तरकारी बजार उच्च जोखिममा, उपभोक्ताको अत्यधिक भीड

काठमाडौँ। कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरू जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र बेलुका एक्कासि भीड बढ्दा त्यहाँ कोरोना सर्ने जोखिम बढेको छ ।

खाद्यान्न तथा तरकारी पसल बिहान ६ः०० देखि १०ः०० बजेसम्म र साँझ ५ः०० देखि ७ः०० बजेसम्म खुला हुन्छन् । खुद्रा पसलका लागि तरकारी तथा फलफूल खरिद गर्न थोक बजार कालीमाटी, बल्खु, बानेश्वर, तीनकुने, बागबजार टुकुचालगायतका ठाउँमा जाने गरेका छन् । त्यसले गर्दा बिहान त्यहाँ अत्यधिक भीड हुने गरेको छ । थोक बजार पनि अघिपछिभन्दा सीमित समयसम्म खुल्ने भएकाले उपभोक्ताको भीड अत्यधिक हुने गरेको छ ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले तरकारी बजारमा अत्यधिक भीडका कारण जोखिम बढेको बताउनुभयो । सरकारले तोकेको मापदण्डअनुसार बजार सञ्चालन गरे पनि कतिपय व्यापारीले त्यो मापदण्ड पालन नगरेका कारण जोखिम झनै बढेको उहाँले बताउनुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान अत्यधिक भीड हुन्छ । सरकारले उपत्यकामा निषेधज्ञा जारी गरेपछि सो बजार बिहान १ः०० बजेदेखि १०ः०० बजेसम्म खुल्ने गरेको छ । पहिला बिहान ३ः०० बजेदेखि सामान्यतः १०ः०० बजेसम्म खुला हुन्थ्यो । ३ः०० बजेदेखि खुला गरेपछि व्यापारी तथा उपभोक्ताको अत्यधिक भीड देखेपछि त्यसलाई बिहान १ः०० बजेका लागि सारिएको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताउनुभयो ।

कोराना महामारीमा भीडभाड कम होस् भनेर नै समय बढाइएको भए पनि बिहानदेखि भीड बढेकाले जोखिम बढ्दै गएको उहाँले बताउनुभयो ।

तरकारी तथा फलफूल बजारमा प्रवेश गर्नेका लागि मास्क अनिवार्य गरिएको छ । सेनिटाइर र पानी, हात धुने सामग्री ठाउँठाउँमा राखिएका छन् तैपनि कतिपय व्यापारीले अटेर गरिरहेको अध्यक्ष घिमिरले बताउनुभयो । खुद्रा बजारका लागि त्यहाँ तरकारी तथा फलफूल खरिद गर्न आउने व्यापारीको भीड हुन्छ । त्यस्तै बाहिरबाट तरकारी ल्याउने गाडीको पनि त्यतिकै भीड हुन्छ । त्यहाँ साना ठूला ६०१ स्टल रहेका छन् ।

कालीमाटी बजार १०ः०० बजेसम्म खुला हुन्छ भनेर त्यतिबेलासम्म कतिपय व्यापारी त्यहीँ हुन्छन् । १०ः०० बजे तरकारी तथा फलफूल लिएर निस्केपछि प्रहरी तथा ट्राफिकले रोकटोक गर्छ । १०ः०० बजेअघि नै बजार छाडेर घर पुगिसक्नुपर्ने तर १०ः०० बजे त्यहीँबाट हिँडेपछि प्रहरीले समात्नु जायज रहेको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।

पहिलो पटकको कोरानाको समयमा प्रहरीले दुःख दिएको गुनासो अत्यधिक आउँथ्यो तर यसपटक त्यति गुनासो नआएको उहाँले बताउनुभयो । बल्खु तरकारी बजारका सञ्चालक मोहनकुमार बस्नेतले पनि बजारमा जोखिम उच्च रहेको तर नखोल्नुको विकल्प पनि नरहेको बताउनुभयो । तरकारी तथा फलफूल अति आवश्यक वस्तुमा पर्ने भएकाले खोल्नैपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँ स्टल लिएर बस्ने व्यापारी, बाहिरबाट आउने व्यापारी तथा स्थानीय उपभोक्ताको भीड हुन्छ । उनीहरूबाट पनि लापरबाही भइरहेको हुन्छ तर के गर्नु जति नियन्त्रण गर्दा पनि भइरहेको छैन । ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *