पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट (बागलुङ) । बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

सिगानाका बमबहादुर खड्काले यस वर्ष रु. चार लाखको सुन्तला बिक्री गर्नुभयो । उहाँ मात्र हैन  रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडाँै, पोखरा र नारायणगढमा पुगेको छ ।

धादिङ, काठमाडाँै, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले  किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त छन् । सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष रु. एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको जानकारी दिनुभयो ।

“शिक्षण पेशा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेसीबाट बास्बोटसम्ममा अधिकांश किसानको सुन्तला आम्दानीको मुख्य स्रोत हो” खड्काले भन्नुभयो “सिगानको समग्रमा एक लाखदेखि पाँच लाख सम्म सुन्तला बिक्री गर्ने किसान ४० जना होलान्, अन्य किसानले समेत ५० देखि एक लाख सम्मको सुन्तला बिक्री गरेकै हुन्छन् ।”

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच÷पाँच लाख भित्राउनुभएको छ । खड्काका अनुसार श्री गणेश कृषि सहकारीले सुन्तला उत्पादन तथा बिक्रीको तथ्याङ्क राखेको बताउनुभयो ।

सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछ ।

“सुरु–सुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिँदा सहकारी मार्फत सुन्तला उत्पादन र बिक्रीको विवरण राख्न थालिएको छ, यस वर्ष रु तीन करोड ५० लाखसम्मको सुन्तला सिगानाबाट निकासी हुने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छन्” उहाँले भन्नुभयो “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ,  पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडाँै, नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।

यस वर्ष सिगानाका राधा खड्काले रु.चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचामै व्यापारीलाई दिएका छन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैचा अझै बिक्री गर्न बाँकी छ ।

सिगानाको सुन्तला अन्य स्थानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मुल्य तिरेरै भएपनि खरिद गर्न व्यापारी आउने गरेका छन् । यस वर्ष चितवनका व्यापारीलाई रु. पाँच लाखमा सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिनुभयो । चितवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यस पटक चितवन आयात गरिरहनुभएको छ ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा खरिदका लागि त्यहाँ पुग्नुभएको हो । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *