सावधान : साउन ८ गतेसम्म भारी बर्षा हुने, कुनै पनि बेला बाढी पहिराे जान सक्छ

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ८ गतेसम्म भारी बर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

ऋाज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणले आइतबार साउन ४ गतेदेखि ८ गतेसम्म देशभर सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको हो । प्राधिकरणले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्र्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

पाँच दिनसम्म पर्ने पानीले देशभरका सानाठूला नदीहरुको जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको र केही नदीले सर्तकताको तह पार गर्ने भएकाले धेरै परिवार विस्थापित हुनसक्ने र जनधनको क्षति हुन सक्ने अनुमान गरेको छ ।

त्यस्तै मनसुन सुरु भएयता हालसम्म परेको प्रसस्त पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भुभाग गलिसकेकाले अब पाँच दिनसम्म पर्ने पानीले पहिरोको सम्भावना बढ्ने देखिएको प्राधिकरणले जनाएको छ । कार्यक्रमममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बाढी पहिरोबाट हुन सक्ने क्षतिलाई न्युनिकरणका लागि सम्पूर्ण तयारी पुरा गरिएको जानकारी दिनुभयो ।

नेपालमा मनसुनी घटना तथा बाढी पहिरोबाट जेठ ३१ गतेदेखि साउन २ गतेसम्म १ सय १ जनाको मृत्युभएको प्राधिकरणको तथ्यांक छ । त्यस्तै बाढीपहिरोमा परी ५१ जना बेपत्ताछन् भने ४१ जना घाइते भएका छन् ।

कुल १ सय ३६ घरमा क्षति पुगेको विपद व्यवस्थापन प्राधिकरणको तथ्यांक रहेको प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत पोखरेलले जानकारी दिनुभयो । त्यस्तै ३० दिनको अवधिमा चट्यांङबाट ४१ जनाको मृत्यु भएको सर्पदंशबाट र १० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *