स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाको अधिवेशन आगामी माघ ५ गतेदेखि शुरु हुने भएको छ । प्रदेश स्थापना भएको करिब दुई वर्ष पुग्न लाग्दा आउँदो प्रदेशसभाको अधिवेशनमा प्रदेशसभाले स्थायी राजधानी र नाम टुङ्गो लगाउने तयारी गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले आगामी अधिवेशनमा प्रदेशसभाको विशेष समितिका तर्फबाट प्रतिवेदन प्रस्तुत हुने र छलफलपछि प्रदेशको स्थायी राजधानी र नाम टुङ्गो लगाइने आज मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले प्रदेश टुक्र्याउने भन्ने कुरा संविधान संशोधनको विषय भएकाले प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या रहेका बाँके र बर्दियाका थारु समुदाय अल्पमतमा पार्न अर्को प्रदेशमा मिसिन सहमत नहुने स्पष्ट पार्नुभयो ।

मन्त्री चौधरीले आउँदो अधिवेशनमा सरकारका तर्फबाट पर्याप्त गृहकार्य गरी आवश्यक कानून निर्माणका लागि विधेयक तयारी अवस्थामा राखिएका जानकारी दिनुभयो । यस्तै आजको मन्त्रिपरिषद्को बैठकले प्रदेश स्थापना दिवसको अवसर पारेर आगामी फागुन १० देखि १२ गतेसम्म प्रदेश स्थापना एक्स्पो आयोजना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम दाङको बेलझुण्डीमा आयोजना गरिने र कार्यक्रममा प्रदेश सरकारले गरेका सूचना, कृषि, यातायातलगायत नवीनतम प्रविधिसम्बन्धी जानकारीमूलक विषय राखिने छन् । प्रदेश सरकारले यस वर्ष पनि प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या भएको थारु र मगर समुदायले मनाउने माघेसङ्क्रान्ति पर्वमा आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने तथा यही पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाइने प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले प्रदेश वन निर्देशनालयमा कायम मुकायम वन निर्देशक मुकरर गर्ने निर्देशकमा रुपन्देहीका इन्द्रप्रसाद पछाईलाई निमित्त निर्देशकको जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । त्यसैगरी बैठकले प्रदेश चलचित्र निर्माण, प्रदर्शन तथा वितरणसम्बन्धी व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार गरिएको अवधारणा पत्रसमेत स्वीकृत गर्नुका साथै प्रदेश पदक नियमावली २०७६ लाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *