ्नाबाटै ठगिँदै अधिकांश
रुषा थापा
बाटोमा हिँड्दा बिजुलीका पोल, मठमन्दिर वा सार्वजनिक स्थलका भित्तामा विभिन्न खालका पोस्टर देखिन्छन् । अधिकांश पोस्टरमा कर्मचारी आवश्यकता लेखिएको हुन्छ । त्यहाँ कक्षा १० देखि १२ पाससम्मका विद्यार्थीलाई मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म तलब दिने र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ड्युटी अवधि हुने उल्लेख हुन्छ ।
योसँगै कोठा, सटर र फ्ल्याटका लागि सम्पर्क गर्नुहोला भनी पोस्टर टाँसेको पनि पाइन्छ । अझ कोठा, सटर र फ्ल्याट खोज्नका लागि भनेरै अहिले त अफिस समेत खुलिसकेका छन् । देशमा बेरोजगार युवाहरुको संख्या बढ्दो क्रममा छ । उपत्यकामा सटर धमाधम खाली भएपनि एउटा कोठा पाउन अझै मुस्किल छ । बेरोजगारीका कारण तनावमा रहिरहँदा वा महिनौं खोज्दा पनि कोठा नपाएपछि यस्ता पोस्टरमा विश्वास मानिसहरु त्यसमा सम्पर्क गर्छन् ।
अनि सम्बन्धित व्यक्तिले भनेको ठाउँमा पुग्छन् । त्यहाँ पुगेपछि उनीहरुलाई पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म तिर्न लगाइन्छ । त्यो पैसा फारामको भनिन्छ । फाराम भरेपछि निश्चित समयमा जागिर वा कोठा पाइने आश्वासन दिइन्छ । तर, महिनौं बित्दा समेत न जागिर पाइन्छ न कोठा । अहिले अधिकांश मानिसहरु यसरी ठगिएका छन् । बेरोजगारीले भौंतारिरहेको अवस्थामा उनीहरुलाई नै ठग्ने काम गरिरहेको छ ।
यता, कोठा खोजिदिए पनि भाडा तिरिसक्नु हुँदैन । आठ हजार रुपैयाँ मासिक भाडा नपर्ने कोठालाई १२ हजार रुपैयाँ असुल्छन् । अनि घरधनीसँग पनि कमिशन खान्छन् । फेरि घरधनी र कम्पनीबीच सम्झौता भाडिएमा डेराबहाल तुरुन्त सर्नुपर्छ । कतिपय कम्पनीले काम लगाइदिएपनि आधा तलब उनीहरु आफैंले लिन्छन् । किनकि कम्पनीमार्फत गएपछि त्यो व्यक्तिको तलब कम्पनीकै खातामा हालिन्छ ।
अनि कम्पनीले आधाभन्दा राखेर बाँकी तलब श्रमिकलाई दिन्छ । बेरोजगारीको फाइदा उठाएर सीमित कम्पनीहरुले सोझासाझा सर्वसाधारणको रगतपसिनामाथि लुटतन्त्र मच्याइरहेका छन् । यद्यपि, सरोकारवाला निकायहरु मौन छन् । जनता ठगिँदा, लुटिदा र शोषित हुँदा पनि कसैलाई केही चासो छैन । सरकारमा बसेकाहरुलाई कसरी कुर्सी जोगाउने मात्र चिन्ता छ । सरकार गतिलो नभएपछि जनताले दुःख पाउनु स्वभाविक पनि हो ।
बैंक, वित्तिय संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट, निजी संघसंस्थालगायतमा सुरक्षाकर्मी खटिएका छन् । दिनरात नभनी उनीहरु काम गर्छन् । दशैं, तिहारजस्तो नेपालीजनको महान् चाडमा समेत उनीहरुले बिदा पाउँदैनन् । बिहान ७ बजेदेखि बेलुका १० बजेसम्म उनीहरुलाई काममा खटाइन्छ । तर, तलब चाँहि उनीहरुले मासिक आठ हजारदेखि बढीमा १५ हजार रपैयाँ पाउँछन् । रोचक कुरा चाँहि के छ भने उनीहरुको तलब भनेर सम्बन्धित बैंक, वित्तिय संस्थाहरुले मासिक २० हजारदेखि ३५ हजार रुपैयाँसम्म सम्बन्धित कम्पनीलाई भुक्तानी गर्छन् ।
यसरी कम्पनीले आधाभन्दा बढी रकम राखेर उनीहरुलाई तलब दिन्छ । अचेल सुरक्षाकर्मी होस् या अन्य कामदार कम्पनीमार्फत खटाइन थालिएको छ । बाहिरका मान्छेमाथि हत्तपत्त विश्वास गरिँदैन । अनि वर्षमा यति कामदार यो कम्पनीबाट ल्याइने भनेर पहिल्यै सम्झौता गरिसकेको हुन्छ । सम्झौता गरेपछि व्यक्तिहरु जागिर माग्दा त्यहाँ पुगेमा त्यहाँ ठाउँ खाली भएपछि रोजगारी दिइँदैन ।
भनिन्छ, कम्पनीमार्फत आउनू । बेरोजगारीका थिचेपछि मानिसहरु कम्पनी जान बाध्य हुन्छन् । त्यहाँ दुई हजार रुपैयाँसम्म तिरेर फाराम भर्छन् । अनि फाराम बुझाएको हप्ता दिनमा कम्पनीमार्फत फोन आउँछ । कम्पनी पुगी सम्बन्धित व्यक्ति भेटिन्छ । त्यहाँ उनीहरुलाई शुरुमै एउटा डकुमेन्टमा हस्ताक्षर गर्न लगाइन्छ । भनिएको छ, कामको बखत केही घटना, दुर्घटना भएमा सोको जिम्मेवारी कम्पनीले लिने छैन ।
बेरोजगारीका खान नपाइरहेको अवस्थामा मानिसहरु जोखिम मोलेर भएपनि काम गर्न तयार हुन्छन् । र, इमान्दारिताका साथ खट्छन् । दुर्भाग्य दिनरात मेहेनत उनीहरु गर्छन्, तलब चाँहि कम्पनीले आधाबढी पचाउँछ । दलालहरुको बिगबिगी जताततै बढेको छ । अहिले हरेक क्षेत्रमा बिचौलिया हाबी भएका छन् । हुन त यहाँ आफन्तबाटै आफन्त ठगिएका छन् । आफन्तबाटै अधिकांश पीडित बनेको पाइन्छ ।
रोजगारीको खोजीमा पछिल्लो समय विदेश जाने क्रम ह्वात्तै बढेको छ । जोकोही विदेश गइरहेका छन् । तर, यसको फाइदा सीमित दलालहरुले मज्जाले उठाइरहेका छन् । विदेश पठाइदिने नाममा सोझासाझा जनतालाई ठगिएको छ । ऋण गरेर विदेश जान भनी लिएको रकम दलालीहरुले पचाइदिँदा अधिकांश मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । यसमा पनि अधिकांश आफ्नै साथीभाई वा आफन्तबाट ठगिएको पाइन्छ ।
फेरि आफन्तविरुद्ध उजुरी पनि त कसरी दिनु ? अचेल राम्रो विद्यालयमा भर्ना गरिदिने बहानामा पनि लाखौं रकम ठगिएको सुनिन्छ । यसमा पनि अधिकांश आफन्तबाटै ठगिएका छन् । घरधनीहरु डेराबहाललाई भन्छन्, फलानो पसलबाट सामान किन्नुस् । त्यहाँ निकै राम्रो र सस्तोमा सामान पाइन्छ । घरबेटीको विश्वास गरेर डेराबहालले त्यँही पसलबाट सामान किन्छ । तर, उसलाई के थाहा कि घरधनीले त्यो पसलबाट कमिशन खाएको छ । सरकारी कार्यालयमा घुसझैं निजी क्षेत्रमा पनि कमिशनको प्रवृत्ति मौलाएको छ । अचेल कमिशनबिना केही कामै हुँदैन । कमिशनको लोभमा नराम्रा वस्तुको समेत प्रचारप्रसार गरिन्छ ।
यो अहिले हरेक क्षेत्रमा छ । हार्डवेयर पसलदेखि गिट्टी, बालुवा, रोडालगायत विभिन्न व्यापार व्यवसायमा संलग्नहरुले आफ्नो सामान बिकाउन सीमित व्यक्तिलाई प्रचारप्रसार गर्न लगाई नराम्रो सामान समेत महँगोमा बेचिरहेका छन् । त्यसो त पार्टी प्यालेस, होटल, रेस्टुरेन्टमा पनि कमिशनको खेल हुन्छ । फलानो पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट राम्रो छ भन्दै ग्राहक लगिन्छ अनि व्यवसायीबाट कमिशन खाइन्छ ।
यसको ज्वलन्त उदाहरण सहकारीका बचतकर्ताहरु पनि हुन् । उनीहरु आफ्नै आफन्त वा परिवारका कारण डुबेको बताउँछन् । भन्छन्, ‘मैलें जेठानको विश्वासमा परेर सहकारीमा बचत गरे । अहिले पैसा डुबेपछि जेठानले वास्तै गरेन ।’ कतिपय भने साथीभाई वा अन्य आफन्तको विश्वासमा परेर बचत गरेको बताउँछन् ।
अहिले कोही न कोही कतैबाट ठगिएकै पाइन्छ । कोही विश्वासमा परेर ठगिएका छन् भने कोही सेवा पाउने आशामा ठगिएको भेटिन्छ । देशमा विकास हुन सकेन । तर, ठग्ने आईडिया चाँहि दिनमा दुई र रातमा दश गुणाले बढिरहेको छ । अब आफ्नै आफन्त वा चिनजान भएकैबाट जोगिन गाह्रो भएको छ ।
किनकि अहिले सबैभन्दा बढी चिनजान भएकै व्यक्ति वा आफन्तबाट ठगिन्छ । कमिशन र पैसाको लोभलालचमा मानिसहरुले आफ्नो धर्म बिर्सिएका छन् । मानवता हराउँदै गएको छ । विश्वासघात गर्नेहरु बढिरहेका छन् । यो अझै बढिरहेमा भविष्यमा आफन्त भन्ने शब्द समेत हराउने छ । अहिले नै अधिकांश आफन्त भन्नासाथ चिढिन्छन् ।