हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
कथा : प्रपोज डे
– शर्मिला न्याैपाने
यो हिउँदको चिसो जति बढ्छ उति उति तिम्रो याद र सम्झनाले मन पोल्छ, प्रिय ।
थाहा छैन तिमीसँग कुन चिज छ त्यस्तो, जस्ले मलाई हरेक पल तिम्रो यादमा तड्पाइरहन्छ ? प्रिय पनि कसरी भनौं पराया भइसकेको मान्छेलाई तर नभनी बस्न पनि त दिदैन यो सम्झिने मनले । हामीले सँगै बिताएका ती पलहरुको झझल्को आइरहन्छ ।
घरीघरी त लाग्छ यो फेस्बुक पनि नचलाउँ, किनकि तिमीसँग भेट फेसबुकले नै गराएको हो । खै के हुन्छ, के भैरहेछ थाहा छैन । मार्क जुकरवर्कले जुटाएको यो फेसबुक भन्ने कुराले पनि गर्नु ग¥यौ हगि । सामाजिक सञ्जालको जन्जालबाट को नै अछुतो होला र ? तन्नेरी पुस्ताको अभिन्न अङ्ग जस्तै बनेको सामाजिक सञ्जालबाट टाढा त कहाँ रहन सकिदो रहेछ र ।
तिमीलाई असाध्यै प्रेम गर्छु । अहिलेसम्म पनि त्यस्तो कुनै औषधि पाएको छैन, जस्ले तिम्रो याद सदाको लागि मबाट दूर बनाओस् । तिमीलाई मेरो याद कत्तिको आउँछ त्यो त थाहा छैन । तर यत्ति विश्वस्त छु कि आउँदै नआउने त पक्कै होइन । फेरी यो पनि हो मैले भन्दा चै कम नै याद गछ्यौ, किनकी तिमीले प्रत्येक पल हातसमाएर हिड्ने सहयात्री पाइसकेकी छ्यौ । मैले यसो भनिरहदा तिमीलाई धोखेबाज भन्न खोजेको पक्कै होइन । ‘धोखेबाज’ त साथ दिन्छु भनेर बीचैमा छोड्नेलाई भनिन्छ हैन र ? तर तिमी र मबीच मुख खोलेर प्रेमको कुरा कहिले भएन । तर जति कुरा र भेट भयो ती सबै प्रेमिल नै रह्यो । अनि तिमीसँग जस्तो सम्बन्ध न पहिला थियो न त अहिले नै छ । हामी बीचको बेनामी सम्बन्ध बेनामी नै ठीक नाम दिइएको भए जीवन कथाले अर्कै मोड पो लिन्थ्यो कि त । कसैले भनेको थियो कतिपय नाम दिइएका सम्बन्ध भन्दा नामै नदिइएका सम्बन्धहरु धेरै प्यारा हुन्छन् । भोगेरै भनेको हुनुपर्छ सायद ।
फेसबुकमा हामी जोडिएको किन होला ? यहि प्रश्न विगत एक वर्षदेखि मानष्पटलमा घुमिरहन्छ । अहँ अहिलेसम्म चित्तबुझ्दो जवाफ यो मनले मलाई दिन सकेन । देशकै मुख्य सहर अझ भनौं राजधानी काठमाडौंबाट केही पश्चिम धादिङमा हाम्रो घर छ । गाउँमा १२ कक्षाको पढाइ सकेर किराना पसल शुरु गरेको थिए । अरु युवा भन्दा अलि फरक थिएँ । अर्थात् सानै उमेरमा पैसा कमाउन लागेको थिए ।
फेसबुकमा चिने नचिनेका मान्छेहरुको फ्रेण्ड रिक्वस्ट आइरहेका हुन्थे । सबै मान्छेका आनीबानी नियत कहाँ सही हुन्छ र कतिपय आइडीहरु फेक पनि हुन्थे कतिपय कुनै कोणबाट पनि तालुक नराख्ने हुन्थे त्यसैले खास वास्ता लाग्दैन्थ्यो ।
अक्सर आफ्नै विजनेसमा ध्यान हुन्थ्यो । एक दिन केही फ्रेण्डलिस्ट फिल्टर गर्दै थेँ । आँखा अडिए ४ हप्तादेखि पेन्डिङमा रहेको फ्रेन्ड रिक्वस्टमा । कालो कोट लगाएको, कलर गरेर हल्का रातो बनाएको छोटो..छोटो कपालमा साइड लुक्स मात्रै देखिने गरि प्रोफइल राखेको फोटो । खुब मन पर्यो त्यो तस्विर । प्रोफाइल नहेरी रिक्वस्ट कन्फर्म गरेँ ।
साथी भएको करिब ३ महिनासम्म हामीबीच पोष्टमा रियाक्ट गर्नुभन्दा बढी कुनै कुरा भएन ।
पछि परिचय गर्ने सोचेर मैले नै बोलाए । घर धादिङ नै रहेछ । १० कक्षाको पढाइ सकेर भविष्य बनाउन काठमाडौं पुगेको तिमी सुनायौ । धादिङ नै भएपनि घर हाम्रो टाढा थियो यद्यपी प्रायः कुरा हुन थालेपछि नजिकै जस्तो लाग्थ्यो ।
च्याटबाट शुरुभएको बोलचाल बिस्तारै फोन र भेटमा परिणत भयो । त्यस्तो कुनै नाता सम्बन्ध थिएन । तर भेट गर्न म व्यापार छोडेर काठमाडौं पुग्थ्येँ । कुन तत्वले तानेर तिमीलाई भेट्न पुर्याउथ्यो अहँ थाहा छैन । यही त होला नी प्रेम भनेको ।
तिमी साइन्सकी विद्यार्थी, नर्सिङ गर्ने योजना अनि म शिक्षा सङ्काए पढेर व्यापारमा होमिएको मान्छे । चुम्बकको समान ध्रुव जस्तो हाम्रो पढाइ, फिटिक्कै मिल्दैन । फेरी त्यसैको विपरित उत्तरी र दक्षीणी ध्रुव जस्तो हरेक कुरा विचार, मन र भावना मिल्थ्यो हाम्रो । अझ भनौं हाम्रो तन मात्रै मिल्न बाँकी थियो । घण्टौ प्रेमिल कुरा हुन्थ्ये, तर हामी एक अर्काले प्रेम गर्ने कुरा आजसम्म भएन ।
याे पनि पढ्नुस्
तिमी र म बीच कुरा हुन थालेको पनि लगभग २ वर्ष भएको थियो । संयोगबस भन्नु पर्छ गत साल फेब्रुअरी ८ मा आफ्नै कामले काठमाडौं आएको थिएँ । अनि काठमाडौँ आएपछि तिमीलाई नभेटी बस्न पनि सक्दैन थिएँ । भोलिपल्टै धादिङ फर्किनु पर्ने भएकाले साँझको समय हाम्रो भेट भयो गौशालाको भण्डारखालमा । करिब आधा घण्टाको बसाईँ, एक कप चियासँगै हाम्रो त्यो भेट अन्त्य भयो । मैले तिमीलाई तिम्रो कोठासम्म पुर्याइदिने प्रस्ताव राखेँ तर तिमीले सिधै ‘नाइँ म बसमै जान्छु’ भनेर भण्डारखालको सिमा पार गर्यौ । मैले कर गर्न सकिनँ, तिमी बाइ भनेर बाटो लागेपछि मैले पनि बाइक अर्कोतिर मोडेर कलङ्कीतिर लागेँ ।
…पछि थाहा भयो फेब्रुअरी ८ त ‘प्रपोज डे’ रहेछ । राति च्याटमा कुरा हुँदा प्रपोज डे को कुरा भयो । तिमीले प्रपोज गर्छेउ कि भनेर आस गरेँ तर गरिनौ । म भित्र एउटा यस्तो तत्व छ जस्ले आफू पूर्ण रुपमा सक्षम नभइ कुनै काममा हात हाल्न दिँदैन । त्यही तत्व हाबी भएर हुनसक्छ । पढाइ पनि ब्याचलर सकिन्छ सँगै व्यवसाय पनि राम्रो हुन्छ त्यसैले मैले प्रपोज गर्न अर्को सालको ‘प्रपोज डे’ पर्खिने बिचार गरेँ । मनमौजी म आफ्ना मनका कुरा सुनेर मात्रै नहुँदो रहेछ । तिम्रो मनमा के छ के सोचिरहेकी छ्यौ भन्ने कुरा कहिल्लै बुझ्न सकिन अपसोच यसैमा लाग्छ अहिले ।
त्यसपछिका दिनहरु बिस्तारै बित्दै थिए । कहिले दैनिक कुरा हुन्थ्यो त कहिलेकाही केही दिन बिराएर हुन्थ्यो । प्रपोज डे को करिब एक महिना पछि हाम्रो एक हप्ता कुरा भएन । मैले शनिबार पारेर फोन गरेँ । तिमीले गाउँ आएको सुनायौ ।
मैले हास्दै सोधेँ ‘के हो बिहे खुवाउने विचार छ र ? थाहै नदिई गाउँ आइछौ त ?’
तिम्रो जवाफ थियो ‘गर्दुवा किन्दै गर्नु, बिहेको कार्ड म्यासेन्जरमा पठाउँला भन्दै थिए, आफैले फोन गर्नु भएछ ।’
मैले पत्याइन, तर तिमीले प्रोफाइलमा इङ्गेजमेन्टको फोटो हेर्नु भनेपछि हतार…हतार तिम्रो प्रोफाइल हेरेँ । पाँच दिन अघि इङ्गेजमेन्ट भएर फोटो ट्यागमा आएका रहेछन् । मलाई अनफलो गरिछौ, तर किन हो फ्रेन्ड लिस्टबाट भने हटाएकी थिइनौ ।
मैले केही सोच्नै सकिनँ । आफुले मन पराएको मान्छेलाई अर्कैले पराया बनाएर लैजाँदै थियो । त्यत्तिकैमा तिमीले म्यासेन्जरमा विवाहको कार्ड पठाउँदै लेख्यौ ‘बिहेमा आउनु है, चार दिन पछि हो बिहे’ ।
किन मेरो घाउमा नुनचुक छर्किने कुरा गर्दै थियौ त्यो पनि पत्तो पाइनँ ।
रिप्लाइमा लेख्न मन थियो ‘बिहे भइसकेको छैन नि, म तिमीलाई माया गर्छु र अहिले नै विवाह गर्न तयार छु, त्यो इङ्गेजमेन्ट क्यान्सिल गर ।’
अफ्सोच इङ्गेजमेन्ट भैसकेपछि कानूनले पनि बिना कारण विवाह क्यान्सिल गराउन दिदैन रे भन्ने सुनेको थिएँ । यद्यपी यसमा कत्तिको सत्यता छ त्यो अहिलेसम्म मलाई थाहा छैन । फेरी घर परिवार र समाजको इज्जतको अगाडि अब मैले कुनै कदम चाल्नु उपयुक्त ठानिन । त्यसपछि ‘हस समय मिलेछ भने आउँछु नि’ बाहेक केही भनिनँ ।
तिम्रो अन्तिम म्यासेज थियो ‘तपाईँ जति मलाई बुझ्ने मान्छे त यो जिवनमा पाउँदिन तर घरबाट खोजेको मान्छेसँग नाइँ भन्न पनि सकिनँ’ म भित्र त्यस्तो के देख्यौ ?
यो पनि हो माया पनि गथ्र्यौ तर एक वचन नसोचि विवाहको निर्णयसम्म कसरी पुग्यौ ? त्यो तिमीलाई नै थाहा होला । चाहेको भए हामी बीच विवाह हुन घरपरिवारले रोकावट गर्ने कुनै ठाउँ थिएन । थाहा छैन मनको कुरा भन्न तिमीले चाहिनौ या मैले ढिला गरेँ । वास्तविकता यही हो दुवैले एक अर्कालाई प्रेम गथ्यौँ ।
जिन्दगीमा कतिपय कुरा आफै बुझ्छन् आफ्ना मान्छेले भन्दा पनि भन्नुपर्ने कुरा समयमै भन्नुपर्दो रहेछ, तिमीलाई परायाले बरमाला पहि¥याएपछि महसुस भएको छ बल्ल । तर, पछुताएर के अर्थ अवत हाम्रो सम्बन्धलाई समाजले पनि अनैतिक भन्छ । तिम्रो सुहागन अब अरु कोही बनेको छ ।
म विवाहमा त गइनँ । जानु पनि कसरी ? अर्काले लगन गाठो कसेको हेर्न । तर फेसबुकमै ‘वैवाहिक जिवनको शुभकामना’ लेखेर फोटो टयाग गरि दिए तिमीलाई । जिवनमा पहिलो पटक तिम्रो फोटो मेरो प्रोफाइलमा पोस्ट गरेको थिए त्यो पनि अर्कैले सिन्दुर, पोते लगाइदिएपछि ।
काश, बेला छँदै मैले तिमीलाई मायाँ गर्छु भन्ने कुरा यहसास दिलाउन सकेको भए अथवा मुखै फोरेर जाबो तीन शब्द भन्ने आँट गरेको भए मुटु गाँठो पारेर दाम्पत्य जीवनको शुभकामना होइन लगन गाँठो कसेर सात फेरा लगाइन्थ्यो होला सायद ।
ग्राहकको हाउभाय भावभङ्गी हेरेर सामानको मोलमलाइ र ब्यापारको स्ट्राटेजी बनाउने म तिम्रो आँखाको झल्किरहेको प्रेम बुझ्न सकिन । प्रपोज डेमा भएको भण्डारखालको हतारको भेटमा तिमीले के आशा राखेकी थियौ, चिया खाएर छुट्टीने म कति बेवकुफ । उसो त पढेलेखेकी तिमी लैङ्गिक समानताका चर्का तर्क गर्ने मान्छे तिमी, मैले इशारा नबुझेपछि एक कदम अगाडी बढेर भन्ने आँट गरेकी भए पनि त हुन्थ्यो ।
अहिले पनि फेसबुकमा साथी छौँ तर अपरिचित जस्तो । थाहा छैन अब मेरो जीवनको यात्रा कस्तो रहन्छ । अहिलेसम्म उमेर बढ्नु र तिम्रो यादमा ज्यान घट्नु बाहेक कुनै प्रगति भएको छैन । तिमीलाई धोकेबाज त भन्दिन तर मेरो पहिलो प्रेमीका र अधुरो काहानी पनि हौ । त्यही भएर जीवनभर सम्झिरहन्छु । सम्झनाको ढुकुटीमा तिम्रो याद जतन गरेर राखेको छु …. ।