हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कांग्रेसद्वारा देउवा-ओली सहमति अनुमोदन, राजीनामा दिन प्रचण्डलाई आह्वान
काठमाडाैं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सत्ता गठबन्धन गर्ने सहमतिलाई बुधवार अनुमोदन गरेको छ।
सोमवार मध्यराति दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र संविधानको सुधारका प्रक्रिया अघि बढाउने प्रयास अघि बढाउने सहमति भएको थियो।
प्रतिनिधिसभा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो भने नेकपा एमाले दोस्रो ठूलो दल हो।
बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुरुको चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने बताए।
उनले दोस्रो चरणमा निर्वाचनअघिको सरकार शेरबहादुर देउवाको नेतृत्वमा बन्ने जानकारी दिए।
उनले भने, “सबैभन्दा ठूला दुई दलले सँगै सरकार बनाउने भनिसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ। त्यो उपयुक्त हुन्छ।”
“अरू दलको समेत समर्थन घोषणा भइरहेको छ, नयाँ समीकरणलाई। हामीले उहाँलाई मार्ग प्रशस्त गर्न पनि अनुरोध गरेका छौँ।”
कांग्रेस एमाले सहमति कहिले सार्वजनिक हुन्छ?
कांग्रेसका उपसभापति धनराज गुरुङले बैठकले दुई दलहरूबीचमा भएको सहमति अनुमोदन गरेको बताए।
“हामीले त्यो सहमतिलाई स्वागत गर्दै त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गरेका छौँ। विकास निर्माण, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रणजस्ता मुद्दाहरूमा राष्ट्रिय सरकार बनाउने भनेर जुन भनिएको थियो त्यसलाई अलिकति व्याख्या गरेका छौँ,” उनले भने।
संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले अरू दलहरूसँग पनि कुरा हुने भन्दै उनले अहिले नै विस्तृतमा छलफल नभइसकेको खुलाए।
कांग्रेस र एमालेबीच भएको भनिएको सहमति हालसम्म सार्वजनिक भइसकेको छैन। उपसभापति गुरुङले ‘भरेभोलिसम्म’ उक्त सहमतिलाई दुई दलले सार्वजनिक गर्ने भन्दै त्यसपछि सहमतिका आधारहरू सबैलाई स्पष्ट हुने जनाए।
एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डासहितका विषयमा पनि मोटामोटी सहमति भएको वरण आएको भए पनि उपसभापति गुरुङले उक्त विषय टुङ्गोमा पुगिनसकेको बताए।
कांग्रेस-एमाले गठबन्धनलाई ककसको समर्थन?
यसअघि नेकपा एमालेको सचिवालय बैठकले बुधवार संसद्का दुई प्रमुख दलबीच सहमतिको सरकार निर्माण गर्ने समझदारी भएको भन्दै नयाँ सरकार गठनका लागि बाटो खोलिदिन गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको थियो।
उक्त बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिलाई समर्थन गर्ने भन्दै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दलहरूलाई पनि आह्वान गर्ने निर्णय लिएको थियो।
प्रधानमन्त्री प्रचण्डले आफूले तत्कालै राजिनामा नदिने बरू संसद्मा विश्वासको मत लिने माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
यसबारे सोधिएको प्रश्नमा एमालेका नेता प्रदीप ज्ञवालीले भने, “सदनका दुई प्रमुख दल एउटा निष्कर्षमा पुगेपछि (प्रधानमन्त्रीले) मार्गप्रशस्त गर्नु र सहयोग गर्नु वाञ्छनीय हुन्छ। त्यसो भएन भने के गर्ने भनेर हामीले फेरि अर्को निर्णय गर्छौँ।”
एमालेले प्रधानमन्त्रीले उत्तर नदिएको खण्डमा आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका विवरणहरू आएका छन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस-एमाले सत्ता गठबन्धनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। जसपाको संसद्मा सात सीट छ भने लोसपा नेपालको चार सीट छ।
प्रतिनिधिसभाको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन गर्नेसहित दुई ठूला दलबीच भएको सहमतिको स्वागत गरेको छ। उक्त दलका चार सांसद छन्। राप्रपालाई पनि आफ्नो गठबन्धनमा ल्याउन कांग्रेस र एमालेले प्रयास गर्ने विवरण आएका छन्।
माओवादी केन्द्र र रास्वपाका नेताहरूले कांग्रेस र एमालेले बनाउने सरकारमा आफूहरू सहभागी नहुने घोषणा गरेका छन्।