नेपाल-हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप काठमाडौंमा हुने

What To Know

  • एचएलएफ-डब्लुडब्लुके २०२६ लाई न्यु योर्क राइटर्स वोर्कशप, एसियन अमेरिकन राइटर्स वोर्कशप, अस्ट्रेलिया एसिया New York Writers प्यासिफिक राइटर्स एन्ड ट्रान्स्लेटर्स , पोलिस ईन्स्टिच्युट न्यु दिल्ली तथा अस्ट्रेलियन कल्चरल फोरम लगायत विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक संस्थाहरूको सहयोग रहेको छ।.

काठमाडौं । नेपाल — हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कशप (HLF-WWK) २०२६ आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुने भएको छ। विश्वभरका ७५ भन्दा बढी प्रतिष्ठित लेखक, कवि, विद्वान्, अनुवादक, चलचित्रकर्मी, सम्पादक तथा कलाकारहरूको सहभागितामा हुने यो सप्ताहव्यापी अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव साहित्य, संस्कृति र सिर्जनात्मक आदानप्रदानको महत्त्वपूर्ण संगम बन्ने अपेक्षा गरिएको छ।

ठमेल स्थित मल्ल होटेलमा आयोजना हुने महोत्सव नेपाली कथासाहित्यका अग्रणी स्रष्टा गुरु प्रसाद मैनाली प्रति समर्पित रहनेछ। यस वर्षको महोत्सवको मुख्य विषय “एक्स्ट्यासी, हिलिङ्ग र कृयटिभ राइटिङ इन द न्यु वोर्ल्ड अर्डर” रहेको छ।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, आयरल्याण्ड, अस्ट्रेलिया, अस्ट्रिया, पोर्चुगल, पोल्याण्ड, युक्रेन, फ्रान्स, डेनमार्क, रुस तथा फिलिपिन्सलगायत विभिन्न देशका सहभागीहरू महोत्सवमा उपस्थित हुने अपेक्षा गरिएको छ। कार्यक्रममा कविता वाचन, प्यानल छलफल, कार्यशाला, मास्टरक्लास, सांस्कृतिक प्रस्तुति, चलचित्र प्रदर्शन तथा अन्तरसंस्कृतिक साहित्यिक संवादहरू आयोजना गरिनेछन्। आयोजकहरूका अनुसार महोत्सवले बदलिँदो विश्व परिवेशमा साहित्यको भूमिका, उपचारात्मक शक्ति र सिर्जनात्मक सम्भावनाबारे गहन विमर्शको वातावरण सिर्जना गर्नेछ।

महोत्सवमा पुलित्जर पुरस्कार विजेता कविहरू ट्रेसी के स्मिथ र पल मल्डुन चर्चित उपन्यासकार जिन हनिफ कोरेलिट्ज , कवि टिना च्याङ्ग तथा साहित्यिक सम्पादक मार्टिन डोयल लगायतका अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ।

त्यसैगरी पिटर सालिस्बरी, रवि शंकर, एनी केसी, क्याथलिन विलार्ड, एडिथ हाकिमियन, क्रेस्टिना प्राटर, लारा गुलार्ते, मञ्जुला नारायण, माइक जुर्कोभिक, शिल्पा दीक्षित थपलियाल, पेनी क्लाइन, इन्दरजीत मणि, मेरी नेवेल, राज्नी शंकर ब्राउन, फेलिस विलाट, कोनी फिशर, कारोला मायर, कविता जिन्दल, रुना बन्द्योपाध्याय, जामी प्रोक्टर जु, डानिएला चाकोन रामदास, सञ्जुला शर्मा, लक्ष्मिश्री बनर्जी, स्वाती चन्द्रा शिवकी, एलेन जोय डेगाला तथा केतन जैन लगायतका स्रष्टाहरू पनि सहभागी हुनेछन्।

नेपालका वरिष्ठ साहित्यकारहरू, विशेषतः चर्चित कवि शैलेन्द्र साकार साथै हरि अधिकारी, नारायण ढकाल, उषा शेरचन, द्वारिका श्रेष्ठ लगायत स्थापित तथा उदीयमान नेपाली कवि, लेखकहरूको पनि उल्लेखनीय सहभागिता रहने जनाइएको छ।

यस वर्षको महोत्सवको प्रमुख आकर्षणमध्ये एक नेपालकै पहिलो “पोएट्री फिल्म फेस्टिभल” हुनेछ, जसले कविता, चलचित्र, दृश्य कला र प्रस्तुति कलाबीचको सम्बन्धलाई नयाँ ढंगले अन्वेषण गर्नेछ। आयोजकहरूका अनुसार यस पहलले दक्षिण एसियामा कविताको बहुआयामिक अभिव्यक्तिलाई नयाँ सम्भावनातर्फ विस्तार गर्ने अपेक्षा गरिएको छ।

मल्ल होटलमा हुने मुख्य सत्रहरूसँगै काठमाडौं उपत्यकाका सांस्कृतिक तथा आध्यात्मिक महत्त्व बोकेका विभिन्न स्थलहरूमा पनि विशेष कार्यशाला तथा साहित्यिक कार्यक्रमहरू आयोजना गरिनेछन्।

महोत्सवको नेतृत्व अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हिमाली कवि युयुत्सु आर डि शर्मा तथा महोत्सव निर्देशक श्रीजना भन्डारीले गरिरहेका छन्।

एचएलएफ-डब्लुडब्लुके २०२६ लाई न्यु योर्क राइटर्स वोर्कशप, एसियन अमेरिकन राइटर्स वोर्कशप, अस्ट्रेलिया एसिया New York Writers प्यासिफिक राइटर्स एन्ड ट्रान्स्लेटर्स , पोलिस ईन्स्टिच्युट न्यु दिल्ली तथा अस्ट्रेलियन कल्चरल फोरम लगायत विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक संस्थाहरूको सहयोग रहेको छ।

नेपाल, सार्क क्षेत्र तथा विश्वभरका इच्छुक सहभागीहरूका लागि दर्ता खुला रहेको आयोजकहरूले जनाएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *