माओवादी नेता कृष्णबहादुर महरा जमानीमा रिहा

काठमाडाैं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाैंले अनुमति दिएलगत्तै महरालाई हिरासत मुक्त गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले बताए। बोलाएको वेला उपस्थित हुने गरी महरालाई उनका छोरा निर्मलको जिम्मा लगाइएको बोगटीले बताए।

“कृष्णबहादुर महराजीलाई उहाँका छोरा [निर्मल महरा] को जिम्मा लगाएर हजार जमानीमा छोडिएको छ,” बोगटीले भने।

हाजिर जमानी के हो

मुलुकी फौजदारी कार्यविधि संहिताले निश्चित अवस्थामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गर्न सक्ने अधिकार सरकारी वकिलको कार्यालयलाई दिएको छ।

कुनै व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नदेखिएको कतिपय अवस्थामा सरकारी वकिलको अनुमति नलिई पनि प्रहरीले जमानीमा छाड्न सक्छ।

यसरी छोडिएको व्यक्तिलाई मुद्दा चलाउनुपर्ने अवस्थामा उपस्थित हुने कागज गराइएको हुन्छ।

महरालाई चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरिएको थियो। जिल्ला अदालत, काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। तर स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै नर्भिक अस्पतालमा राखिएको थियो।

विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ। राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको सीआईबीले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोगपत्रमा उल्लेख छ।

राहुल गत भदौ १३ मा पक्राउ परेका थिए। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो। त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो। तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो।

अवैध सुन पैठारी सम्बन्धी छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले चैत १ मा बुझाएको प्रतिवेदनमा महरालाई पनि अनुसन्धानको दायरमा ल्याउन सिफारिश गरिएको थियो।

आयोगको सिफारिशका आधारमा सीआईबीले महरालाई पक्राउ गरेको थियो। यसअघि सीआईबीले महरासँग बयान पनि लिएको थिएन।

महराको राजनीतिक यात्रा

विसं २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको बहुमत सरकार हुँदा महरा सभामुख बनेका थिए। तर संसद् सचिवालयमै कार्यरत एक कर्मचारीमाथि यौन दुराचारको आरोप लागेपछि उनले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए।

पटकपटक मन्त्री बनिसकेका महरा नेकपा माओवादीको उपाध्यक्ष छन्। पार्टीमा निकै प्रभावशाली मानिने महरा लामो समय माओवादीको महासचिव थिए।

उनलाई तात्कालिक माओवादीले सरकारसँग शान्ति वार्तामा समेत वार्ता टोली प्रमुख बनाएको थियो।

शिक्षण पेसा छोडेर राजनीतिमा लागेका महरा २०४८ सालमा ३२ वर्षकै उमेरमा सांसद बनेका थिए।

महराका छोरा राहुल महरा पनि गत भदौ महिनामा सुन तस्करीको एउटा मुद्दामा पक्राउ परेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *