इजरेलमा १० जना नेपालीको ज्यान गएको पुष्टि, शव नेपाल ल्याउन ‘पहल गरिँदै’

काठमाडाैं । इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा हालसम्म कम्तीमा १० जना नेपालीहरूको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरेलस्थित नेपाली दूतावासलाई त्यहाँको प्रहरीले १० नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी पठाएको बताइएको छ।

प्रहरीले अझै एक जना नेपाली नागरिक हराइरहेको र चार जना घाइते भएको र दुई जना सुरक्षित रहेको दूतावासलाई जानकारी दिएको छ।

मृतकहरूमा अधिकांश सूदुरपश्चिम प्रदेशका छन् भने एकजना कर्णाली र एकजना कोशी प्रदेशका पनि रहेका छन्।

ती विद्यार्थीहरू नेपालबाट ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत इजरेलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका थिए।

हमासको आक्रमणबाट मारिएका नेपालीहरू सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि गाजा नजिकै पर्ने दक्षिण इजरेलको किबुज अलुमीम क्षेत्रको एउटा फर्ममा कार्यरत रहेको बताइएको छ।

शव नेपाल ल्याउने पहल जारी

इजरेलस्थित नेपाली दूतावासले नेपाली समय अनुसार आइतवार राति जारी गरेको वक्तव्यमा भनिएको छ, “दक्षिण इजरेललको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहको आक्रमणबाट १० जना नेपालीहरुको दुखद निधन भएको छ (नामको सूची छिटै सार्वजनिक गरिने) भने ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। साथै सम्पर्कविहीन रहेका एकजना नेपालीको खोजीकार्य भइरहेको छ।”

“शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको छ।”

दूतावासले नेपाल फर्कन चाहनेका लागि पनि पहल भइरहेको जनाएको छ।

वक्तव्यमा उसले भनेको छ, “नेपाल फर्कन इच्छुक हुने नेपालीहरूको स्वदेश फिर्तिको लागि राजदूतावासबाट नेपाल सरकार र इजरेल सरकारसँग आवश्यक समन्वय गरी विवरण सङ्कलनको लागि छिट्टै अनलाइन रजिष्ट्रेशनको व्यवस्था गरिँदैछ।”

“निधन भएका नेपालीहरूको शव फिर्ता गर्न र इच्छुक नेपालीहरूलाई उद्धार गरी स्वदेश फिर्ता गराउन नेपाल सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ। इजरेलमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई संयमता अपनाई दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ।”

आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले गाजा क्षेत्र नजिकै रहेको एउटा कृषि फर्ममा काम गर्दै सिक्ने योजना अन्तर्गत रहेका १७ जना नेपालीमध्ये तीन जना घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र दुई जना सकुशल रहेको जानकारी दिएका थिए।

उनले १२ जना नेपालीहरू भने सम्पर्कविहीन रहेको जानकारी सदनलाई गराएका थिए भने केही नेपाली हताहत भएको पनि हुनसक्ने बताएका थिए।

त्यसअघि परराष्ट्रमन्त्रालयले शनिवार साँझ एउटा विज्ञप्ति जारी गर्दै १४ जना कामदार कार्यरत एउटा कृषि फर्ममा आक्रमण भएको र त्यसमा ९ जना घाइते भएका विवरण आएको जनाएको थियो।

उसले गाजा क्षेत्र नजिकै रहेका नेपाली नागरिकहरूको उद्धारका लागि आवश्यक समन्वय भइरहेको जनाएको थियो।

 “घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा उल्लेख गरेको थियो।

शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।

त्यस क्रममा हालसम्म हमासको आक्रमणमा ६०० जना भन्दा बढी मारिएको इजरेलले जनाएको छ। त्यस्तै गाजामा ३७० भन्दा बढीको मृत्यु भएको खबर छ।

इजरेलमा कति नेपाली छन्?

प्रतिनिधिसभाको आइतवारको बैठकमा बोल्दै परराष्ट्रमन्त्री एनपी साउदले इजरेलमा नेपालीहरूको अवस्थाबारे जानकारी दिएका थिएका थिए।

परराष्ट्रमन्त्रीले नेपाल सरकार नेपालीहरूलाई आवश्यक पर्ने सबै सहयोग गर्न र उद्धार गर्नुपर्ने भएमा त्यो पनि गर्ने अवस्थामा रहेको जानकारी सदनलाई गराए।

उनले त्यसका लागि सरकारले एउटा उच्चस्तरीय संयन्त्र बनाइसकेको र आवश्यकता अनुसार त्यसले काम गर्ने बताए।

साउदले भने, “दक्षिणी इजरेलमा रहेका नेपालीको सुरक्षाको प्रत्यभूति गर्न नेपाली दूतावासलाई निर्देशन दिइएको छ र त्यहाँ उद्धार गर्नु परेमा त्यसको व्यवस्था मिलाइनेछ।”

हाल इजरेलमा ४ हजार ५ सय नेपालीहरू केयरगिभरको रूपमा कार्यरत रहेको र २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजना अन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा रहेको पनि उनले जानकारी दिए।

परराष्ट्रमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा घाइते नेपालको उपचार र उद्धारबारे पनि छलफल भएको उल्लेख छ।

परराष्ट्र मन्त्रालयको आग्रह

यसैबीच आइतवार साँझ परराष्ट्र मन्त्रालयले एउटा सूचना प्रकाशित गर्दै “इजरेलमा उत्पन्न परिस्थिति”का कारण अलपत्र परेका नेपालीहरूका लागि सम्पर्क व्यक्ति तोकेको जनाएको छ।

त्यसमा भनिएको छ, “… विकसित पछिल्लो घटनाक्रमका कारण अलपत्र पर्नुभएका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका लागि देहायबमोजिमका व्यक्तिहरुलाई सम्पर्क व्यक्ति तोकिएको जानकारी गराइन्छ।”

गाजा आसपासका विद्यार्थी उद्धारको पर्खाइमा

गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले केही नेपाली विद्यार्थीको मृत्यु भएसँगै गाजा आसपासको इजरेली क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरूले आफूहरूलाई सम्पर्क गरेर सुरक्षित स्थानमा जान चाहेको बताएको जानकारी दिए।

उनले गाजा क्षेत्र आसपासमा रहेका नेपालीहरूलाई तेल अभिभलगायतका सुरक्षित स्थानमा ल्याउनका लागि नेपाली दूतावासलाई आफूहरूले आग्रह गरेको पनि बताए।

उनले भने, “गाजा क्षेत्रको आसपास रहेका नेपाली विद्यार्थीहरूलाई हामीले तत्काल सुरक्षित स्थानमा ल्याउनुपर्छ भनेर दूतावासलाई दबाब दिइरहेका छौँ। र, दूतावासले उनीहरूलाई बसोबासको प्रबन्ध मिलाउने आश्वासन हामीलाई दिएको छ।”

“आवश्यक परेका बखतमा यहाँ रहेका नेपालीहरूलाई सहयोग गर्न हामी तत्पर भएर बसेका छौँ र दूतावाससँग पनि समन्वयमा हामी आवश्यक सहयोग गर्न तत्पर छौँ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *