गाजापट्टी क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार

काठमाडाैं । इजरायल र गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको उद्धार गरिएको छ।

इजरायल र हसासका लडाकूबीच भिडन्त भइरहेको गाजापट्टीको सीमा क्षेत्रमा रहेका नेपाली विद्यार्थीको सोमबार उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘हाल युद्ध भइरहेको इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा फसेका नेपाली विद्यार्थीलाई कृषि प्रशिक्षण केन्द्र, इजरायली सुरक्षा संयन्त्र तथा नेपाली संघसंस्थाको सहयोगमा दूतावासले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयले जनाएको छ।

सीमा क्षेत्रमा रहेका ३२ जना नेपाली विद्यार्थीको उद्धार गरिएको हो। उनीहरूलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ।

हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ। उनीहरूको शव नेपालले पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकार्य भइरहेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ।

त्यस्तै, आक्रमणमा परी चार जना नेपाली विद्यार्थी घाइते भएका थिए। स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको जनाइएको छ।

उनीहरूसँग रहेका दुई नेपाली विद्यार्थी भने सकुशल छन्। उनीहरूलाई तेल अभिभमा सुरक्षित राखिएको दूतावासले जनाएको छ।

त्यस समूहमा रहेका एक जना सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको छ। प्रहरी र अस्पताल लगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको दूतावासले जनाएको छ।

यससँगै नेपाल फर्कन इच्छुकका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनका लागि अनलाइन रजिस्ट्रेशन शुरू भई २०० भन्दा बढीको विवरण प्राप्त भइसकेको छ। राजदूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवं सतर्क भई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *