हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
रोजगारी र घुमफिरको बहाना बनाएर धमाधम विदेश भाग्दै ठग सहकारी पदाधिकारीहरु, सरकार नै भिसा दिएर भगाउँदै !
रुषा थापा
अहिले बैंक, वित्तिय संस्था तथा सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु विदेशिने क्रम बढ्दो छ । दिनहुँ सयौंको संख्यामा बैंक, लघुवित्त, फाइनान्स र सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु विदेश गइरहेका छन् । कोही घुमफिरका लागि भनी विदेश गएको पाइन्छ त कोही रोजगारीको खोजीमा ।
करोडौं जनताको खर्बौ रकम सहकारीमा डुबेको छ । देशभर ३५ हजार बढी सहकारी दर्तामा रहेका छन् । यी सहकारीमध्ये आधाभन्दा बढी भागिसकेका छन् भने नभागेका सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । सहकारीकै कारण सर्वसाधारणको बिचल्ली भएको छ । रगतपसिना बगाई कमाएको पैसा थोरै भएपनि ब्याज आउने प्रलोभनमा सहकारीमा राख्दा आज ती बचतकर्ताको रुवाबासी चलेको छ ।
सहकारीले गर्दा अधिकांश आत्महत्यासम्मको अवस्थामा पुगेका छन् । पैसा आउने आशा मर्दै गएपछि कतिपयले त ज्यानै समेत फ्यालिसकेका छन् । कोही भने डिप्रेसनमा गएका छन् । सहकारीमा पैसा भएर के गर्नु, जब त्यो रकम आपतविपतमा काम नै लागेन । मानिसहरुले आपतविपतमा काम लाग्छ भनी सहकारीमा बचत गरेका थिए । तर, सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु एकाएक फरार हुँदा अहिले अधिकांश बचतकर्ताले उपचार खर्च नहुँदा ज्यान गुमाउनुपरेको छ ।
सहकारीले सर्वसाधारणको घरबार तहसनहस पारिदिएको छ । तर, सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु भने विदेशमा बसेर रमिता हेरिरहेका छन् । जनतालाई घर न घाटको अवस्थामा पुर्याएर घुमफिरका लागि विदेश जानु कति उचित हो ? अहिले सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु विदेश जाने क्रम ह्वात्तै बढेको छ । अध्यक्ष र सञ्चालकहरु घुमफिरका लागि विभिन्न विकसित मुलुक जाँदा कर्मचारीहरु भने रोजगारीका लागि गएको पाइन्छ ।
जनताको पैसा डुबाएर, उनीहरुलाई तहसनहस पारिदिएर वा उनीहरुको घरपरिवार लथालिंग पारेर सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु विदेश जान पाइन्छ ? सरकारले यीनीहरुलाई समातेर जेल थुन्नुपर्ने हो । विडम्बना, सरकार आफैं बचतकर्ताको रकम खानेहरुलाई भिसा दिएर देशबाट भगाउन सहयोग गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु स्थलमार्ग हुँदै विभिन्न देश पुगेका छन् ।
समस्याग्रस्त घोषणा नभएका तर बचतकर्ताको रकम फिर्ता नदिएका सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु भने घुमफिरको बहाना बनाएर हवाई मार्ग हुँदै विभिन्न देश गएका छन् । जसका कारण बचतकर्ताहरु मारमा परेका छन् । प्रहरीमा रिपोर्ट नदिएमा आफूहरुको रकम फिर्ता हुने आश्वासन ती सहकारीका पदाधिकारी र कर्मचारीले दिएका थिए ।
त्यसैले, बचतकर्ताले विश्वासमा परेर सहकारीविरुद्ध कही कतै उजुरी दिएनन् । तर, अहिले सहकारीका पदाधिकारी र कर्मचारी नै विदेश भागेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् । उनीहरुमा आफ्नो रकम फिर्ता आउने आशा त मरिसक्यो सँगै ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु कारबाहीको दायरामा आउने विश्वास पनि रहेन ।
किनकि सहकारीको पैसा हिनामिना गरेर फरार रहेका एउटै व्यक्ति (जीवी राई) लाई समेत सरकारले वर्षौसम्म पक्राउ गर्न नसक्दा विदेश भागेका यत्रा सहकारी अध्यक्ष, सञ्चालक र कर्मचारीहरु पक्राउ पर्ने आशा कमै मात्र गर्न सकिन्छ । हिजो करको लागि सरकारले सहकारी खोल्न अनुमति दियो । त्यसो त सत्ता सञ्चालक वा राजनीतिक दलका नेता र कार्यकर्ताहरुकै सहकारीमा धेरै लगानी रहेको पाइन्छ ।
सहकारीमार्फत जनता डुबाउनेमा अरु कोही नभई यीनै हुन् । जनता त सोझा छन् । सरकारले जे भन्यो, जनताले त्यसैमा विश्वास गरे । टोलटोलमा सहकारी, घरघरमा धानको भकारी नारासहित सरकारले सहकारीमा बचत अभियान चलायो । जनतालाई जबरजस्ती बचत गर्न लगाइयो । ब्याजको प्रलोभन दिइयो । सहकारीमार्फत मानिसहरुको उन्नति र प्रगाति भएको देखाइयो । त्यसको विश्वास गरेर सोझासाझा जनताले सहकारीमा बचत गरे ।
सहकारीमा एउटै व्यक्तिले लाखदेखि करोडसम्म बचत गरेका थिए । कोहीले दिनभर जागिर गरेर कमाएको पैसा जम्मा गरेका थिए भने कतिपयले घरजग्गा बेचेको पैसा । अहिले सहकारी भाग्दा वा सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरु सम्पर्कविहीन हुँदा ती बचतकर्ताहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । उनीहरु दिनरात रुन्छन् । तर, रुनु त समस्याको समाधान होइन नि ।
फेरि सहकारीमा डुबेको पैसा फिर्ता आउने आशा पनि निकै कम छ । अहिले अधिकांश बचतकर्ता भन्छन्, ‘हाम्रो पैसा त डुब्यो । तर, त्यो पैसा डुबाउनेलाई चाँहि सरकारले कारबाही गरोस् ।’ ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कारबाही गर्न बचतकर्ताहरु हारगुहार गरिरहेका छन् । दुर्भाग्य सरकार भने पीडितको साथ नदिई ठगहरुको पक्षमा काम गरिरहेको छ । सरकार आफैं ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई भिसा दिएर विदेश भगाइरहेको छ । देखाउने दाँत एउटा र पचाउने दाँत अर्के भनेझैं सरकारको पनि दोहोरो चरित्र देखिएको छ ।
सरकार एकातिर भन्छ, हामी ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीलाई कारबाही गछौं । अर्कोतिर भने आफैं भिसा दिएर उनीहरुलाई भगाउन सहयोग गर्छ । सरकार नै ठग सहकारीका पदाधिकारीको पक्षमा लागेपछि जनताको पैसा फिर्ता आउँछ भनेर आशा गर्नु पनि आफैंमा हांस्यास्पद छ । सहकारीमा बचत गरेकाहरु विगत चार वर्षदेखि पीडामा छन् ।
यस अवधिमा उनीहरुले प्रहरीदेखि सहकारी विभाग, सहकारी मन्त्रालय, स्थानीय तहसम्ममा उजुरी दिए । आफ्नो बचत फिर्ताका लागि सक्दो प्रयास गरे । तर, सरकार सहकारीका बचतकर्ताप्रति जिम्मेवार नभई ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीको पक्षमा लागेको देखिन्छ । अब बचतकर्तामा रकम फिर्ता आउने आशा समेत हराएको छ ।
सहकारीले एक–दुई जनालाई मात्र पीडित बनाएको छैन । हजारौं सहकारीबाट करोडौंको संख्यामा बचतकर्ताहरु पीडित भएका छन् । सहकारीमा सर्वसाधारणको खर्बौ रकम डुबेको छ । एउटा सहकारीमा ३५ जनादेखि तीन सय जनासम्मले काम गर्थे । सहकारीमा समस्या देखा परेपछि अहिले ती कर्मचारीहरुले देश छोडिसके । उनीहरु रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
सहकारीपछि अहिले बैंकमा संकट देखिन थालेको छ । योसँगै कतिपय बैंक तथा वित्तिय संस्थाका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु पनि देश छोडेर भागेको पाइन्छ । सहकारीमार्फत जनताको पैसा डुबाउने वा पचाउनेहरु हजारौंको संख्यामा छन् । तर, सरकार भने रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीको पछाडि मात्र लागिपरेको छ ।
अन्य ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीलाई भगाउन सरकार आफैं मद्दत गर्छ अनि कारबाही गरेकोजस्तो देखाउन लामिछाने र जोशीलाई जिल्लाजिल्ला घुमाउँछ । यहाँ सरकार आफैं ठग सहकारीका पदाधिकारीहरुको बचाऊमा देखिन्छ । अनि पीडित जनताले न्याय कसरी पाउँछन् ? सहकारी पीडितहरु कहिले माइतीघर त रत्नपार्कमा आन्दोलन गर्छन् । सरकार चाँहि ठग सहकारी सञ्चालक, अध्यक्षहरुलाई एयरपोर्टबाट भगाइरहेको छ ।
सरकार नै ठगहरुको संरक्षणमा लागेपछि सिधासाधी जनताले कसरी न्याय पाउँछन् ? अपराधीहरु कसरी कानूनको कठाघरमा आउँछन् ? अहिले विदेश जानेहरुको संख्या बढ्दै गएको छ । तर, यो भीड रोजगारीको खोजीमा विदेश पलायन हुनेको नभई सहकारीमार्फत जनताको पैसा पचाएर विदेश भाग्नेको हो । ‘रोजगारीका लागि विदेश जाने संख्या मासिक लाखौं’ भनेर समाचार आइरहन्छन् ।
तर, सञ्चारमाध्यमहरुले हकिगत नबुझेर तथ्याङ्कको आधारमा मात्र समाचार बनाउँदा ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारीहरुलाई विदेश भाग्न सहज भइरहेको छ । रोजगारीको बहाना बनाएर ठग सहकारी पदाधिकारीहरु रातारात विदेश पलायन भएका छन् । अनि सरकार र सञ्चारमाध्यम भने उनीहरु श्रम गर्न विदेश गएको भ्रममा चाँहि छन् ।
सरकारले विदेश जानेको भीड किन एकाएक बढ्यो ? भनेर अध्ययन नगर्दा ठग सहकारी सञ्चालक, अध्यक्ष र कर्मचारी सबै विदेश भागेका छन् । अब सरकारले कसरी उनीहरुलाई पक्राउ गर्छ ? कसरी पीडितहरुको बचत फिर्ता आउँछ ?