काेराेना भाइरसप्रति नेपालीकाे यस्ताे लापरवाही, चोरबाटो प्रयोग गर्छन् तर जाँच गर्दैनन्

जाजरकाेट । वैदेशिक रोजगारीबाट फर्कनेदेखि अन्य कामले घरबाहिर भएकाहरु धमाधम चोरबाटोबाट फर्कँदा स्वास्थ्य परीक्षण हुनसकेको छैन । गाउँगाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् । बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ ।

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरुले लगातार गाउँगाउँमा माइकिङ गरीरहेको भए पनि कसैले वास्ता नगरेको उहाँको भनाइ छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवी, देवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको एैरारीमा तीन वटा बोकाको बलि दिइएको छ ।

बारेकोट गाँउपालिका–२ मा देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाइएका वडाध्यक्ष द्वारिका बुढाले बताउनुभयो । अझै आफ्ना जहान केटाकेटी बचाइदिन देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उहाँले बताउनुभयो ।

छिमेककी मुलुक भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफुलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाईसँग घुलमिल गरिरहेका छन् । सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेको छैन । ठूलो सङ्ख्यामा भारतबाट मजदुरहरु फर्के पनि केही सीमित सङ्ख्यालाई मात्र क्वारेन्टाइनमा राखिएको छ । घरको मूलढोका खन्दा कोइला भेटिएको भन्दै तेलमा राखे मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले मूलढोका खन्ने गरेको पाइएको छ ।

१०७ जना सेल्फ क्वारेन्टाइनमा

जाजरकोटमा विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो ।

जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाइएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । सेल्फ क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना रहेका छन् । यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *