संसद्‍मा उचाल्न नमिल्ने कुर्सी, सबै सांसदलाई टेबुल र माइक

काठमाडौँ । संसद् सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एकअर्कासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो ।

अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुट्टै उचाल्न नमिल्ने गरी जोडिँदै छ । बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर तोडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ । सचिवालयका अधिकारीले भने कुर्सीमा एकरूपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दाबी गरेका छन् । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

२०७१ माघ ५ मा तत्कालीन माओवादी सांसद उमेशकुमार यादवले संसदको कुर्सी तोडफोड गरेका थिए । २०५४ मा दलत्यागसम्बन्धी विधेयक पारितगर्ने क्रममा कांग्रेस र एमाले सांसदबीच कुर्सी हानाहान भएको थियो । ६ वटा कुर्सी एकढिक्का भएपछि तोडफोडको सम्भावना कम हुनेछ । संयुक्त कुर्सी एक व्यक्तिले उचाल्न सम्भव हुँदैन ।

संसदभित्र ध्वंसात्मक कार्य नियन्त्रण गर्न नियमावलीमा कारबाहीको प्रावधानसमेत कडा पारिएको छ । बैठक कक्षमा शान्ति, सुव्यवस्था तथा अनुशासन भंग गरे, सभाको प्रतिष्ठामा आँच आउने किसिमले ध्वंसात्मक कार्य गरे, भौतिक हानि–नोक्सानी पुर्‍याए सभामुखले बैठक कक्षबाट निष्कासन गर्न मर्यादापालकलाई आदेश दिन सक्ने व्यवस्था छ । निष्कासित सदस्यलाई सभामुखले बढीमा १५ दिन निलम्बन गरी उसैबाट क्षतिभएको भौतिक सामग्रीको क्षतिपूर्ति भराउन सक्छन् ।

सबै सांसदलाई टेबुल र माइक
सचिवालयले प्रत्येक सांसदलाई टेबल ठोक्न मिल्ने संरचना बनाउन सुरु गरेको छ । २ सय ७५ सांसदमध्ये १ सय ८० जनालाई मात्र ठोक्ने टेबलको व्यवस्था थियो । अब राष्ट्रिय सभा र प्रतिनिधिसभाका ३ सय ३४ सांसदको संयुक्त बैठक हुँदासमेत सबैले टेबल ठोक्न मिल्ने बनाइँदै छ । संसद्मा कसैको अभिव्यक्तिमा समर्थन वा आपत्ति प्रकट गर्दा, नियमापत्ति जनाउँदा, विधेयक पारित वा फेल गर्दा टेबुल ठोक्ने प्रचलन छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *