‘सत्ता टिकाउन सांसद किनबेच शुरु …’

ठोकर्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सत्ता बचाउनका लागि सांसद किनबेचको खेलमा लागेको भन्दै चिन्ता जनाएका छन् ।

गृहजिल्ला सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ ठोकर्पा, थामडाँडा भ्यूटावरको शनिबार उद्घाटन गर्ने क्रममा नेता बस्नेतले सांसद लुकाउने, किनबेच गर्ने जस्ता कार्यहरू गरेको भन्दै चिन्ता जनाएका हुन् ।

‘एमाले र माओवादीले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि मुलुकमा अस्थिरता छ । विकास गर्न सकेका छैनन्’, बस्नेतले भने, ‘जसरी पनि सत्ता टिकाउन सांसद लुकाउने । सग्लो सांसदलाई बिरामी पारिदिने । जनप्रतिनिधिलाई किन्ने र बेच्ने काम भएको छ ।’

उनले भने, ‘जनताले विश्वास गरेका जनप्रतिनिधिहरूमा किनबेचको अवस्था देखिएको छ । यो धेरै ठूलो कलंक हो ।’

एमाले र माओवादीले झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि मुलुक चलाउन नसकेर राजनीतिक अस्थिरता निम्त्याएको कांग्रेस नेता बस्नेतले बताएका छन् । कम्युनिस्टहरू आफै मिल्न नसकेर फुटेको बताएका बस्नेतले भने, ‘कहिले आन्दोलन गर्छन्, कहिले लड्डु खान्छन् । काम भनेको केही गर्न सकेका छैनन् ।

मुलुकलाई निकास दिन कांग्रेसले नेतृत्वदायी भूमिका निभाउन तयार रहेको उनले बताएका छन् । ‘संसदमा कांग्रेसको संख्या कम छ । देशमा भद्रगोल हुँदा कांग्रेसले नेतृत्व लिन्छ’, उनले भने, ‘गोल हान्नको लागि खुट्टामा बल आउन लागेको छ । कांग्रेसले नेतृत्व दियो भने देशमा राम्रो तरिकाले काम हुन्छ ।’

‘कांग्रेसले अभिभावकीय भूमिका निभाउँछ’, उनले भने, ‘समयअनुकूल कांग्रेस फड्को मार्न तयार भएर बसेको छ ।’

पूर्वमन्त्री बस्नेतले कर्मचारीहरूलाई मुलुकको स्थायी सरकार भन्दै प्रशंसा गरेका छन् । ‘मैले बजेट ल्याउन सक्नुमा कर्मचारीले सहयोग गरेको कारणले हो’, उनले भने, ‘सरकार जो सुकैको भए पनि हुन्छ । मोहनबहादुर बस्नेतलाई सरकार जसको भए पनि बजेट र विकास ल्याउन सकैले रोक्न सक्दैन । सिन्धुपाल्चोकको सरकार मोहनबहादुर बस्नेत पनि हो भन्ने लाग्छ ।’

गफ लगाएर खानेबेला गएको उनले बताए । ‘हुति र बुद्धि हुनेले विकास गर्छ । यो दुई कुरा भयो भने सबै कुरा सम्भव छ’, बस्नेतले भने, ‘काम कांग्रेसले गर्छ । कांग्रेसले जितेको ठाउँमा विकास हुन्छ । काम गर्ने मान्छे गतिलो हुनुपर्छ । पैसा ल्याउन नसक्ने भयो भने समस्या हुन्छ ।’

कांग्रेस नेता बस्नेतले प्रधानमन्त्री केपी ओलीले काम नै नसकिएको अपुरो धरहरा उद्घाटन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । मेलम्चीको पनि काम हुन बाँकी रहेकै बेला उद्घाटन गरिएको उनले बताए ।

थामडाँडाको भ्यू टावरले पर्यटन व्यवसायलाई पनि अगाडि बढाउन सहयोग गर्ने बस्नेतले बताएका छन् । उनले आन्तरिक पर्यटनलाई बढाउनुपर्ने बताएका छन् ।

ठोकर्पा थामडाँडा भ्यू टावर १ करोड २५ लाखमा निर्माण गरिएको हो । भ्यू टावर उद्घाटनका क्रममा कांग्रेस नेता बस्नेतले विभिन्न व्यक्तिहरूलाई प्रमाण पत्र वितरणसहित सम्मान गरेका थिए ।

कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष अध्यक्ष श्रवण जिसी ‘विनोद’, सुनकोशी गाउँपालिका– ६ का वडाध्यक्ष रामकुमार थापा, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधी हरिशरण श्रेष्ठ, सुनकोशी– २ का वडाध्यक्ष पूर्णबहादुर महतलगायतको उपस्थिति रहेको थियो ।

कोरोना महामारी भएका कारण कार्यक्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइएको थियो । सहभागीहरूलाई माक्स, सेनिटाईजर, स्वस्थ्य टोलीसहित भ्यू टावरको उद्घाटन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *