अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन

काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ ।

बिहीबार बसेको संसदीय सुनुवाई समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत डाक्टर युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो ।

संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाई पछि अनुमोदन भएको जानकारी दिनुभयो । समितिको बैठकले राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको उहाले जानकारी दिनुभयो ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाबारे समितिलाई जानकारी दिएका थिए । प्रस्तावित राजदूतहरूले आफूविरुद्ध समितिमा परेका उजुरीका आधारमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

बैठकमा खतिवडाले नेपाल सरकार र अमेरिकी सरकारबीच भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी सम्झौता) पारित गराउन सहजीकरणको भूमिका खेल्ने बताउनुभयो । विगतमा अर्थमन्त्री हुँदा आफूले उक्त सम्झौता पारित गराउन भूमिका खेलेको तर अबका दिनमा भूमिका फेरिएकाले सोहीअनुसार काम गर्ने उहाले बताउनुभयो ।

त्यस्तै रेग्मीले संविधान र कानुनअनुसार काम गर्ने भन्दै पद पाउनका लागि कुनै पनि कार्य नगरेको बताउनुभयो ।

त्यस्तै बिश्वकर्माले आफुले पाएको जिम्मेवारी देशको हितमा प्रयोग गर्ने बताउनुभयो ।

असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेको थियो । सरकारले राजदूत सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाईका लागि समितिलाई पत्र पठाएको थियो ।

राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *