हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
रवि लामिछानेविरुद्ध मुद्दा दायर, यी हुन् तीन मुख्य अभियाेग !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा मुद्दा दर्ता भएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले आइतबार जिल्ला अदालत, कास्कीमा लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो। पूर्व गृहमन्त्री लामिछाने विरुद्ध मुद्धा दर्ता गरिएको अदालतका प्रवक्ता सुरज अधिकारीले बताए। “रवि लामिछाने विरुद्धको मुद्दा दर्ता भएको छ,” अधिकारीले भने, “तीन वटा कसूर लगाइएको छ। ४२७ पृष्ठको अभियोगपत्र भएकाले अध्ययन गरिरहेका छौं।”
जिल्ला अदालतका प्रवक्ता अधिकारीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा दायर गरिएको हो। अभियोगपत्रमा लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशीसहित ४४ वटा व्यक्ति र कम्पनीलाई विपक्षी बनाइएको छ।
पूर्व डीआईजी जोशीलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। त्यस्तै, पूर्व गृहमन्त्री लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो। दुवै जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ। त्यसैका आधारमा उनीहरूलाई पुस ५ सम्म हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको थियो। पुस ६ गते शनिबार भएकाले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ।
उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो भराउन माग दाबी गरिएको छ। यसअघि पुस ५ मा सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सहित १९ जना विरुद्ध पूरक अभियोगपत्र दायर गरेको थियो। जीबी विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र ब्यांक ऐन विरुद्धको कसूरमा सजाय माग दाबी गरिएको थियो।
सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको भन्दै सहकारीपीडित कृष्णप्रसाद जैसी लगायतले गत वर्ष प्रहरीमा उजुरी दिएका थिए। त्यसका आधारमा प्रहरीले अनुसन्धान गरेर सहकारीका पूर्व सञ्चालक एवं गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी सहित १९ जना विरुद्ध २०८० असोज १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यति वेला लामिछानेलाई विपक्षी बनाइएको थिएन।
प्रहरीले लामिछाने विरुद्ध अनुसन्धान नगरेपछि सहकारीपीडितले २०८० माघ २२ मा लामिछिनेसँगै जीबी राई संलग्न १४ वटा संस्थाको कारोबार समेत केलाउनुपर्ने भन्दै पूरक जाहेरी दिएका थिए। अनुसन्धान चलिरहेका वेला तत्कालीन गृहमन्त्री लामिछानेले प्रहरी अधिकृतको सरुवा गरेका थिए।
त्यसलाई लिएर नेपाली कांग्रेस लगायत त्यति वेला प्रतिपक्षमा रहेका दलले संसदीय छानबिनको माग गरेका थिए। नेकपा (एमाले)का सांसद सूर्य थापाको नेतृत्वमा गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछाने लगायत माथि छानबिन गर्न सिफारिश गरेको थियो। सूर्यदर्शन लगायत सहकारीमा सर्वसाधारणले बचत गरेको ६५ करोड ५४ लाख रुपैयाँ अपचलन गरेको समितिको अध्ययनमा देखिएको थियो।
त्यसका आधारमा प्रहरीले पुनः अनुसन्धान थालेको थियो। प्रहरी अनुसन्धानमा लामिछानेको पनि संलग्नता देखिएपछि कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
उनी विरुद्ध बुटवल, चितवन, वीरगन्ज र काठमाडौंमा पनि उजुरी परेको थियो। प्रहरीले चारै ठाउँमा लगेर बयान पनि लिएको थियो।
अब यस मुद्दामा थुनछेक बहस हुनेछ। सुनुवाइपछि पुर्पक्षका लागि धरौटीमा छोड्ने वा जेल चलान गर्ने भन्ने अदालतले ठहर गर्नेछ।