स्कूल–स्कूल पुगेर महिनावारी शिक्षा

रूपन्देही । गुल्मीको मालिका गाउँपालिका–५, छापहिलेकी २८ वर्षीया गंगा खड्काले पढ्ने उमेरमा महिनावारीका कारण निकै समस्या झेलिन् । पीडा र हिंसा पनि उस्तै भयो । विद्यालयमा आफ्नै साथीसंगीले गिज्याए । त्यसको पीडामा धेरैपटक विद्यालय गइनन् ।  पहिलो पटक महिनावारी हुँदा झन्डै एक महिना अँध्यारोमा लुकाएर राखियो । त्यसले पढाइ र मानसिकतामै असर गर्‍यो । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

महिनावारीका कारण आफूले भोगेको जस्तो पीडा अरूलाई नहोस् भन्न उनले विद्यालय शिक्षा सकिएपछि अभियान चलाउने निधो गरिन् । नाम राखिन्– सुरक्षित महिनावारी अभियान । ‘मैले आफूले महिनावारीका सबै पीडा भोगें,’ उनले भनिन्, ‘त्यही पीडा अरूलाई नहोस् भनेर बुबाले सदरमुकाम बसेर पढ्न दिएको पैसाबाट अभियान सुरुवात गरें ।’ अभियानका क्रममा उनले बुझाउने प्रयास गरिन्, महिनावारी नियमित र प्राकृतिक कुरा हो । त्यो नहुनुभन्दा भएको राम्रो मान्नुपर्छ । पहिलो पटक महिनावारी हुँदा पीर र दु:ख होइन, खुसी र हौसला हुनुपर्छ । विद्यालयमा शिक्षक/शिक्षिका र घरमा अभिभावकबाट महिनावारीसम्बन्धी सकारात्मक शिक्षा दिइनुपर्छ । त्यसका लागि आवश्यक सामग्री विद्यालयमै पनि उपलब्ध हुनुपर्छ ।

यही अभियानले अहिले उनलाई १ लाख रुपैयाँ राशिको राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुने अवसर दिएको छ । धेरै विद्यालयमा उनकै अभियानको प्रभावले सेनेटरी प्याड उपलब्ध हुन थालेको छ । विद्यालयमै रजस्वला हुँदासमेत छात्राले सहजै लिन थालेका छन् । सामाजिक रूपान्तरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले आइतबार एक लाख राशिको उक्त पुरस्कारबाट उनलाई सम्मान गर्दैछ ।

गंगाले जिल्लाका झन्डै २५ विद्यालयमा पुगेर अभियान चलाइन् । हरेक विद्यालयका छात्रा उनको प्रशिक्षणपछि महिनावारीबारे सहजै खुल्न थालेको, यसलाई समस्याका रूपमा लिन छोडेको शिक्षा कार्यालयका स्रोत व्यक्ति लालबहादुर कुँवरले बताए । ‘प्रशिक्षण लिएका धेरै छात्रामा महिनावारीसम्बन्धी निकै सकारात्मक प्रभाव परेको छ,’ उनले भने, ‘कतिपय छात्रा अहिले आपंैm यो अभियानमा सक्रिय छन् ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *