एसइई परीक्षाको तयारी पूरा, ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत ६ गते (बिहीबार) देखि शुरु हुने परीक्षामा कूल ४ लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुँदैछन् ।

परीक्षाका लागि देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा प्राविधिकतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुनेछन् ।

त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुने भएका छन् । कूल ८६ वटा विषयमा हुने परीक्षामा करीब ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको छ । परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ ।

प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थी बराबर एक निरीक्षक, १०० विद्यार्थी बराबर एक परीक्षा सहायक, ५० विद्यार्थी बराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइने भएको छ ।

चैत ६ गते बिहान ८ बजेदेखि देशभरका सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रको नजीक रहेको सुरक्षा निकायमा पु¥याइएको छ । परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाएको जानकारी दिँदै एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षा कोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *