बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाललाई ‘हिन्दू राष्ट्र घोषणा गरेका’ शङ्कराचार्य फेरि काठमाडाैंमा
काठमाडाैं । भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाण्डू आएका छन्।
नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो।
आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो।
हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्।
तर गोवर्द्धन मठका शङ्कराचार्य नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन्।
किन काठमाडाैंमा
उनी यसअघि पनि पटक पटक नेपाल आएका थिए। यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्।
पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका स्वकीय सचिव बेनुप खत्रीले जानकारी दिए।

शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन हुने उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए।
शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दू महासङ्घकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले बताइन्।
धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि त्यसका पक्षपाती नेताहरू शङ्कराचार्यको कार्यक्रममा सहभागी हुने गरेका छन्।
हिन्दू राष्ट्रको अभियान
शङ्कराचार्य निश्चलानन्द सरस्वती विश्वका विभिन्न देशहरूलाई हिन्दू राष्ट्र बनाउनु पर्ने पक्षमा मत राख्ने गर्छन्।
तीन वर्षअघि उनले संयुक्त राष्ट्र सङ्घले भारत, नेपाल र भुटानलाई हिन्दू राष्ट्रको मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए।
अङ्ग्रेजी अनलाइन पिपल्स रिभ्यूका अनुसार गत वर्ष जनकपुरमा आयोजित एउटा कार्यक्रममा त उनले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न कुनै नेता आवश्यक नपर्ने बताउँदै भनेका थिए, “म घोषणा गर्छु- नेपाल हिन्दू राष्ट्र हो।”
भारतीय सञ्चार माध्यमका अनुसार उनले सन् २०२५ सम्ममा भारत हिन्दू राष्ट्र बन्ने घोषणा पनि गरेका छन्।
नेपाल-भारत सीमा विवादमा चासो
उनले नेपाल र भारतबीच रहेको सीमा विवादबारे पनि आफ्नो धारणा सार्वजनिक रूपमा प्रकट गर्ने गरेका छन्।
नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न सिमाना विवाद मित्रवत् रूपमा सुल्झाउन उनले केन्द्र सरकारलाई अपिल गरेका थिए।
तीन वर्षअघि नेपालले लिम्पियाधुरा-लिपुलेक सहितको क्षेत्र समावेश गरेर नक्सा जारी गरेपछि उनले त्यस्तो धारणा राखेको उसबेला ओरिसापोष्ट डट कमले उल्लेख गरेको थियो।

नेपाल र भारतबीच गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक सम्बन्ध रहेको भन्दै द्विपक्षीय समझदारीमा विवाद सुल्झाउनुपर्ने उनको आग्रह थियो।
नेपालको उक्त निर्णयपछि दुई देशबीचको सम्बन्धमा निकै तिक्तता उत्पन्न भएको थियो।
राजसंस्थासँगको सम्बन्ध
शङ्कराचार्य निश्चलानन्द सरस्वतीको गोवर्द्धन मठ रहेको जगन्नाथ मन्दिरसँग नेपाली राजसंस्थाको पनि पुरानो सम्बन्ध छ।
स्वामी निश्चलानन्दले आफू मठको शङ्कराचार्य नियुक्त भएको २५ औँ वर्ष गाँठको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई २०७४ सालमा निम्त्याएका थिए।
आदि शङ्कराचार्यले नेपालको पशुपतिनाथ र भारतको जगन्नाथ दुवै मन्दिरमा धार्मिक क्रिया र अनुष्ठान स्थापित गरेको बताउने जानकारहरूका अनुसार त्यसैले दुवै मन्दिर गोवर्द्धन मठको आध्यात्मिक क्षेत्राधिकारभित्र पर्ने ठान्छन्।
राजसंस्थाको तर्फबाट पुरीस्थित जगन्नाथ मन्दिरमा कस्तुरी पठाउने परम्परा थियो।
त्यहाँ पुगेका बेला पूर्व राजा ज्ञानेन्द्रले कानुनी व्यवधानका कारण त्यो पठाउन सम्भव नरहेको बताएको विवरणहरू आएका थिए।
जानकारहरूका भनाइमा पुरीमा नेपालका राजालाई मात्र रत्न सिंहासनसम्म पुगेर विशेष पूजा गर्ने अनुमति थियो।
राजाबाट हटाइएपछि पनि ज्ञानेन्द्र शाहलाई राजाकै रूपमा त्यो अवसर दिनुका साथै त्यहाँ आयोजित गाई जोगाउने अभियानको कार्यक्रममा राजाकै रूपमा सम्बोधन गरिएको थियो।
यस पटक शङ्कराचार्य काठमाण्डू आउँदा पूर्व राजा ज्ञानेन्द्र झापामा छन्।
झापामै रहेका उनका सचिव सागर तिमिल्सिनाका अनुसार अहिलेसम्म भेट्ने कार्यक्रम छैन। काठमाण्डूमा रहेका अर्का सचिव फणीराज पाठकले पनि आफूलाई त्यसबारे कुनै जानकारी नभएको बताए।
सिमानामा जन्मिएका शङ्कराचार्य
गोवर्द्धन मठका अनुसार शङ्कराचार्य निश्चलानन्दको जन्म नेपालसँग सिमाना जोडिएको बिहारको मधुबनी जिल्लाको हरिपुरमा विक्रम संवत् २००० मा भएको हो।
उनी विद्यार्थी कालमा बिहार र दिल्लीमा विद्यार्थी परिषद्को पदाधिकारी थिए। दिल्लीमा गौ रक्षा आन्दोलनमा सहभागी हुँदा गिरफ्तार भएर उनले तिहाड जेलमा ५२ दिन बिताए।
करिब ३१ वर्षको हुँदा हरिद्वारमा स्वामी करपात्री जी महाराजबाट संन्यास सम्पन्न भएपछि नीलाम्बर झा ‘निश्चलानन्द सरस्वती’ बन्न पुगे। र, अहिले उनी गोवर्द्धन मठका १४५ औँ शङ्कराचार्य छन्।
आदि शङ्कराचार्यले गरेका चार मठको प्रावधानमा शङ्कराचार्य उपाधिका नियम छन्। जानकारहरूका अनुसार शङ्कराचार्यमा प्रस्तावितले वेदान्त विद्धानहरूसँग शास्त्रार्थ गर्नुपर्छ।
त्यसपछि सनातन धर्मका १३ अखाडाका प्रमुख, आचार्य महामण्डलेश्वर र सन्तहरूको सभाले शङ्कराचार्यको नामप्रति सहमति जनाएपछि काशी विद्वत परिषद्ले औपचारिकता दिने गर्छ। बीबीसी