दुध बेचेर गाउँमै मासिक २ लाख कमाई, किन जानु पर्‍यो जापान काेरिया !

पाल्पा । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य कमाई गर्न थाल्नुभएको छ । व्यावसायिकरुपमा उन्नत जातका भैँसी तथा गाईबाट दूध बिक्री गरी खर्च कटाएर मासिक रु एक लाख बराबरको कमाई गर्नुहुन्छ ।

उहाँले डेढ वर्षअघिदेखि व्यवसाय सञ्चालन गर्नुभएको हो । “दूध बिक्रीबाट एक महिनामा दुई लाखसम्म कमाई हुन्छ, खर्च कटाएर रु एक लाख नाफा लिएको छु, पशुपालनमा लगानीअनुसार मेहनत गरियो भने कमाइ राम्रै हुने रहेछ”, श्रेष्ठले भन्नुभयो ।

दश वर्षसम्म हेल्थ एन्ड रिसर्च सेन्टरमा काम गर्नुभएका श्रेष्ठले पशुपालनबाटै रामपुर नगरपालिकामा समृद्धि भित्र्याउने लक्ष्यका साथ यो व्यवसायमा लाग्नुभएको हो । “प्रोजेक्टमा रहेर विशेष गरी तराई क्षेत्रमा काम गर्ने अवसर मिल्यो, त्यस क्षेत्रमा घरघरमा पालिएका पशुबाट कृषकले राम्रो कमाई गरेको देखेपछि मलाई पनि आफ्नै गाउँमै बसेर पशुपालन गर्ने इच्छा जाग्यो र जागिर छाडेर अहिले पशुपालनमा लागेको छु”, उहाँले भन्नुभयो ।

उहाँको फार्ममा हाल नौ उन्नत जातका भैँसीमध्ये छवटा दुहुना भैँसीबाट ५० लिटर, आठवटा उन्नत जातका होलस्टिन र जर्सी गाईमध्ये पाँच गाईबाट ५० लिटर दूध उत्पादन गरी घरघरमा बिक्र गर्नुहुन्छ । उहाँको फार्ममा उत्पादित दूध बजार लैजान नपाउँदै घरघरमा ग्राहकले लिने गरेका छन् । भैँसीको प्रतिलिटर रु ८५ र गाईको ७५ मा दूध बिक्री भइरहेको छ ।

फार्म व्यवस्थापनमा रु २५ लाख र गाईभैँसी खरिदमा रु २० लाख लगानी परेको छ । उहाँले व्यवसाय बढाउने सोच बनाएर ३० वटा पशु अट्ने क्षमताको फार्म निर्माण गर्नुभएको छ । व्यवसायलाई बढाएर ५० वटा भैँसी र गाई पु¥याउने र त्यसबाट मासिक रु सात लाखसम्म कमाई गर्ने लक्ष्य छ । ग्राहकले गाईको दूधभन्दा बढी भैँसीको दूध मन पराउने हँुदा भैँसीको सङ्ख्या बढाउने उहाँ बताउनुहुन्छ ।

यहीँ व्यवसायबाट पाँचजनालाई रोजगारसमेत दिनुभएको छ । आफ्नै ३५ रोपनी जग्गामा विभिन्न प्रजातिका घाँस लगाउनुभएको छ भने व्यवसाय बढाएर जग्गा भाडामा लिई ९० रोपनी क्षेत्रफलमा घाँस लगाउने तयारी भइरहेको छ । आफ्नै करिब दुई रोपनी जग्गामा व्यवसाय चलाउनुभएका श्रेष्ठको पशुपालन व्यवसाय अहिले रामपुरमा अवलोकनयोग्य बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *