‘अधुरो प्रेम’

हो प्रिय तिमीलाई अझै प्रेम गर्छु
मध्येराति उठेर जन्मदिनको शुभकामना
भन्दै म्यासेज गर्ने मन नभएको कहाँ हो र ?
दैनिक फोन गरेर
घण्टौंसम्म गफिने रहर,
तिम्रो आँखामा आँखा जुधाएर
चियाको चुस्की पिउने चाहना
बिरामी हुँदा सिरानीमा हैन
मेरो काखमा तिम्रो शिर राख्ने सपना
आखिर सपना त सपना नै रह्यो
जीवनका प्रत्येक पाइलामा
सँगै हुने योजना ।

व्यक्ति, परिवार, समाज र देशको
एउटै टेबुलमा बसेर गरिएका चिन्तन
साँच्चै हामी प्रेमी प्रेमिका मात्रै थिएनौं
एक सहकर्मी पनि थियौँ  ।

सम्झनाको ढुकुटीमा ताजै छन् ती पलहरु
कार्यालयको जिम्मेवार कर्मचारी हामी
परिवारको आशा र भरोसाको केन्द्रबिन्दु थियौं
अहिले पनि सहकार्य चलिरहेको छ
अफसोच,
जीवनको बाटो र
भविष्यको योजना फरक भइदियो ।
बस यत्ति हो हाम्रो सम्बन्धको प ञ्जीकरण हुन पाएन
नाता अब बेनामी भइदियो
यो पनि थाहा छ मलाई
तिम्रो साथमा अरु नै छ
तिमी पराया भइसक्यौ
चाहेर पनि मेरो हुन सक्दैनौ
प्यारा,
अहँ मैले अझै यो कुरा बुझ्न सकेकी छैन
म भित्र कुन तत्व छ ?
जसले तिमीप्रति बेहद प्रेम गर्न लगाइरहन्छ
र यो पनि थाहा छैन
कहिलेसम्म यसरी जीवन चलिरहन्छ ?
यत्ति चाहाना छ, जीवन्त प्रेम गरिरहन पाउँ
बदलामा मलाई पनि मायाँ गर भन्दिन
तिमीलाई आफ्नो भन्ने मेरो हक मबाटै खोसिएपछि
प्रेमको बदला प्रेम चाहेकी पनि छैन
तर घृणा चै नगरी देऊ है
किनकी तिमी मेरो पहिलो प्रेमी
र अधुरो प्रेम कहानी हौ ।

शर्मिला न्याैपाने, गाेलाञ्जाेर सिन्धुली,
हाल, काठमाडाैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *